दोस्रो डिजिटल कर्णाली कन्क्लेभ हुँदै

सुर्खेत: कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । वैैशाख ९ र १० गते उक्त कार्यक्रम हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कार्यक्रममा प्रदेश र राष्ट्रिय स्तरबाट ५० जना बढी विज्ञ वक्ताहरु सहभागी हुने छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजनाको बारेमा जानकारी गराइएको हो । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा कन्क्लेभ आयोजना हुँदैछ । वीरेन्द्रनगरको शुभ होटलमा उक्त कार्यक्रम दुई दिनसम्म सन्चालन हुनेछ । डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा १० भन्दा बढी सेसन र आठ बढी प्रस्तुतिहरु रहनेछन् । ‘इम्पावारिङ द फ्युचर : इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न तीन किनोट प्रस्तुतिसँगै आठ लाइटिनिङ प्रस्तुती र सात थिममा १० प्यानल संवाद हुनेछन् । कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । त्यस्तै प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च पदाधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरु लगायत चार सय बढीको सहभागिता रहने आयोजकको अनुमान छ । कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल र अन्तरक्रिया हुनेछ । यस्तै डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, फिनटेक, डिजिटल नेतृत्व र नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा वृहत बहस र छलफल हुनेछ । कार्यक्रमले नीतिगत सुधार गर्न, सार्वजनिक सेवा प्रवाहलाई रूपान्तरण गर्न र प्रविधिको प्रयोग गर्दै कर्णालीबासीको जीवनशैलीमै परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रममा कर्णालीका लागि विकास गरिएका १० बढी डिजिटल सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति रहनेछन्् । कार्यक्रममा सहभागी हुन चाहने इच्छुकले वेबसाइट मार्फत नै नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।