दीप प्रज्वलन र सडक संवाद गरेर मनाइयो १९ औं लोकतन्त्र दिवस

सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा विहिबार वीरेन्द्रनगरमा १९ औं लोकतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा वीरेन्द्र चोकमा सडक सम्वाद र दीप प्रज्वलन कार्यक्रमको गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सबल लोकतन्त्रले मात्रै मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने बताए । आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता नागरिक अधिकार लगायतका महत्वपुर्ण विषयहरु लोकतन्त्रकै कारण प्राप्त भएको भन्दै यो व्यवस्थाभन्दा अरु राम्रो नभएको बताइन् । त्यस्तै गैरसरकारी संस्था महासंघका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाहीले जनताले जनताद्धारा जनताकै लागि गर्ने शासन प्रणाली नै लोकतन्त्र भएका कारण यसलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्वपुर्ण रहने बताए ।

कार्यक्रममा सहभागीहरूले ‘लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर’, ‘समानता, न्याय र मानवअधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष घनश्याम केसीले गरेका थिए । लोकतन्त्रको रक्षाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रममा स्थानीय नागरिक, अधिकारकर्मी, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।