कर्णालीका सामुदायिक विद्यालयमा खेल पूर्वाधारको अभाव

            निजी जग्गामा खेल्दै वीरेन्द्रनगर नगरपालिका–१ स्थित त्रिपुरेश्वर माध्यामिक विद्यालयका विद्यार्थी

सुर्खेत: कर्णाली प्रदेशमा आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । संघीय र प्रदेश सरकारले राष्ट्रिय खेलकुद सफलतापूर्वक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको बेला कर्णालीका अधिकांश सामुदायिक विद्यालय भने आधारभूत खेल पूर्वाधारको अभावसँग जुधिरहेका छन् । खेलकुदको जग मानिने विद्यालय तहमा नै खेलमैदान, खेल सामग्री र प्रशिक्षकको अभाव हुँदा हजारौं विद्यार्थीको प्रतिभा ओझेलमा पर्ने जोखिम बढेको छ ।
वीरेन्द्रनगर–१ स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत १४ सय विद्यार्थी छन् । विद्यालयमा सबै विद्यार्थी एकैपटक उभिने पर्याप्त खुला ठाउँसमेत छैन । खेल मैदानको अभावका कारण खेलकुदका अधिकांश गतिविधि सीमित हुन बाध्य छन् ।
विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा विकले विद्यालयमा खेलमैदान नहुँदा समस्या हुने गरेको बताइन् । ‘हामीलाई पढाइसँगै खेल्न पनि मन लाग्छ । तर विद्यालयमा खेल्ने ठाउँ नै छैन । कहिलेकाहीँ कार्यक्रम हुँदा पनि विद्यार्थी अटाउन गाह्रो हुन्छ,’उनले भनिन्, ‘हाफ टाइममा स्कुल नजिकै अरुको बाँझो खेतमा गएर खेल्छौं ।’
सोही विद्यालयको कक्षा १० का विद्यार्थी विशाल नेपाली भन्छन्, ‘मलाई एथलेटिक्समा रुचि छ । तर नियमित अभ्यास गर्ने ठाउँ छैन । प्रतियोगिता हुँदा मात्रै अभ्यास गर्ने अवसर मिल्छ ।’ विद्यालयका प्रध्यानाध्यापक रुद्रबहादुर खत्रीले खेल मैदान नभएका कारण विद्यार्थीहरुलाई खेलकुद गतिविधीमा सहभागी गर्न नसकेको बताए । ‘स्कुलको खेलमैदान छैन । भित्र सानो कम्पाउण्डमा विद्यार्थीहरु अट्दैनन्,’उनले भने, ‘बाली नलगाएसम्म व्यक्तिको जग्गामा गएर खेल्ने गरेका छन् ।’
यस्तै, वीरेन्द्रनगरकै अमरज्योति माध्यमिक विद्यालयमा करिब १८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको नाममा जग्गा भए पनि मुख्य विद्यालय परिसरबाट टाढा भएकाले नियमित खेलकुद गतिविधिका लागि उपयोग गर्न सकिएको छैन ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य भए पनि पूर्वाधार अभावले समस्या भइरहेको बताए । ‘खेल मैदान, बहुउद्देश्यीय खुला स्थान र खेल सामग्रीको पर्याप्त व्यवस्था नहुँदा विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गर्न समेत कठिनाइ छ,’उनले भने, ‘हरेक हिसाबले सामुदायिक विद्यालयमा अभावहरु छन् । तिनलाई पूर्ति गर्न समस्या हुन्छ ।’
यस्तै, मुगुको गमगढी स्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा लक्ष्मी रोकायाले विद्यालयमा खेल सामग्री अभाव रहेको बताइन् । ‘हामीलाई भलिबल र दौड खेल्न मन लाग्छ । तर सामग्री र मैदान नहुँदा नियमित खेल्न पाइँदैन,’उनले भनिन् ।

