नन्दबहादुर रोकाया
मुगु: मुगुमा गाडी पुगेपछि विकासको नयाँ ढोका खुल्यो । सडकले स्वास्थ्य, शिक्षा, व्यापार र आवागमन सहज बनायो । समय बचत भयो, खर्च घट्यो । तर, खच्चड मार्फत् हुने ढुवानी व्यवसाय बन्द हुँदै गयो ।
कुनै समय मुगु लगायत कर्णालीका दुर्गम बस्तीमा सबैभन्दा भरपर्दो ढुवानी साधन थियो— घोडा र खच्चड । मुगुलगायत हिमाली जिल्लामा उकालो–ओरालो, कच्ची बाटो, खोला–नाला र जंगल पार गर्दै खाद्यान्नदेखि निर्माण सामग्रीसम्म गाउँ–गाउँ पु¥याउने जिम्मा उनीहरूकै काँधमा थियो । समय बदलियो, सडक सञ्जाल विस्तार भयो, मोटर गुड्न थाले । तर, त्यो परिवर्तनसँगै खच्चड मार्फत् ढुवानी व्यवसाय संकटमा पर्यो । जुम्ला, जाजरकोट, डोल्पा जस्तै मुगुमा पनि खच्चड व्यवसाय रोजगारी मात्र थिएन, स्थानीय जीवनशैली, अर्थतन्त्र र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पेसा थियो ।
विशेष गरी सडक सञ्जाल विस्तार हुनुअघि मुगुका गाउँबस्तीमा दैनिक उपभोग्य सामग्री पु¥याउने प्रमुख माध्यम खच्चड नै थिए । २०६९ साल पुस १ गते मुगु सदरमुकाम गमगढी बजारमा गाडी पुग्यो । त्यसअघि हरेक सामग्रीको ढुवानी खचच्डबाट हुन्थ्यो । यातायातका साधन पुगेपछि बिस्तारै खच्चड व्यवसाय विस्थापित हुँदै गएको हो । सडक नपुगेका गाउँमा भने अझै पनि खच्चडको प्रयोग हुने गरेको छ ।
सडक पुग्नुअघिको अवस्था
मुगु जिल्ला भौगोलिक दृष्टिले अत्यन्तै विकट मानिन्छ । हिमाली भेग, दुर्गम बस्ती, साँघुरो गोरेटो र मौसमको कठोरता, यी सबैले यहाँको जीवनलाई चुनौतीपूर्ण बनाउँदै आएका थिए । सडक नपुगेको समयमा मुगु सदरमुकाम गमगढीदेखि गाउँ–गाउँसम्म चामल, नुन, तेल, चिनी, लत्ताकपडा, औषधि र निर्माण सामग्री पु¥याउने काम खच्चडकै भरमा हुन्थ्यो । त्यतिबेला हवाईजहाज नै बाह्य संसारसँगको मुख्य सम्पर्क माध्यम थियो । खाद्यान्न हवाई मार्गबाट ल्याइन्थ्यो । तर, विमानस्थलबाट गाउँसम्म पु¥याउने जिम्मा खच्चडले नै लिन्थे । स्थानीय व्यापारीहरू दर्जनौँ खच्चड पाल्थे । एउटा खच्चडको मूल्य लाखौँसम्म पुग्थ्यो । धेरै खच्चड पाल्ने व्यवसायी गाउँका सम्पन्न र सम्मानित व्यक्तिका रूपमा चिनिन्थे । मुगुमा २०६९ साल पुस १ गते पहिलो पटक गाडी पुगेको थियो । त्यो दिनलाई स्थानीयले ऐतिहासिक दिनका रूपमा सम्झिन्छन् । गाडीको आवाजसँगै विकासको नयाँ अध्याय सुरु भएको महसुस गरियो । तर, त्यही दिनदेखि खच्चड व्यवसायको भविष्य भने अनिश्चित बन्दै गयो ।
मारमा व्यवसायी
