सुर्खेत: सिम्ता गाउँपालिका–५ आली र वडा नम्बर ६ राकमका युवालाई लक्षित गरी ‘जलवायु परिवर्तन तथा अनुकूलनका लागि युवा सशक्तीकरण’ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम वैशाख २६ र २७ गते आयोजना गरिएको कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपाय, युवाको भूमिका तथा सामाजिक परिचालनका विषयमा छलफल गरिएको थियो । युवालाई जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्दै सामाजिक गतिविधिमा सक्रिय सहभागिता गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्रोत व्यक्ति नवीनकुमार शाहीले सहजीकरण गरेका थिए भने ‘हाम्रो शहर’ परियोजनाका संयोजक खगेन्द्र सिजापतिले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा समूह छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक अभ्याससमेत गरिएको थियो । दुवै स्थानमा सम्पन्न कार्यक्रममा ४१ जना युवाको सहभागिता रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनका चुनौती, समुदायमा देखिएका प्रभाव तथा समाधानका सम्भावित उपायबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूको सुझाव तथा अनुभव संकलन गर्दै आयोजक संस्थाले सबै सहभागीप्रति धन्यवाद व्यक्त गरेको थियो ।
उक्त कार्यक्रम हेल्भेटास नेपालको सहयोग तथा सिम्ता गाउँपालिकाको समन्वयमा ‘सुशासन प्रवर्द्धनका लागि युवा संस्था’ले सञ्चालन गरेको हो । संस्थाले विगत दुई वर्षदेखि सिम्ता गाउँपालिकामा सुशासन प्रवर्द्धन, युवा सशक्तीकरण तथा व्यवस्थित सहरीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

खुलानजर । २८ बैशाख २०८३, सोमबार ०९:५८