अधिकांश जिल्लामा उस्तै समस्या
कर्णाली प्रदेशमा बालविकासदेखि कक्षा १२ सम्म ६ लाख ४६ हजार ७६८ विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले देखाएको छ । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशमा २ हजार ७११ बालविकास केन्द्र, ३ हजार १९९ सामुदायिक विद्यालय, ५६ क्याम्पस, एक विश्वविद्यालय, १६ वटा प्राविधिक धारका विद्यालय र ११ वटा प्राविधिक शिक्षालय सञ्चालनमा छन् । त्यस्तै आठ धार्मिक विद्यालय र २४१ सामुदायिक अध्ययन केन्द्र पनि रहेका छन् ।
१० वटै जिल्लामा सामुदायिक विद्यालयको अवस्था लगभग उस्तै छ । हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटका धेरै विद्यालयमा समथर खेल मैदान नै छैन । भौगोलिक विकटता र पहाडी भू–बनोटका कारण विद्यालय परिसर साँघुरा छन् ।
हुम्लाको अदानचुली गाउँपालिका–४ लौठीस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुलाल जैसीका अनुसार विद्यार्थीहरूले खेलकुद गतिविधि गर्न विद्यालय नजिकैको साँघुरो खुला ठाउँ प्रयोग गर्नुपर्ने अवस्था छ । ‘विद्यालय हाताभित्र खेल मैदान छैन । भलिबल वा दौडजस्ता खेल सञ्चालन गर्न पनि भौगोलिक समस्याका कारण अप्ठारो छ,’उनले भने ।
जुम्लामा अधिकांश विद्यालयले भलिबल र कबड्डी खेलाउने प्रयास गरे पनि मापदण्डअनुसारका मैदान अभाव छन् । मुगु र डोल्पामा त कतिपय विद्यालयमा खेल सामग्रीसमेत नियमित उपलब्ध छैनन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटमा रहेको शान्ति माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत कमल शाही भन्छन्, ‘टीभीमा खेलाडीहरू देख्दा हामीलाई पनि खेल्न मन लाग्छ । तर हाम्रो विद्यालयमा खेल्ने ठाउँ सानो छ । सामग्री पनि छैनन् ।’
दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानका विद्यालयमा पनि खेल पूर्वाधारको अवस्था सन्तोषजनक छैन । दैलेखमा करिब ७५ प्रतिशत विद्यालयमा मापदण्डअनुसारको खेल मैदान नभएको शिक्षा विकास तथा समन्वय ईकाई दैलेखले जनाएको छ ।
जाजरकोटको कुशे गाउँपालिका–५ दम्दाला स्थित पशुपति माध्यमिक विद्यालयका शिक्षक गगन वलीले तीनै तहका सरकारले विद्यालय भवन निर्माणलाई प्राथमिकता दिइए पनि खेलमैदान निर्माणमा ध्यान नदिँदा खेल गतिविधि पढ्न नसकेको बताए । ‘विद्यालय भनेको पढ्ने मात्र ठाउँ होइन । खेलकुद, सिर्जनशीलता र नेतृत्व विकासको केन्द्र पनि हो,’ उनले भने, ‘सरकारले भवनमा मात्रै जोड दिन्छ । खेलपूर्वाधारमा त तीनै तहका सरकारको ध्यान नै जाँदैन ।’

मापदण्ड कार्यान्वयनमा कमजोरी
शिक्षा सम्बन्धी विद्यमान व्यवस्थाअनुसार विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था हुनुपर्छ । तर व्यवहारमा धेरै विद्यालय भवन केन्द्रित विकासमा सीमित भएका छन् । शिक्षाविद्हरूका अनुसार विद्यालय स्थापना गर्दा खेल मैदान, बालमैत्री वातावरण, खानेपानी, शौचालय, खुला स्थान र अतिरिक्त क्रियाकलापका संरचनालाई समान महत्व दिनुपर्ने हो । तर विद्यालय विस्तारको क्रममा यी मापदण्डहरु ओझेलमा परेका छन् ।
विद्यालयमा बालबालिकालाई कक्षाकोठाभित्र मात्रै सीमित राखेर शिक्षण गर्दा सिकाइ उपलब्धि प्रभावकारी नहुने विज्ञहरूको भनाइ छ । शारीरिक, मानसिक र भावनात्मक विकासका लागि खेलकुद अपरिहार्य मानिन्छ ।

‘खेलाडी उत्पादन गर्ने आधार कमजोर हुन्छ’
सामुदायिक विद्यालय व्यवस्थापन समिति कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले खेल पूर्वाधारको अभाव कर्णालीको शिक्षा क्षेत्रकै ठूलो चुनौती भएको बताए । उनका अनुसार सामुदायिक विद्यालयमा भवन निर्माणमा केही सुधार भए पनि खेलमैदान निर्माण अझै प्राथमिकतामा पर्न सकेको छैन । ‘विद्यालयको गुणस्तर मूल्यांकन गर्दा भवन र नतिजा मात्र होइन, खेलकुद र अतिरिक्त क्रियाकलापको अवस्था पनि हेर्नुपर्छ,’उनले भने, ‘आज विद्यालयमा खेल्ने वातावरण नबनाउने हो भने भोली प्रदेश र देशका लागि खेलाडी उत्पादन गर्ने आधार कमजोर हुन्छ ।’ कोइरालाले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर विद्यालयस्तरीय खेल पूर्वाधार विकास अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
खेल मैदान नहुँदा विद्यालयस्तरबाटै खेलाडी उत्पादन प्रभावित भइरहेको सरोकारवालाको भनाइ छ । खेलकुद प्रशिक्षक प्रदीप राईका अनुसार प्रतिभा पहिचान विद्यालयबाटै सुरु हुन्छ । विद्यालय तहमा पर्याप्त अवसर नपाउँदा धेरै प्रतिभाशाली विद्यार्थी बीचमै हराउने गरेका छन् ।

