बुवासँग भारी बोक्दै पढेका जगत कुमार, जो स्वास्थ्य अधिकृत बने !

बुवा राम बहादुर बुढा र आमा बुदी बुढाको कोखबाट २०३९ साल जेठ १० गते डुङ्गेश्वर गाउँपालिका–४ बागिना, दैलेखमा जन्मिएका जगत कुमार बिसी बाउन्नेचौर आधारभुत स्वास्थ्य सेवा केन्द्र डुङ्गेश्वर गाउँपालिका ३ अवलपराजुल, छैठौं तहका अधिकृत हुन् । सामान्य परिवारमा जन्मिएका जगतले १२ जना दाजुभाई र दिदीबहिनी भएको ठूलो परिवारमा पैसाको अभावले धेरै चुनौतिहरू झेले । पैसाको जोहो गर्नको लागि उनी बुबासँग भारी बोक्दै जुम्लासम्म जान्थे । ०६६ सालमा लोकसेवा पास गरी स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको उनी गाउँकै स्वास्थ्य चौकीमा काम गरे । अहिले उनको पहल कदमले बाउन्नेचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र नमूना बनेको छ । उनै स्वास्थ्य अधिकृत बिसीसँग अंगराज परियारले गरेको संघर्ष र सफलताका कुराः
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल र विद्यार्थी जीवनदुःखमै बित्यो । त्यो कुरा सम्झँदा आज पनि आँखा रसाउँछ । हामी १२ जना दाजुभाई दिदीबहिनी थियौं । म ६ जना दिदीभन्दा कान्छो छोरा र तीन भाईभन्दा जेठो छोरा हुँ । सबैगरी नौ जना दिदीबहिनी हुन् । यत्रो ठूलो परिवार पाल्नका लागि बुवालाई गाह्रो हुन्थ्यो । अहिले यो कुरा सम्झिँदा बुवालाई साहसी मान्छु । हाम्रो घरको आर्थिक अवस्था पनि निकै कमजोर थियो । बुवाले जुम्लासम्म भारी बोकेर ब्यापार गर्नुहुन्थ्यो । घर धान्ने एउटै भर त्यो थोरै आम्दानी थियो । बुवाले जुम्लासम्म भारी बोक्ने काम गर्नुहुन्थ्यो । हाम्रो परिवार चलाउने मुख्य स्रोत यही थियो । पैसाको जोहो गर्न म कहिले बुबासँग भारी बोकेर जुम्लासम्म जान्थेँ । मेरो स्कुल बिदा भएको बेला दिदीहरु जानुहुन्थ्यो । त्यो बेला पैसाको अभाव थियो । मेरो पढाई राम्रै थियो । घरको काम सकेर मात्र पढ्ने समय मिल्थ्यो । तर हामीलाई खानको लागि दुःख थिएन । घरको खेतबारीमा उत्पादन भएको अन्न बेचेरपनि एक वर्षभन्दा बढी चल्थ्यो । त्यो बेला किन्ने भनेको सुन र नुन मात्रै हो । बाँकी आफ्नै खेतबारीमा उत्पादन हुन्थ्यो । म १३ बर्षको हुँदा घरपरिवारले बिहे गरिदिए । मलाई विवाह गर्ने मन नै थिएन पछि ठुलो भएपछि मेरो त्यो घरबार छुट्यो । त्यही बाल्यकालको संघर्षले मलाई आज बलियो बनाएको जस्तो लाग्छ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो?
सानै बेलादेखि के बन्ने भन्ने कुरा ठ्याक्कै पक्का थिएन । मैले कक्षा १ देखि १० सम्म श्री सिता जनसहयोग माध्यमिक विद्यालयमा पढेँ । हाम्रो घरमा कुल तीन दाजुभाई र तीन बहिनीहरूले पढाई सकेका छन् । त्यो समयका कारण अरु दिदीबहिनीले पढ्न पाइनन् । एसएलसी पास गरेपछि घरका सबैले मलाई अहेव (प्राविधिक शिक्षा) पढ्न सल्लाह भयो । श्री बागेश्वरी प्राविधिक शिक्षालय बाँकेमा गएर अहेब पढें । अहेव पढिसकेपछि केही समय पाँच बर्ष गैह्र सरकारी सेवामा काम गरेँ । काम गर्दै लोकसेवाको तयारीमा लागेँ । मेहनत गरेँ र लोकसेवा परीक्षामा सफल पनि भएँ ।
परिवारमा कति जनाले पढ्नुभयो ?