हाल मुगु जिल्लामा चार स्थानीय तह छन् । छायाँनाथ रारा नगरपालिका, सोरू गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिका । यीमध्ये छायाँनाथ रारा नगरपालिका सदरमुकाम क्षेत्र भएकाले यहाँ सडक पहुँच तुलनात्मक रूपमा सहज छ । तर सोरु, खत्याड र मुगुमकार्मारोङका धेरै बस्ती अझै पूर्ण रूपमा सडक सञ्जालमा जोडिएका छैनन् । वर्षायाममा सडक अवरूद्ध हुने, पहिरो जाने, खोला उर्लिने समस्या अझै विद्यमान छ । सडक पुगेका क्षेत्रमा जिप, ट्रयाक्टरले ढुवानीको काम गर्न थालेका छन् । सस्तो र छिटो सेवा भएकाले व्यापारीहरू सवारी साधनतर्फ आकर्षित भएका छन् ।
तर, सडक नपुगेका गाउँ बस्तीमा अझै पनि खच्चडको प्रयोग अपरिहार्य छ । सडक विस्तारसँगै खच्चड व्यवसायमा ठुलो गिरावट आएको छ । पहिले महिनामा थुप्रै फेरा लगाएर राम्रो आम्दानी गर्ने व्यवसायीहरू अहिले कामको अभावमा छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामवाडा गाउँका पुराना खच्चड व्यवसायी कलबहादुर भाम भन्छन्, ‘पहिले हामी दिनरात खच्चड लिएर हिँड्थ्यौँ । जुम्ला बजारबाट गमगढीसम्म र गाउँगाउँसम्म सामान पु¥याउँथ्यौँ । अहिले सडकले धेरै ठाउँ समेटिसकेको छ ।’ काम पाउनै गाह्रो भएकाले खच्चड व्यवसाय संकटमा परेकाले आफूले व्यवसाय नै छाडेको उहाँले बताउनु भयो । ‘पहिले खच्चड बिक्री गर्दा राम्रो मूल्य पाइन्थ्यो । अहिले त किन्ने मान्छे नै छैनन् । पालेर राख्न घाँसको समस्या, उपचार खर्च सबै गाह्रो छ,’उनले भने । त्यसैले व्यवसाय संकटमा परेकाले बिक्री गरेर व्यवसाय नै छाडेको उनको भनाइ छ ।
मुगुमकार्मारोङ गाउँपालिकाको हिमाली भेगमा भने अवस्था केही फरक छ । त्यहाँ अझै मोटर नपुगेका बस्तीहरू छन् । धार्मिक तथा पर्यटन गन्तव्यहरूमा सामान ओसार्न खच्चडकै आवश्यकता पर्छ । तर, काम सीमित भएकाले व्यवसाय टिकाइराख्न कठिन भइरहेको छ । खच्चड व्यवसाय कमजोर हुँदै जाँदा त्यसले स्थानीय अर्थतन्त्रमा असर पारेको छ । रोजगारी गुमेको छ । वर्षौंदेखि यही पेसामा निर्भर परिवारहरू वैकल्पिक आम्दानीको खोजीमा छन् । पशुपालन घटेको छ, खच्चड पालन महँगो र जोखिमपूर्ण हुँदै गएको छ ।
पहिले गाउँमा खच्चड घण्टी बजाउँदै हिँड्दा त्यो आवाजले गाउँको चहलपहल झल्काउँथ्यो । अहिले ती आवाजहरू विरलै मात्र सुनिन्छन् । सडक सञ्जाल विस्तार भए पनि मुगुका सबै गाउँबस्ती अझै पूर्ण रूपमा सडक जोडिएका छैनन् । विशेष गरी वर्षायाममा सडक अवरूद्ध हुँदा खच्चडकै भर पर्नुपर्ने अवस्था पनि आउने गरेको छ । पहिरोले सडक बगाउँदा, हिमपातले बाटो बन्द हुँदा, मोटर नपुगेका दुर्गम बस्तीमा, खच्चड नै भरपर्दो माध्यम बन्ने गरेको छ । रारा ताल आसपासका पर्यटकीय क्षेत्रमा घोडाको प्रयोग गरिन्छ । पर्यटकका सामग्री बोक्न र दुर्गम मार्गमा सेवा दिन मात्रै घोडा साधन बनेका छन् ।
