सुर्खेत: जुम्लाको हिमा गाउँपालिका–६ का ७१ वर्षीय कलबहादुर अधिकारीलाई गत २५ चैतमा कडा मधुमेहका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा भर्ना गरियो । उपचारका क्रममा ‘प्रोस्टेट’ को समस्या जटिल बनेपछि चिकित्सकले उनलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरे ।
आफन्तहरूले बिरामीलाई छिटो अस्पताल पुर्याउन जहाजको प्रतीक्षा गरे । दिनभर विमानस्थल धाए पनि उडान भएन । बिरामीको अवस्था झन् बिग्रिएपछि एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निर्णय गरियो । तर यात्रा दुःखद बन्यो । कालीकोटको खाडाचक्र–२ स्थित मेयरखोलानजिक एम्बुलेन्स दुर्घटना हुँदा अधिकारीका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । कलबहादुर घाइते भए ।
`त्यो दिन जहाज आएको भए मेरो उपचार सहज हुन्थ्यो,´ उनले भने, `अकालमै छोरा गुमाउनुपर्यो ।´
कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा नहुँदा बिरामी, ज्येष्ठ नागरिक र सर्वसाधारणले यस्तै पीडा खेपिरहेका छन् । सडक जीर्ण र जोखिमपूर्ण भएकाले हवाई यात्रा नै मुख्य विकल्प बनेको छ । तर तालिकाअनुसार उडान नहुँदा उपचारदेखि दैनिक आवतजावतसम्म प्रभावित बनेको छ । जुम्लाको चन्दननाथ–८ की २१ वर्षीया सवि कामी मुटु, छाती र फोक्सोको समस्याले शिक्षण अस्पतालमा उपचाररत छिन् । चिकित्सकले उनलाई अक्सिजनसहित जहाजमार्फत नेपालगन्ज लैजान सल्लाह दिएका छन् । तर बुधबार तय भएको उडान मौसमको कारण देखाउँदै रद्द भयो ।
`विमानस्थल पुगेर फेरि अस्पताल फर्किनुपर्यो,´उनका भाइ विनोद कामीले भने, “समयमै उडान नहुँदा बिरामीको अवस्था झन् जटिल बन्दै गएको छ ।´
तिला गाउँपालिका–८ की दुर्गा रावत पनि नियमित उडान नहुँदाको सास्ती भोग्नेहरूमध्ये एक हुन् । लामो समयदेखि ग्यास्ट्रिक समस्याबाट पीडित उनी नेपालगन्ज उपचारका लागि जान खोजेकी थिइन् । तर लगातार दुई दिन उडान रद्द भएपछि टिकट नै रद्द गर्नुपरेको उनले बताइन् ।
`गाडीको यात्रा सहनै सकिँदैन,´ उनले भनिन्, ´तर जहाज पनि भरपर्दो छैन ।´
पर्यटक मौसममा कर्णाली उडानविहीन
यतिबेला पर्यटकीय मौसम सुरु भएसँगै निजी एयरलाइन्सले जहाज पूर्वी जिल्लातर्फ केन्द्रित गरेका छन् । त्यसको प्रत्यक्ष असर कर्णालीमा परेको छ । स्थानीयका अनुसार निजी कम्पनीहरूले यात्रु अभाव देखाउँदै नियमित उडान रद्द गर्ने गरेका छन् । नेपाल एयरलाइन्सले जुम्लाका लागि आइतबार, मंगलबार र बुधबार उडान तालिका सार्वजनिक गरे पनि अधिकांश उडान रद्द हुने गरेका छन् । स्थानीय चन्द्रलाल न्यौपानेका अनुसार पछिल्लो साता मंगलबारबाहेक सबै उडान प्रभावित भए । `उडान नहुँदा बिरामीको ज्यान जोखिममा परेको छ,´ उनले भने ।
कर्णाली राजमार्गको अवस्था कमजोर भएकाले स्थानीय अझै हवाई सेवामै निर्भर छन् । २ सय ३२ किलोमिटर लामो राजमार्ग साँघुरो, धुलाम्मे र हिलोयुक्त छ । सामान्य वर्षामै गाडी रोकिने, जाम हुने र दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीयको गुनासो छ ।
मुगुको गमगढीका रत्नबहादुर शाही भन्छन्, `न सडक राम्रो छ, न जहाज नियमित । कोही गम्भीर बिरामी परे भगवान् भरोसा बाहेक विकल्प छैन ।´
टिकट पाउन पहुँच चाहिने गुनासो
हवाई सेवा सीमित हुँदा टिकट वितरणमा पनि व्यापक गुनासो छ । मुगुमकार्मारोङ गाउँपालिकाका गुरु तामाङका अनुसार सर्वसाधारणले सहज रूपमा टिकट पाउन सक्दैनन् ।
`कर्मचारी चिनेको वा पहुँचवालाको मान्छे भए टिकट पाइन्छ,´उनले भने, `हामीजस्ता सामान्य यात्रुले ३–४ दिन कार्यालय धाउँदा पनि पालो आउँदैन ।´
डोल्पाका स्थानीय पनि उस्तै समस्याबाट पीडित छन् । त्रिपुरासुन्दरी–१ का दुर्गाप्रसाद देवकोटाका अनुसार नियमित उडान बढे पनि टिकटको ‘सिन्डिकेट’ अझै हटेको छैन । `पहिले एक महिनासम्म पालो कुर्नुपर्थ्यो, अहिले केही सुधार भए पनि पहुँचवाला अघि पर्छन्,´उनले भने ।
