बुवा हिरालाल र आमा कृष्णाको कोखबाट पाँचौ सन्तानका रुपमा २०२७ माघ १९ गते वीरेन्द्रनगर–५ चिसापानीमा दीपा हमालको जन्म भयो । प्राथमि विद्यालयको शिक्षक हुँदै हाल नेपाल सरकारको उपसचिव पदमा कार्यरत छिन् । उनी कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको निर्देशको नेतृत्व गरिहहेकी छन् । लैंगिक विभेद गहिरो रहेको कर्णालीमा ‘छोरीलाई पढाएर के काम?’ भन्ने सोच हावी हुँदा पनि उनले उच्च शिक्षा हासिल गर्ने अवसर पाइन् । सरकारी सेवामा प्रवेश गर्दै कर्णालीलाई नै कर्मथलो बनाएर योगदान दिँदै आएकी उनै हमालसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल अत्यन्त सुखद रह्यो । मेरो ६ भाई बहिनी त्यसमध्ये म पाँचौ सन्तान हो । बुवा निजामती कर्मचारी भएकाले शिक्षाको महत्वप्रति उहाँको गहिरो बुझाइ थियो । त्यसैले छोरीलाई पनि पढ्नुपर्छ भन्ने उहाँको दृढ विश्वासले मलाई शिक्षाको अवसर सहजै दिलायो । ‘छोरीलाई पढाएर के काम?’ भन्ने सोच हावी रहेको समयमा जन्मिए पनि मैले राम्रो शिक्षादिक्षा प्राप्त गर्न पाएँ । यही कारणले सरकारी सेवामा छिट्टै प्रवेश गर्ने अवसर समेत जुर्यो । जसले मेरो जीवनलाई अझ उज्ज्वल बनायो ।
तपाईंको शिक्षा यात्रा कस्तो रह्यो ?
मेरो शिक्षा यात्रा अविस्मरणीय रह्यो । वीरेन्द्रनगरस्थित जनमाध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी उत्तिर्ण गरेपछि उच्च शिक्षाको यात्रामा अघि बढेँ । तत्पश्चात, तत्कालीन सुर्खेत शिक्षा क्याम्पसबाट बिएड पूरा गरेँ । अझ गहिराईमा अध्ययन गर्ने अभिलाषाले मलाई ताहाचल क्याम्पससम्म पु¥यायो । जहाँबाट स्नातकोत्तरसम्मको शिक्षा हाँसिल गरेँ । यस यात्राले ज्ञान मात्र होइन, अनुभव र परिपक्वताको मार्ग पनि प्रशस्त ग¥र्याे ।
निजामती सेवाका कुन कुराले प्रेरित गर्यो ?
म सधैं आत्मनिर्भर बन्नुपर्छ भन्ने दृढ विश्वास राख्ने महिला हुँ । मेरो बाल्यकालदेखि नै बुवा निजामती सेवामा हुनुहुन्थ्यो, र उहाँले पाएको इज्जत, सम्मान तथा प्रतिष्ठाले मलाई गहिरो प्रभावित पाथ्र्यो । बुवाको त्यो गरिमा देख्दा मनमा उत्साहको सञ्चार हुन्थ्यो । त्यही प्रेरणाले मलाई निजामती सेवामा प्रवेश गर्ने अठोट दिलायो ।
निजामती सेवा प्रवेशसँगै जागिरको अनुभव ?
२०४६ सालमा प्राथमिक तहको शिक्षकबाट सरकारी सेवामा बराहताल गाउँपलिकाको हरिहरपुर माध्यमिक विद्यालयमा स्थायी नियुक्ति लिएर प्रवेश गरेकी हुँ । २०५० साल वैशाखमा प्राविधिक सहायक निजामती सेवामा प्रवेश गरेको हुँ । तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट एक मात्र महिला अधिकृत हुने रेकर्ड राख्ने अवसर मिल्यो । २०६२ देखी २०६३ सम्म कालिकोट जिल्लामा म जिल्ला शिक्षा अधिकारी भएर काम गरेँ । सुर्खेतमा विद्यालय निरिक्षक भएर काम गरेँ । विद्यालय अनुगमन गर्न जान्थें । प्राथमिक विद्यालय शिक्षकदेखि उपसचिव हुँदासम्म कर्णालीका विभिन्न जिल्लामा बसेर सेवा गरेकी छु । हाल कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको निर्देशकमा कार्यरत छु ।
तपाईंको नेतृत्वमा शिक्षा क्षेत्रमा के कस्ता परिवर्तन भए ?