मुगु स्थित मुगमकार्मारोङ गाउँपालिकामा पनि निर्माण सामग्री पु¥याउन खच्चडकै भर पर्नुपर्ने अवस्था छ । तर, भौगोलिक विकटताका कारण खच्चडमा बोकाएर लैजानु पनि सहज भने छैन । सदरमुकाम गमगढीमा २३ सय रुपियाँ पर्ने चामल पालिकाको केन्द्रसम्म पु¥याउँदा चार हजार रुपियाँसम्म पर्ने स्थानीय सोनाम लामा बताउँछन् । हिमपात र वर्षायाममा सामान ढुवानीको एकमात्र विकल्प खच्चड नै हो । उनका अनुसार गाडीमा प्रतिकिलो पाँच रुपियाँ पर्ने ढुवानी भाडा खच्चडमा ३० देखि ५० रुपियाँ पर्न जान्छ । जसका कारण पालिकाको केन्द्रसम्म ३० किलो चामलको प्रतिबोरा २३ सय रुपियाँ पर्नेमा खच्चडमा ढुवानी गर्दा ४ हजार रूपियाँ पर्ने लामाले बताए ।
त्यसो त खच्चड व्यवसायीका पनि आफ्नै दुःख छन् । विकट ठाउँमा सामान बोक्दै गरेका खच्चड कुन बेला बाटोमै मर्ने हुन् भन्ने चिन्ता हुने गरेको खच्चड व्यवसायी वीरबहादुर बुढाले बताए । कति खच्चड त भिरबाटै खसेर मर्छन्, केही बाटोमै बिरामी हुन्छन् । भाडा चर्को भएको गुनासो गरे पनि आफूहरूको दुःख कसैले नदेखेको उनले बताए । बुढाले खच्चडका लागि दानापानीको व्यवस्था गर्न समस्या हुने गरेको बताए । उनका अनुसार एउटा खच्चडका लागि मासिक १० हजार रुपियाँसम्म दानापानीमा खर्च हुन्छ । उपचारमा दुई÷तीन हजारसम्म खर्च हुन्छ ।
मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले घोडा, खच्चडसँग स्थानीयको दैनिकी जोडिएको भन्दै पछिल्लो समय यातायातको पहुँचका कारण खच्चड व्यवसाय मारमा परेको बताए । सडक नपुगेका दुर्गम गाउँमा जडीबुटी, खाद्यान्नदेखि स्थानीय उत्पादन घोडा र खच्चड मार्फत ढुवानी गर्ने गरिएको बताए ।
विस्थापित हुने चिन्ता

खच्चड व्यवसाय पूर्ण रूपमा विस्थापित नहोस् भन्ने चाहना स्थानीय व्यवसायीको छ । उनीहरू भन्छन्, ‘यदि सरकारले उचित योजना ल्यायो भने यो व्यवसायलाई संरक्षण गर्न सकिन्छ ।’ यदि स्थानीय तहहरूले पशु स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क खोप र उपचार व्यवस्था, खच्चड व्यवसायीलाई तालिम, पर्यटनसँग जोडेर रोजगारी सिर्जना, दुर्गम क्षेत्रमा ढुवानीका लागि सहुलियत जस्ता कार्यक्रम ल्याउने हो भने व्यवसाय जोगाउन सकिने खच्चड व्यवसायीहरू बताउँछन् । मुगुमा गाडी पुगेपछि विकासको नयाँ ढोका खुल्यो । सडकले स्वास्थ्य, शिक्षा, व्यापार र आवागमन त सहज बनायो तर, खच्चड व्यवसायीले आफ्नो स्थान गुमाएका छन् ।
परम्परागत पेसा–व्यवसाय हराउनु दुःखद् पक्ष भएको जानकारहरू बताउँछन् । अझैपनि सडक नपुगेका ठाउँहरुम खच्चड व्यवसायलाई व्यवस्थित गर्न सकिने नागरिक समाजका अगुवा रूपबहादुर मल्लले बताए । उनका अनुसार पर्यटन, विशेष गरी रारा क्षेत्रको विकाससँग घोडा, खच्चड व्यवसायलाई जोड्न सकिन्छ । हिमाली पदमार्गहरूमा सामान ढुवानी, पर्यटक सेवा, स्थानीय उत्पादनको बजारसम्म पहुँच लगायतका काममा खच्चड उपयोगी भएकोले संरक्षणमा चासो दिनुपर्ने उनको भनाई छ ।

खुलानजर । १२ फाल्गुन २०८२, मंगलवार १४:०८