हामी तीन भाई र तीन जना दिदीले पढ्न पायौं । साईली दिदी पे्रम कुमारी बिसी नर्सिङ्ग पढेर हाल नेपालगञ्ज उपमहानगरपालिकामा नर्सिङ्ग प्रमुख अधिकृत सातौ तहमा, आठौंको ठुली कान्छी बहिनी नानु कुमारी बिसी डुङ्गेश्वर गाउँपालिकामा नर्सिङ्ग प्रमुख र ९ नम्बरको वा कान्छी बहिनी र्निमला कुमारी बिसी नारायण नगरपालिका दैलेखमा नर्सिङ्ग पाँचौ तहमा, माईलो भाई बिनोद बहादुर बुढा नेपाली सेना हाल शान्ति सेना लेबनानमा कार्यरत छन् भने कान्छो भाई लिल बहादुर बुढा सि.अ.हे.ब. पाँचौ तहमा म सँगै बाउन्नेचौर आधारभुत स्वास्थ्य सेवा केन्दमा कार्यारत छन ।
 स्वास्थ्य क्षेत्रमा काम गर्न थालेकाे कति भयो ?
मैले २०६६ जेठ ३ देखि अ.हे.ब.चौथो तह पदमा स्थाई नियुक्ती भई दैलेख जिल्लाको दुर्गम रुम उप स्वास्थ्य चौकी मा २०६६ भाद्र ३० गते सम्म काम गरेँ । त्यसपछि मेरो आफनै जन्मस्थानमा सरुवा भई दैलेख जिल्लाको दुर्गम अवलपराजुल उप–स्वास्थ्य चौकीमा २०६६ असोज १ देखि २०७८ भाद्र ३० सम्म करिब १२ बर्ष काम गरें । सघीयता पश्चात स्थानीय सरकार डुङ्गेश्वर गाउँपालिका–४ बाउन्नेचौर आधारभुत स्वास्थ्य सेवा केन्द अवलपराजुल , दैलेखमा आधारभुत स्वास्थ्य सेवा केन्द प्रमुखको रुपमा काम गरिरहेको छु । जुन पहिलाको सिंगो अवलपराजुल गाविस हालको डुङ्गेश्वर गाउँपालिका ३ र ४ वडामा विभाजन भएको छ ।
स्वास्थ्य क्षेत्रमा तपाईँको योगदानलाई कसरी सम्झनुहुन्छ ?
