मेहनत र लगनशीलताले सचिव बनेका लक्ष्मी

बुवा नाउटो कामी र आमा देउकला कामीको कोखबाट २०४१ साल वैशाख १९ गते दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका –३ मा जन्मिएका लक्ष्मी कुमार विक ०७० सालमा सरकारी सेवामा प्रवेश गरे । उनको निजामती सेवामा शाखा अधिकृतको रूपमा पहिलो पोष्टिङ डिभिजन सहकारी कार्यालय डोटीमा भयो । त्यसपछि बर्दियाको डिभिजन सहकारी कार्यालय, मालपोत कार्यालय सुर्खेत, भैरवी गाउँपालिका दैलेख र राष्ट्रिय योजना आयोग सिंहदरबारमा अधिकृतको रुपमा उनले काम गरे । भर्खरै मात्र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा कार्यरत छन् । उनै विकसँग अंगराज परियारले गरेको संघर्ष र सफलतका कुरा :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल दुःख र सुख दुबैको संगममा बित्यो । म २०४१ सालमा दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ मा जन्मिएको हुँ । हाम्रो गाउँमा त्यतिबेला एक मात्रै विद्यालय थियो, जसको शैक्षिक गुणस्तर खासै राम्रो थिएन । म कक्षा एकदेखि तीनसम्म सोही विद्यालयमा पढें । त्यतिबेला पढाइप्रति हाम्रो समुदायको बुझाइ पनि न्यून नै थियो । त्यसैले पढाइलाई खास महत्व दिइँदैनथ्यो । त्यो बेला अंग्रेजी विषय के हो ? भन्ने समेत हामीलाई थाहा थिएन । दाजु अलिकति पढ्नु भएको थियो । उहाँकै माध्यमबाट मैले ‘एबीसीडी’ सिक्ने मौका पाएँ । २०४७ सालमा कक्षा एकमा प्रथम त भएँ, तर मैले के लेखेर प्रथम भएँ भन्ने कुरा आफैंलाई थाहा थिएन । दुःख लाग्ने कुरा के थियो भने हामीले विद्यालय जानुअघि किताबको पाना भित्र रोटी लुकाएर लैजान्थ्यौँ । गैरदलित सुमदायका साथीहरूले पनि त्यस्तै गर्थे । तर कुनै संयोगले हामीले छोएको रोटी उनीहरूले खाँदैनथे । जातीय विभेदका ती व्यवहारहरूले बाल मनमा गहिरो पीडा दिएको थियो । पछि बुबा सानो व्यापार गर्नका लागि सुर्खेत आउनुभयो । म पनि उहाँसँगै सुर्खेत आएँ । त्यसबेला सुर्खेतकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चार कक्षा भर्ना भएँ । त्यहाँ आएपछि बल्ल अंग्रेजी विषयको वास्तविकता बुझ्न थालेँ । मैले जन माध्यमिक विद्यालयबाट एसएलसीदेखि बिएसी सम्मको अध्ययन पूरा गरेँ । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट एमएसी पुरा गरें ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जीवनमा मलाई सेना वा प्रहरी बन्ने ठूलो चाहना थियो । तर, कक्षा १० पढ्दादेखि नै मेरो आँखाको दृष्टि निकै कमजोर हुँदै गयो । आँखा धेरै माइनस थियो, जसका कारण ती क्षेत्रमा पुग्न सम्भव भएन । उच्च शिक्षाको लागि म ब्राक विश्वविद्यालय बंगालादेशमा पुगेँ । त्यहाँबाट एमए पनि उत्तीर्ण गरेपछि लोकसेवा पढ्ने निधो गरें ।

निजामती सेवामा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?
निजामतीतिर लाग्ने प्रेरणा मलाई साथीहरूमार्फत प्राप्त भयो । साथीहरूले भन्थे, तिमी राम्रो पढ्छौ, लोकसेवाको तयारी गर, तिमी पक्कै सफल हुन्छौै । त्यही सल्लाहले मलाई हौस्यायो । तर सुरुवातमा के पढ्ने ? कसरी तयारी गर्ने ? भन्ने नै थाहा थिएन । संयोगले मेरो जेठानसँग एउटै कोठामा बस्ने मौका मिल्यो । उहाँले ‘मैंले लोकसेवाको फारम भरेको छु, तिमी पनि भर न’ भन्नुभयो त्यसपछि म पनि तयारीमा लागेँ ।
पहिलो प्रयासमा असफल भएँ । त्यसपछि उहाँकै सल्लाहमा एक जना लोकसेवा ट्युसन पढाउने सरसँग सम्पर्क भयो । सरले निकै उत्कृष्ट ढंगले ट्युसन पढाउनुहुन्थ्यो । म उहाँसँग नियमित कक्षामा जोडिएँ । नयाँ तरिका, रणनीति र दृढ लगावका साथ पढेँ । शाखा अधिकृत पदमा नाम निकाल्न पनि सफल भएँ ।
सरकारी जागिरको अनुभव कस्तो रह्यो ?
मैले २०७० सालमा निजामती सेवामा शाखा अधिकृतको रूपमा सेवा सुरु गरेको हुँ । पहिलो पोष्टिङ डिभिजन सहकारी कार्यालय डोटीमा भयो । त्यहाँबाट मेरो निजामती यात्रा सुरु भयो । त्यसपछि बर्दियाको डिभिजन सहकारी कार्यालय, मालपोत कार्यालय सुर्खेत, भेरवी गाउँपालिका दैलेख र राष्ट्रिय योजना आयोग सिंहदरबारमा अधिकृतको रुपमा काम गरेँ । विभिन्न तहका कार्यालयहरूमा काम गर्ने क्रममा मैले प्रशासन, नीति कार्यान्वयन, जनसेवा र सहकारी व्यवस्थापनका विषयमा व्यापक अनुभव बटुल्ने मौका पाएँ । हाल म कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा कार्यरत छु । सचिवको हैसियतले अब म नीति निर्माण, योजना, कार्यान्वयन, समन्वय र मूल्याङ्कनका उच्च तहमा जिम्मेवारी वहन गर्दै आएको छु । यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण भए पनि अनुभवले गर्दा सहज भइरहेको छ ।