शिक्षा क्षेत्रमा मेरो नेतृत्वमा भएका सकारात्मक परिवर्तनहरू उदाहरणीय छन् । सुरुवातमै, कर्मचारी संगठनमा समेत महिलालाई कमजोर ठान्ने प्रवृत्तिको सामना गर्नुप¥यो । यो चुनौतीपूर्ण यात्रा थुप्रै बाधा अड्चनहरू माझ अघि बढ्यो । सरकारी सेवामा ३३ वर्ष पूरा गर्दा मैले साक्षरता अभियान, जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक तालिम केन्द्रको नेतृत्व गर्ने अवसर पाएँ । यी सबै जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्न सक्नु मेरो लागि गर्वको विषय रह्यो । मैरै नेतृत्वमा केही जिल्ला पूर्ण साक्षर घोषणा पनि भए । तर, बीचमा यो अभियान रोकियो । खासगरी प्रदेश संरचना कार्यान्वयनमा आएसँगै अभियान अलपत्र परेको छ । कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिएको छ । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै पूर्ण साक्षर प्रदेश घोषणाको तयारी गरिएको छ । कर्णालीका दश जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षर जिल्ला घोषणा भइसकेका छन् । कालिकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी छन् । बाँकी रहेका जिल्लामा स्थानीय तह मार्फत् साक्षर अभियानको सुरुवात गरिएको छ । यस अभियानमा मैंले गरेको मेहनत, समर्पण र शिक्षाको उन्नयनप्रति मेरो अटल प्रतिबद्धताको प्रतिफलस्वरूप नेपाल सरकारले प्रदान गर्ने प्रतिष्ठित ‘प्रवल जनसेवाश्री पदक’ प्राप्त गर्न सफल भएँ । साथै उत्कृष्ट ‘निजामती कर्मचारी पुरस्कार’ र ‘शिक्षाको राष्ट्रिय पुरस्कार’ प्राप्त गर्नु मेरो व्यवसायिक जीवनको गौरवपूर्ण क्षणहरू हुन् । मेरो नेतृत्वमा शिक्षा क्षेत्रमा भएका यी सकारात्मक पहलहरूले केवल संस्थागत सुधार मात्र नभई, समाजमा महिला सशक्तिकरणको उदाहरण पनि प्रस्तुत गरेको छु । मेरो यात्रा भविष्यका शिक्षासेवीहरूका लागि प्रेरणाको स्रोत बन्नेछ भन्ने विश्वास लिएको छु ।
समस्या समाधानमा आफू कतिको सफल भए जस्तो लाग्छ ?
म सेवाग्राहीको समस्या समाधानमा पूर्ण रूपमा सफल भएको ठान्छु । किनभने म जिम्मेवार पदमा रहेर कार्यसम्पादन गर्दै आएका कारण, सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन सधैं अग्रसर रहँदै आएकी छु । माथिल्लो तहमा निर्णयार्थ पेस गर्नुपर्ने कामहरूलाई टेबुलमै बसेर निर्देशन दिने मात्र होइन, आवश्यक सुझाव तथा मार्गदर्शनसहित अघि बढाउने भूमिका निर्वाह गरिरहेकी छु । सेवाग्राहीको समस्या बुझेर उचित समाधान खोज्न सक्नु, प्रक्रियागत झमेलालाई न्यून गर्दै सिघ्र सेवा प्रवाह गर्न सक्नु नै मेरो सफलताको आधार हो । सेवाग्राहीहरू प्रत्यक्ष रूपमा सेवा प्राप्त गरी सन्तुष्ट हुँदा आफैंलाई सफल भएको अनुभूति हुन्छ ।
निजामतीमा छिटो सरुवाले कस्तो प्रभाव पार्छ ?
उपयुक्त मान्छे उपयुुक्त ठाउँमा र अनुमान योग्य सरुवा र बढुवा भए राम्रो हुन्थ्यो । पहुँच र पावरको भरमा सरुवा हुने भयो भने कर्मचारीमा त्रास सृजना हुन्छ र कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्छ ।
सिमान्तकृत समुदायको शिक्षामा पहुँच बढाउन के गर्नुपर्ला ?
लैंगिक तथा सामाजिक समावेशितामा महिलाहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्न कर्णाली प्रदेश सरकारले बैंक खाता छोरीको सुरक्षा जीवनभरीको जस्ता कार्यक्रम ल्याएको छ । अहिले ऐनको रुपमा बन्दै छ यसले पनि छोरीहरुको शिक्षामा प्रगतीको लागि महत्वपुर्ण भूमिका खेल्छ । दलित तथा विपन्न वर्गका विद्यार्थीका लागि निशुल्क होस्टल, शिक्षासँग रोजगारको सम्बन्ध, प्राविधिक शिक्षाको पहुँच बढाइनुपर्छ । साक्षरता अभियान तथा अभिभावक जागरूकता गराउनको लागि गाउँस्तरमा साक्षरता अभियान, अभिभावक सचेतना कार्यक्रम तथा विद्यालय पुनः भर्ना अभियानलाई निरन्तरता दिनुपर्छ । विशेष गरी विपन्न परिवारका अभिभावकलाई शिक्षाको महत्वबारे बुझाउन समुदायस्तरमा सचेतना कार्यक्रम चलाइनुपर्छ । यी उपायहरूको प्रभावकारी कार्यान्वयनले कर्णालीका महिला, दलित, जनजाति तथा विपन्न वर्गको शिक्षामा पहुँच मात्र होइन, उनीहरूको समग्र जीवनस्तर सुधार गर्न पनि मद्दत गर्नेछ ।
भावी कार्ययोजना के–के छन् ?
सेवा निवृत्त भएपछि कर्णालीका छोरीहरूलाई सर्वसुलभ शिक्षा, आत्मनिर्भरता र महिला सशक्तीकरणको अभियानमा जोड्ने मेरो ठूलो सपना छ । म शिक्षित महिला सामाजिक सेवामा सक्रिय हुनुपर्छ भन्ने दृढ विश्वास राख्छु । समाज रूपान्तरणका लागि शिक्षित महिलाको भूमिका निर्णायक हुन्छ भन्ने मलाई लागेको छ । कर्णालीमा अझै धेरै सुधार गर्नुपर्ने क्षेत्रहरू छन् । विशेष गरी महिला सशक्तीकरण, साक्षरता, रोजगारी तथा आत्मनिर्भरता बढाउने अभियानहरूलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । त्यसैले सामाजिक सेवामार्फत शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम तथा अवसरहरूको पहुँच बढाउने योजनामा छु । म विश्वास गर्छु, शिक्षित, सक्षम र आत्मनिर्भर महिलाले मात्र समृद्ध समाजको परिकल्पना साकार पार्न सक्छन् ।
खुलानजर । २१ फाल्गुन २०८१, बुधबार १३:३१