मेरो ब्यक्तिगत रुपमा भन्नुपर्दा स्वास्थ्य क्षेत्रमा धेरै योगदान छ । मैले २०७४ असार २० देखि २०७४ पुस २० सम्म जम्मा ६ महिना राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको अपाङ्ग कोटाबाट छनौट भई नेपाल सरकारको अन्तिम ब्याज सि.अ.हे.ब. तालिम सुदुरपश्चिम स्वास्थ्य तालिम केन्द धनगढी र अछाम जिल्लाको बयालपाटा अस्पतालबाट तालिम लिई प्रथम स्थानमा पास गरेको छु । साथै स्वास्थ्य क्षेत्रका सम्पुर्ण प्रोटोकल सम्बन्धि तालिम, गोष्ठिमा सहभागि भएको छु । हाल डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा शाखा प्रमुखको २०७९ पुस ५ मा मुद्दापरेपछि शाखा प्रमुखले काम गर्न नपाएपछि माघ १ गते देखि २०८० भदौ ३० सम्म स्वास्थ्य शाखामा काम काज गर्ने अवसर पाई पालिकाको बित्तिय समानिकरण र सशर्त अनुदानका स्वास्थ्य क्षेत्रका सम्पुर्ण कार्यक्रमहरु संचालन, परिचालन, बिभिन्न सघंसस्था, प्रदेश सरकार, सघिंय सरकार एन्जिओ र आएनजिओसंग समन्वय सहकार्य गर्ने क्षमता विकास भएको छ । मैंले २४ सै घण्टा बिरामीको क्लिनिकल उपचार, आपत्कालीन बिरामी , दाँत निकाल्ने प्रक्रिया लागी विभिन्न सरुवा रोगहरुको महामारी रोगथाम, उपचारका साथै गाउँघर, समुदाय, विद्यायलय, आमा समुहमा स्वास्थ्य शिक्षा परार्मशका कामहरु पनि गरेको छु ।
नेपाल सरकारबाट २०६८ सालमा १० दिनको दात तथा मुख स्वास्थ्य सम्बन्धिको तालिम प्राप्त गरेको छु । जसले गर्दा बिकट गाउँका जनताहरु दात तथा मुख स्वास्थ्य सम्बन्धीको समस्या लिएर दैलेख सदरमुकाम र सुर्खेत जानु पर्देन । जनताको आर्थिक तथा समयको बचत भएको छ । मैले २०७८ सालको राष्ट्रिय जनगणना कार्यक्रममा स्थानीय जनगणना अधिकारी भएर दैलेख जिल्लाको ३ वटै डुङ्गेश्वर, गुराँस, भगवतिमाई गाउँपालिकाको राष्ट्रिय जनगणना कार्यक्रममा जनगणना सफलता पुर्बक सम्पन्न गरेको थिएँ ।
बाउन्नेचौरमा स्वास्थ्य संस्था स्थापना कसरी भयो ?
२०६७ सालमा जनप्रतिनिधि थिएनन् । सर्बदलीय र गा.वि.स. सचिब एबं अध्यक्षसहित बैठक राखे जुन त्यतिबेला गा.वि.स. सचिब एबं अध्यक्ष गा.वि.सको बजेट बाडफाँड को मुख्य जिम्म्ेवारी हुन्थ्यो । अन्तमा बजेट बाडफाँडको पारित स्वास्थ्य चौकी प्रमुख, कृर्षि र भेटनेरी सेवा केन्द्र प्रमुखबाट हुने गर्दथ्यो । मैले बैठकमा अवलपराजुल गा.वि.सको स्वास्थ्य चौकी डाटा रहेको समिक्षा गरेँ । त्यहाँ स्वास्थ्य चौकीको सेवालाई सरल छिटो छरितो सबैको पहुचँमा पुग्नको लागि २ वटा ठुला बस्ती हनेटा र बाउन्नेचौरमा भवन निर्माणका साथै कर्मचारी ब्यवस्थापन गरी सेवा सुरु गर्नाका लागि समुदायको जनताको अगुवाईमा घरघरबाट एक सय रुपैयाँदेखि माथि क्षमता अनुसार र वन समिति बाट पाँच हजारदेखि माथि र गाविसको लक्षित बर्गको रकम र समुदाय गरी सात लाख जम्मा गरेर सर्बपक्षीय निर्णयबाट रकम जम गरियो । त्यसपछि एक बर्ष लगाएर २ वटा ठुला बस्ती हनेटा र बाउन्नेचौरमा भवन निर्माणका साथै कर्मचारी ब्यवस्थापन गरियो । २०६८–०६९ सालदेखि ३ वटै स्वास्थ्य संस्थाबाट सेवा सुचारु भयो । अन्तमा सम्पुर्ण सेवा ग्राहीले स्वास्थ्य जस्तो संवेदनशिल सेवा नजिकमा पाउँदा सेवा लिने र दिनेको पहुचँ पुगेपछि १०० प्रतिशत पुग्यो । स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठिमा अवलपराजुल गाविसको स्वास्थ्य चौकीको प्रगति समुदायकै सर्बपक्षिय र सर्बदलीयबाट भएको महशुस मैले गरेँ । हाल आएर बाउन्नेचौर बस्ती सघीयता पश्चात २०७४ मा डुङ्गेश्वर गाउँपालिकाको छुट्ठै वडा भयो । जहा अहिले म स्वास्थ्य संस्था प्रमुखको रुपमा छु ।
नीतिगत सुधारमा तपाईंले के पहल गर्नुभयो ?
