
सुर्खेत: पछिल्लो एक वर्षमा सुर्खेत जिल्ला भर चार सय २३ सवारी दुर्घटनामा परि ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २९ जना पुरूष, १२ जना चालक, ६ जना महिला, तीन बालिका र एक बालक रहेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर भएका सवारी दुर्घटनामा ९३६ जना घाईते भएका छन् । आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा गत वर्ष सवारी दुर्घटनामा कमी आएको छ । २०८०÷०८१ मा जिल्लाभर ६७३ वटा सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए । सोही वर्ष भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु र एक हजार १८४ जना घाईते भएको उनले बताए । ‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनीकरणमा कडाइ गरेपछि सवारी दुर्घटनाको दरमा केही कमी आएको छ,’ उनले भने, ‘सडक दुर्घटना न्यूनिकरणमा प्रहरी एक्लैले मात्रै नसक्ने भएकाले सबै पक्षले सहयोग गरेमा केही हदसम्म अझै दुर्घटना रोक्न सकिन्छ ।’ गत वर्ष कार्यालयले दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यसबाट १ लाख १३ हजार १०२ सवारी चालक, सह–चालक र पैदल यात्रीहरू लाभान्वित भएको सुनार बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण गर्नका लागि क्याम्पस, विद्यालय, पैदल यात्री , चालक, सह–चालक, सवारी धनी लक्षित दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको, लागूपदार्थ सेवन र मापसे चेकजाँचमा कडाई, राडर गनको प्रयोग गरी गति नियन्त्रण गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार आठ सय ४२ सवारी साधनहरूलाई कारबाही गरी एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन कार्यालयले गरेको थियो । तर गत वर्ष १७ हजार एक सय ५१ सवारी साधनहरूलाई कारबाही गर्दा एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो विगतको वर्षको तुलनामा २९ लाख १५ हजार पाँच रुपैयाँ बढी राजश्व रहेको प्रमुख सुनारले जानकारी दिए । कारबाहीमा परेका सवारी साधन मध्ये ६ हजार सात सय ५० मोटरसाईकल, जिप, कार, भ्यान तीन हजार ७२, ट्रक–टिपर दुई हजार आठ सय ६१, अटो टेम्पो दुई हजार २५, बस तथा मिनी बस एक हजार ६१४ र आठ सय २९ ट्याक्टर छन् । मोटर साईकलबाट ५४ लाख २६ हजार, जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार पाँच, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच, बस तथा मिनी बस १४ लाख ४४ हजार पाँच सय र ट्याक्टरबाट ६ लाख १३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको सुनारले बताए । विभिन्न निकायहरूसंग समन्वयमा गरी आठ सय ८६ वटा रोड फर्निचरहरू राखेको छ । ओभर लोड नियन्त्रण गर्न दुई सय ६ वटा अतिरिक्त सिट निकालेको र मोडिफाई गरी चर्को आवाजमा चलाउने ८४ वटा सवारी साधन नियन्त्रण गरी कार्बाहीको दायरामा ल्याएको ट्राफिक कार्यालयले जनाएको छ । कर्णाली प्रदेशमा सवारी दुर्घटनाको संख्या वर्षेनी बढिरहेको छ । पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार ३ हजारभन्दा बढी दुर्घटनामा ७८७ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजार २ सयभन्दा बढी घाइते भएका छन् । तीमध्ये पछिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै १ हजारभन्दा बढी सवारी दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ । सडक पूर्वाधार कमजोर, सवारी साधनको असुरक्षित संचालन, ट्राफिक नियमको पालन नगर्नु र ट्राफिक व्यवस्थापनमा कमजोरी प्रमुख कारणको रूपमा देखिएको छ । कर्णालीका धेरैजसो सडकहरू साँघुरा, उकालो–ओरालो, घुम्ती र अपायक छन् । सडक स्तरोन्नति नगरी सञ्चालनमा ल्याइएका सवारीहरूले दुर्घटनाको जोखिम बढाइरहेका छन् । पहिरो, अवरुद्ध सडक, अव्यवस्थित ग्राभेल सडकहरू अझ खतरनाक छन्। वर्षायाममा त कर्णाली हाइवे र ग्रामीण सडकहरू अझ जोखिमपूर्ण बन्ने गरेका छन् । प्रदेशका अधिकांश ग्रामीण मार्गमा सञ्चालन हुने जीप तथा माइक्रोबसहरू यात्रु ओभरलोड गरेर सञ्चालन हुन्छन् । १० जनाको क्षमता भएको गाडीमा २५ देखि ३० जनासम्म यात्रु चढाउने गरिएको छ । प्रहरीले निगरानी गरे पनि यात्रु र चालक मिलेर नियमको उल्लंघन गर्ने गरेको पाइन्छ । वीरेन्द्रनगर–जुम्ला सडकखण्ड, सुर्खेत–दैलेख र सल्यान सडकखण्डमा दैनिकजसो यात्रु ओभरलोड देख्न सकिन्छ । ट्राफिक प्रहरीको कमजोर अनुगमन र सार्वजनिक यातायातमा सिटको अभावका कारण यस्तो अवस्था देखिएको हो । बिना तालिम चालक, नवीकरण नभएका लाइसेन्स, मद्यपान गरेर गाडी चलाउने प्रवृत्ति, मोबाइल चलाउँदै गाडी हाँक्ने जस्ता लापरवाहीका कारण दुर्घटना बढेको ट्राफिक स्रोत बताउँछ । साथै यात्रु आफैं पनि चुप लाग्ने र नियम नमान्ने गरेकोले समस्या थपिएको हो । यातायात सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू न्यून छन् । गाउँगाउँका सवारी चालक र यात्रुहरूमा ट्राफिक नियमबारे जानकारी कम छ । त्यसैले सडक प्रयोग गर्दा सावधानी अपनाउने प्रवृत्ति कमजोर देखिन्छ ।

खुलानजर । १० श्रावण २०८२, शुक्रबार १३:४१