विभेद विरुद्ध समाज रुपान्तरणको अभियान चलाइरहेकी लक्ष्मी

सुर्खेत : २०४७ सालतिर वीरेन्द्रनगर नगरपालिका–१० की लक्ष्मी विक साविक कल्यान गाउँ विकास समिति –६ (हाल लेकवेसी नगरपालिका–७) सरस्वती माध्यामिक विद्यालय कक्षा सात पढ्दैथिन् । त्यतिबेला उनी १५ वर्षकी थिइन् । विद्यालयमा उनी अरु विद्यार्थीभन्दा सक्रिय पनि थिइन् । हरेक क्रियाकलापमा शिक्षकहरुले लक्ष्मीलाई सहभागी गराउन प्रेरित गर्थे । तर, हरेक वर्ष विद्यालयमा हुने सरस्वती पुजामा उनलाई सहभागी गराइन्थेन । उनी दलित समुदायको भएका कारण बसाउन नमिल्ने कुरा उनका साथीहरु सुनाउँथे । शिक्षकहरुले समेत बस्ने परम्परा नभएको भन्थे । उनी मनमनै सोच्थिन्, विभेद कहिले हट्ला ? दलित समुदायले कहिले उन्मुक्ति पाउला ? उनलाई त्यसबेलादेखि लाग्यो, समाजमा भएको जातिय विभेदलाई अन्त्य गर्नुपर्छ । त्यसबेला उनका लागि त्यो विषय सहज थिएन । ४८ सालमा साटाखानी गाविसमा उनको विवाह भयो । ९ र १० लेकवेसीको चौरासेमा पढिन् । लक्ष्मीले विवाह पश्चात पनि कक्षा १२ सम्मको अध्ययन गरिन् । २०६० सालमा उनको परिवार वीरेन्द्रनगरमा बस्ती सरेर आयो । सामाजिक काममा समेत उनी सक्रिय हुन्थिन । विभिन्न संघ संस्थामा तीन वर्ष सामाजिक परिचालक भएर काम गरेको अनुभव उनीसँग छ । सामाजिक कार्यमा लागेपछि उनलाई मानिसहरुले चिन्न थाले । उनी ०७४ सालमा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१० को वडा सदस्यमा निर्वाचित भइन् । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका सदस्य समेत भइन् । त्यहाँ पनि उनले दलित समुदायका हक अधिकार र जातिय विभेद विरुद्ध नीति तथा कार्यक्रम ल्याउनुपर्ने अडान लिने गर्थिन् । केही मात्रामा भएपनि उनको आवाजको सुनुवाई हुन्थ्यो । यसरी उनले पाँच वर्षसम्म आफ्नो समय बिताइन् । ०७९ मा उनी वडाअध्यक्षको दावेदार थिइन् । तर वडामा आकांक्षीहरु बढेपछि उनलाई फेरि सदस्यमा उठ्ने प्रस्ताव आयो । एक कार्यकाल सदस्य भएर काम गरिसकेको भएर आफु बाहिरबाटै सामाजिक काममा लाग्ने निधो गरिन् । लक्ष्मीले त्यसपछि विभेद विरुद्ध समाजमा सचेतना जगाउने अभियानलाई अगाडी बढाउने योजना बनाइन् । विभेद विरुद्ध सचेतना जगाउन उनले एक्लै सम्भव देखिनन् । सबै समुदायको सहभागितामा अभियानलाई तिब्रता गराउनुपर्छ भन्ने उनलाई लाग्यो । ०७९ मंसिर १२ गते आफ्नै अध्यक्षतामा ‘समाज रुपान्तरणका लागि महिला अभियान केन्द्र’ नामक संस्था दर्ता गरिन् । उनले आफ्नो कार्यसमितिमा समेत सबै समुदायको प्रतिनिधित्व गराइन् । जसको उपाध्यक्षमा ठकुरी समुदायकी चन्द्रकला शाही, सचिवमा ब्राहमण समुदायकी पार्वती पाण्डे, कोषाध्यक्षमा थारु समुदायकी गिता थारु, सदस्यहरुमा कलिसरा हुचिङ मगर, जानकी विक र देविसरा विकलाई चयन गरिन् ।


‘विद्यालयस्तरदेखि विभेद खेप्दै आएँ । मलाई सधैं लाग्ने कुरा भनेको आफ्नो आँखाको कसिङ्गर आफैं निकाल्न सकिँदैन, अरुको सहारा चाहिन्छ नै,’ लक्ष्मीले भनिन्, ‘हामी विभेद भयो भनेर एक्लै हल्ला गछौं । तर विभेदको अन्त्य गर्न विभेद भोग्ने र गर्ने समुदायबिच नै समन्वय, सहकार्य गरेर अभियान चलाएका छौं ।’
समाज रुपान्तरणका लागि महिला अभियानले विद्यालयहरुमा जातिय विभेद र मानव अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम, दलित समुदाय र गैरदलित समुदायबिच सामुहिक अभिमूखिकरण लगायतका क्रियाकलाप वडा र नगरपालिकासँगको सहकार्यमा गर्दै आएको छ । अध्यक्ष विकका अनुसार वीरेन्द्रनगरका २५ भन्दा बढी विद्यालयमा जातिय विभेद र कानुनी व्यवस्था सम्बन्धी विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रमहरु गरिएका छन् । ‘विद्यालयस्तरमा सचेतना जगाउँदा त्यसको प्रभाव समुदायमा पर्छ । त्यसैले हामीले विद्यालयमा कार्यक्रम गर्यौं,’ उनले भने, ‘दलित समुदाय र गैर दलित समुदायबिच सचेतनामूलक अन्तरक्रिया गरिरहेका छौं । विभेदका विरुद्ध कानुनी व्यवस्था भएपनि कार्यान्वयनको पाटो फितलो छ ।’
पहिले देखिनेगरी विभेद हुने र अहिले नदेखिनेगरी भएको उनले बताइन् । ‘पहिलो प्रत्यक्ष विभेद हुन्थ्यो । अहिले नदेखिनेगरी विभेदको स्वरुप बढिरहेका छन् । नीति तथा कानुन भएपनि त्यसको कार्यान्वयन छैन,’ उनले भनिन् ‘दलित समुदाय र महिलामाथि विभिन्न विभेद छन् । अझ प्रभावकारी रुपमा अभियानलाई चलाउन छ । विभेदमुक्त समाजको परिकल्पना गर्ने मेरो लक्ष्य हो ।’
वीरेन्द्रनगरलाई छुवाछुतमुक्त नगरपालिका घोषणा गने आफुसँग भिजन भएको बताइन् । लक्ष्मीको घरमा एक छोरा, बुहारी दुई छोरी, एक नाति र श्रीमानसहित सात जनाको परिवार छ । छोराछोरीले अध्ययन गरिरहेका छन् भने उनका श्रीमान प्राथमिक तहको शिक्षकबाट एक वर्ष अघि रिटायर्ड हुन् । उमेरले ४८ वर्षीया उनी घरको कामकाजसँगै विभेद विरुद्धको अभियानमा उनले समय बिताउने गरेकी छन् ।