साबिकको अवलपराजुल गाउँ विकास समितिको स्वास्थ्य चौकी २०५२ सालमा स्थापना भएको थियो । तर, गाउँका ठूला बस्तीहरू खोला पारी वा खोला वारी परेका कारण स्वास्थ्य चौकीसम्म पुग्न करिब २ घण्टा लाग्थ्यो । अन्य नजिकका गाविसमा रहेका स्वास्थ्य संस्थाहरू डाँडापराजुल, लालीकाँडा, पिलाँडी र लाकुरी पुग्नसहज हुने भएकाले अधिकांश सेवाग्राही त्यतै जान्थे । स्वास्थ्य चौकीका पहिलेका इञ्चार्जहरू बाहिरबाट आएका थिए । सेवाग्राहीको न्यून उपस्थितिका कारण उनीहरू व्यक्तिगत प्रगतिमा केन्द्रित भए ।
मैंले २०६६ सालमा लोकसेवा पास गरेर दैलेख जिल्लाको रुम स्वास्थ्य चौकीमा सेवा सुरु गरेँ । मेरो गाउँको स्वास्थ्य चौकी रिक्त भयो । मैले सरुवा गराई २०६७ सालमा अवलपराजुल स्वास्थ्य चौकीमा कार्यभार सम्हालें । सोही वर्षको वार्षिक समिक्षा गोष्ठीमा सहभागी भएर जिल्लाको स्वास्थ्य डाटा अध्ययन गर्दा हाम्रो चौकीलाई ‘काम नगर्ने संस्था’ का रूपमा हेर्ने गरिएको बुझियो ।
२०६८÷०६९ सालदेखि ती ३ वटा संस्थाबाट सेवा सुचारु गरियो । स्वास्थ्य सेवा नजिक आएसँगै सेवा लिनेको संख्या सय प्रतिशत पुगेको थियो । जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा अवलपराजुल स्वास्थ्य चौकीको प्रगति सर्बपक्षीय र सामुदायिक सहभागिताबाट सम्भव भएको उल्लेख गरियो, जुन मेरो लागि गहिरो प्रेरणा बन्यो । आवश्यक परेमा म आफैं बिरामीलाई लिएर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत वा नेपालगञ्जसम्म पनि समयमै पुर्याउने गर्दछु । यसरी सेवा लिनेको मृत्यु दर, बिरामी दर, संक्रमण अवधि र आर्थिक बोझ घटाउन म लागिरहेको छु ।
तपाईंको भावी योजना के छ ?
मेरो भावी योेजना भनेको स्वास्थ्य सेवामा विस्तार र पहुँच पुर्याउनका लागि गाउँका दुर्गम तथा पहुँच नभएका क्षेत्रहरूमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा साधारणसम्म पुर्याउने । आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा अत्याधुनिक उपकरण र आवश्यक औषधिहरू उपलब्ध गराउने । बाउन्नेचौर र हनेटा स्वास्थ्य सेवा केन्द्रका भवनहरूको स्तरोन्नति गरी थप मजबुत र प्रभावकारी बनाउने। निरन्तर सेवा प्रदान गर्न विद्युत् ब्याकअप र आवश्यक उपकरणहरूको व्यवस्थित व्यवस्था मिलाउने । स्वच्छता, पोषण, परिवार नियोजन, खोप तथा रोग नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तथा सार्वजनिक स्थानहरूमा स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्ने, नियमित तालिम र कार्यशालाका माध्यमबाट स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने, अति विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दीर्घरोगी र अनाथहरूको लागि विशेष स्वास्थ्य सेवा योजना लागू गर्ने, बिरामीहरूको रेफर सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने योजना छ ।