
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका– ८ बाट पेस्तोल र नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
चाइनिज पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १२ राउन्ड, जरायोको सिङ एक थान तथा नियन्त्रित लागुऔषध ट्रामाडोल जस्तो देखिने ९० पत्ता जम्मा ८९९ वटा र ट्याब्लेट र नाइट्राजेपाम चार सय ट्याब्लेटसहित प्रहरीले दुईजनालाई बिहीबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका ८ बस्ने २३ वर्षीय विधान शाही र सोही ठाउँका २२ वर्षीय आदित्य घिमिरे रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर खोजतलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।
अपराध पृष्ठभुमीमा भने विधान शाहीको हकमा मिति २०७८ भाद्र २७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निज ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता लामो समयसम्म फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाले बताए ।
पक्राउ परेकामाथि लागुऔषध सहित हात हतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

जितबहादुर तिरुवा । ३ श्रावण २०८२, शुक्रबार १७:०४