स्थानीय अगुवा विष्णुलाल बुढाले एयरलाइन्सका कर्मचारीले चिनेका व्यक्ति र पहुँचवालालाई प्राथमिकता दिने आरोप लगाए ।
एउटा जहाज, धेरै गन्तव्य
नेपाल एयरलाइन्ससँग हाल दुईवटा ट्वीनअटर जहाज छन् । तीमध्ये एउटा जहाज पूर्वी जिल्लामा उड्छ भने अर्को नेपालगन्ज ‘बेस’ बनाएर कर्णाली क्षेत्रमा सञ्चालन गरिन्छ । तर एउटै जहाजले जुम्ला, मुगु, डोल्पा, हुम्ला, बाजुरा, रुकुमलगायत धेरै गन्तव्य सम्हाल्नुपर्दा उडान तालिका प्रभावित हुने गरेको छ । नेपालगन्जस्थित स्टेशन प्रमुख यमराज सिंहका अनुसार जहाज पुरानो भएकाले पटक–पटक प्राविधिक समस्या देखिन्छ ।
`६ दिनमा झन्डै ४० उडान गर्नुपर्ने अवस्था छ,´उनले भने, `मौसम र प्राविधिक समस्याले तालिका धान्न कठिन भइरहेको छ ।´
ट्राभल व्यवसायी अमरराज पुनका अनुसार एउटै जहाजमा अत्यधिक तालिका बनाउँदा यात्रुले झन् दुःख पाएका छन् ।
`उडान तालिका अव्यावहारिक छ,´उनले भने, `मौसम, पाइलटको समय र जहाजको अवस्थालाई ध्यान नदिँदा दैनिकजसो फ्लाइट रद्द हुन्छन् ।´
यात्रु सिटमै कर्मचारी
नेपाल एयरलाइन्सको जहाजमा चालक दलबाहेक १९ यात्रु राख्न मिल्छ । तर नेपालगन्ज ‘बेस’ भएको जहाजमा एक इन्जिनियर र एक प्राविधिक कर्मचारी पनि यात्रा गर्छन् । थप इन्धनको भारका कारण धेरैजसो उडानमा १५ जनाभन्दा बढी यात्रु राखिँदैन । नेपाल नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख प्रदीप अर्यालका अनुसार सम्बन्धित विमानस्थलमा कर्मचारीको दरबन्दी नहुँदा उनीहरू जहाजमै आवतजावत गर्न बाध्य छन् ।
`इन्धन भर्ने र प्राविधिक परीक्षणका लागि कर्मचारी आवश्यक पर्छ,´उनले भने, `तर यसले यात्रुको सिट घटेको छ ।´
नेपाल एयरलाइन्सका अनुसार कर्मचारी व्यवस्थापनकै कारण मासिक करिब १ लाख ३० हजार रुपैयाँ अतिरिक्त खर्च भइरहेको छ ।
मौसमलाई दोष, यात्रु निराश
कर्णालीका अधिकांश विमानस्थलमा दिउँसोपछि तीव्र हावा चल्ने गर्छ । नेपालगन्ज र सुर्खेतमा हुस्सु तथा तुवाँलोको समस्या पनि नियमित छ । एयरलाइन्सले यही कारण देखाउँदै उडान रद्द गर्ने गरेका छन् । तर स्थानीयले भने नेपाल एयरलाइन्सले सामान्य मौसमलाई समेत बहाना बनाउने गरेको आरोप लगाएका छन् ।
हुम्लाका नागरिक अगुवा विजय लामाले भने, `त्यही मौसममा निजी जहाज उडिरहेका हुन्छन्, तर नेपाल एयरलाइन्सले उडाउन मान्दैन ।´ नागरिक अगुवा पुरिचन्द्र देवकोटाले पनि नेपाल एयरलाइन्सको तालिका प्रणाली अव्यावहारिक रहेको बताए । उनका अनुसार निजी एयरलाइन्सले उडान रद्द भए अर्को दिन विकल्प दिन्छन्, तर नेपाल एयरलाइन्समा अर्को तालिका कुर्नुपर्ने बाध्यता छ ।
अझै हवाई सेवामै निर्भर कर्णाली
गत असारमा मात्रै हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो । तर सडक कच्ची र जोखिमपूर्ण भएकाले अधिकांश नागरिक अझै हवाई सेवामै निर्भर छन् ।
सिमकोटबाट सुर्खेत पुग्न झन्डै दुई दिन लाग्छ । सडक यात्रा कष्टकर र जोखिमपूर्ण भएकाले बिरामी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण जहाजकै भर पर्न बाध्य छन् । नेपाल एयरलाइन्सले नेपालगन्ज–सिमकोट भाडा ११ हजार ८ सय १४ रुपैयाँ, मुगु ९ हजार ३ सय र जुम्ला ८ हजार ९ सय ३३ रुपैयाँ तोकेको छ । निजी एयरलाइन्सले यसमा थप ५ सयदेखि २ हजार रुपैयाँसम्म बढी लिने गरेका छन् । कर्णालीका नागरिकको गुनासो एउटै छ—जहाज सेवा नियमित, पारदर्शी र भरपर्दो नभएसम्म दुर्गमका नागरिकले सास्ती भोगिरहनुपर्नेछ । बिरामीले उपचार नपाउने, यात्रुले टिकट नपाउने र आकस्मिक अवस्थामा ज्यानै गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारले कर्णालीको हवाई सेवा सुधारलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ ।

खुलानजर । २८ बैशाख २०८३, सोमबार ०९:१५