स्थानीय सरकारको प्रतिबद्धता
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले सामुदायिक विद्यालयमा खेलमैदान र खुला स्थान व्यवस्थापन नगरपालिकाको प्राथमिकतामा रहेको बताइन् । उनले नगर क्षेत्रका धेरै विद्यालय सीमित क्षेत्रफलमा सञ्चालन भइरहेकाले समस्या देखिएको स्वीकार गरिन् ।
‘शिक्षा पाठ्यपुस्तकमा मात्रै सीमित हुन सक्दैन । विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि खेलकुद आवश्यक छ,’ढकालले भनिन्, ‘जहाँ सम्भव छ त्यहाँ विद्यालयस्तरमै खेल मैदान निर्माण गर्ने र सम्भव नभएका ठाउँमा साझा खेल पूर्वाधारको अवधारणा अघि बढाउन सकिन्छ ।’ उनका अनुसार नगरपालिकाले विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र खेल सामग्री सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ ।

‘आजका विद्यार्थी नै भोलिका राष्ट्रिय खेलाडी’
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले विद्यालय खेलकुदलाई प्रदेशको खेल विकासको आधारस्तम्भका रूपमा लिनुपर्ने बताए । ‘१०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारीमा रहेको कर्णालीले विद्यालय खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्छ,’उनले भने, ‘आज विद्यालयमा खेलिरहेका विद्यार्थी नै भोलिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुन् ।’ चन्दका अनुसार प्रदेशमा खेल मैदान, कभर्ड हल र प्रशिक्षण केन्द्र निर्माण भइरहे पनि विद्यालय तहसम्म पूर्वाधार विस्तार आवश्यक छ । ‘खेलाडी उत्पादनको पहिलो प्रयोगशाला विद्यालय हो । विद्यालयमै खेल मैदान नहुने हो भने प्रतिभा पहिचान कसरी हुन्छ,’उनले प्रश्न गरे । चन्दले विद्यालय खेलकुदलाई नियमित र व्यवस्थित बनाउन शिक्षा र खेलकुद क्षेत्रबीच संयुक्त कार्यक्रम आवश्यक रहेको बताए ।
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशमा खेलकुदप्रति नयाँ उत्साह सिर्जना गरेको छ । प्रतियोगिताका लागि विभिन्न जिल्लामा पूर्वाधार निर्माण र स्तरोन्नतिको काम भइरहेको छ । तर खेलकुद क्षेत्रका जानकारहरू भन्छन्, प्रतियोगिता सम्पन्न गर्नु मात्र पर्याप्त हुँदैन । दीर्घकालीन रूपमा खेलाडी उत्पादन गर्ने आधार तयार पार्न विद्यालय खेलकुदमा लगानी बढाउनुपर्छ । विद्यालयस्तरमा नियमित खेल प्रतियोगिता, प्रशिक्षकको व्यवस्था, खेल सामग्री वितरण र खेलमैदान निर्माणलाई सँगसँगै अगाडि बढाउनुपर्ने उनीहरूको सुझाव छ ।
राष्ट्रिय खेलकुद आयोजना गर्ने प्रदेशका विद्यालयहरूमा नै खेल मैदान अभाव हुनु विडम्बनापूर्ण अवस्था भएको उनीहरुको टिप्पणी छ ।

नीति र व्यवहारबीच दूरी
प्रदेश तथा स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राख्ने नीति सार्वजनिक गर्दै आएका छन् । विद्यालयस्तरीय खेलकुद प्रवद्र्धनका कार्यक्रम पनि उल्लेख गरिन्छन् । तर कार्यान्वयन पक्ष भने कमजोर रहेको सरोकारवालाहरूको गुनासो छ । कतिपय विद्यालयमा खेल मैदानका लागि पर्याप्त जग्गा नहुँदा समस्या छ भने कतिपय ठाउँमा जग्गा भएर पनि पूर्वाधार निर्माणका लागि बजेट अभाव छ । केही विद्यालयमा खेल सामग्री अभाव छ भने कतै प्रशिक्षक र नियमित कार्यक्रमको कमी छ । यसले गर्दा विद्यार्थीको खेलप्रतिको रुचि हुँदाहुँदै पनि क्षमता विकास गर्ने अवसर सीमित बनेको छ । खेल प्रशिक्षक प्रदीप राईका अनुसार विद्यालय खेलकुद सुधारका लागि दीर्घकालीन योजना आवश्यक छ । प्रत्येक विद्यालयमा न्यूनतम खेल पूर्वाधारको मापदण्ड लागू गर्ने, विद्यालयको स्तरअनुसार खेल मैदान निर्माण गर्ने, साझा खेल केन्द्र विकास गर्ने तथा नियमित अन्तरविद्यालय प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था हुनुपर्छ । कर्णालीका दुर्गम बस्तीमा रहेका विद्यार्थीमा प्राकृतिक क्षमता र खेलप्रतिको उत्साह प्रशस्त रहेको राईको भनाइ छ ।