निजामती बन्न कत्तिको सहज छ ?
मेरो अनुभवका आधारमा भन्नुपर्दा निजामती बन्ने यात्रा सजिलो छैन । किनभने यो एकदम प्रतिस्पर्धात्मक क्षेत्र हो । जहाँ देशभरिका उत्कृष्ट मस्तिष्कहरूले भिडन्त गर्छन् । निरन्तर मेहनत, अद्यावधिक ज्ञान, आत्मविश्वास र स्पष्ट लक्ष्य बिना यो यात्रामा सफलता सम्भव हुँदैन । तर, अर्को कुरा मान्छेले चाहेर निरन्तर प्रयास ग¥यो भने असम्भव केही हुँदैन । आखिर यो प्रणाली पनि मान्छेहरूले बनाएको हो । लगाव, इच्छाशक्ति र सही मार्गदर्शनमा अगाडि बढेमा सफलता अवश्य प्राप्त हुन्छ ।

लोकसेवा अध्यनरतलाई के भन्न चाहनुहुन्छ ?
लोकसेवा एउटा प्रतिष्ठित र जिम्मेवारीपूर्ण सेवा क्षेत्र हो । यो यात्रामा सफलता पाउनका लागि निरन्तर लगन, धैर्यता, र नियमित अभ्यास आवश्यक हुन्छ । म नयाँ पुस्तालाई यही भन्न चाहन्छु—पढाईलाई जीवनशैली बनाउनुहोस्, समयको सदुपयोग गर्नुहोस्, र असफलतालाई सिकाइको माध्यम ठान्नुहोस् । तपाईंसँग लगाव र इच्छाशक्ति छ भने लक्ष्य पक्कै प्राप्त हुन्छ ।

निजामतीमा चाँडो सरुवाले कस्तो प्रभाव पार्छ ?
सरुवा निजामती सेवाको स्वाभाविक प्रक्रिया हो । यसले कर्मचारीलाई विभिन्न भूगोल, जनसमस्या र कार्यक्षेत्रको अनुभव दिलाउँछ । तर अत्याधिक सरुवा वा अल्पकालीन बसाइले स्थायीत्वमा असर पु¥याउँछ । योजनाको दीर्घकालीन कार्यान्वयन, संस्थागत स्मृति र जनविश्वास निर्माणमा प्रभाव पर्न सक्छ । त्यसैले सरुवालाई व्यवस्थापन गरिनु आवश्यक हुन्छ ।

सेवाग्राहीको समस्या समाधानमा सफल भएजस्तो लाग्छ ?
सेवाग्राहीलाई समयमै, स्पष्ट रूपमा र सरल प्रक्रिया मार्फत सेवा दिने कुरामा म सधैं सचेत रहँदै आएको छु । धेरैजसो सेवाग्राही सन्तुष्ट भएर फर्किएको अनुभूति छ । कतिपय जटिल मुद्दामा पनि समन्वय, कानुनी आधार र व्यवहारिक दृष्टिकोणबाट समाधान गर्न सफल भएको छु । म आफूलाई समस्याको समाधानमुखी कर्मचारीको रूपमा हेर्छु ।

रिटायर्ड जीवनपछि के सोच्नुभएको छ ?
रिटायर्ड लाइफबारे मैंले त्यस्तो केही सोचेको छैन । तरपनि सक्रिय जीवन जिउन चाहन्छु । साथै, केही समय लेखन, अध्ययन र अनुभूति सँगै बिताउने रहर पनि छ । सेवा सकिए पनि समाजप्रति दायित्व कहिल्यै सकिँदैन भन्ने मेरो मान्यता छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
हाम्रो देशको सेवा गर्ने अवसर पाउनु गौरवको कुरा हो । जिम्मेवारीमा इमानदारी, पारदर्शिता र सेवामुखी सोच आवश्यक हुन्छ । आजका युवाले देशलाई परिवर्तन गर्न सक्ने सामथ्र्य राख्छन् । त्यसैले नकारात्मकताबाट टाढा रही सकारात्मक सोच, श्रम र लगनशीलताको बाटो रोज्न आग्रह गर्दछु । त्यसतर्फ लाग्ने सबैलाई शुभकामना पनि छ ।