दैलेखः दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतबार वर्षात सँगै परेको चट्याङले स्थानीय रमेश सिंह लगायतको परिवार घाइते भएको वडाध्यक्ष यामबहादुर विस्टले बताए ।
वडाध्यक्ष विस्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ । कोदो गोड्ने खेतलाहरु दिउँसोको खाजा पकाएर खाईरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उनले भने । चट्याङले लागेर केहीँ पशु चौपायाहरु मरेका वडाध्यक्ष विस्टले जानकारी दिएका छन् ।
घाइतेहरुको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाईएको छ भने घाइतेहरुको अवस्था सामान्य नै रहेका अध्यक्ष विष्टले बताए । ‘घाइतेहरुको अवस्था गम्भिर छैन्, कसैको हात जलेको छ, कसैको आँखामा चोट लागेको छ, उपचारका लागि बोलेरो जीपमा राखेर दैलेख अस्पतालतर्फ पठाईएको छ,’ वडाध्यक्ष विस्टले भने ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरुलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको जानकारी दिए ।
खुलानजर । ८ श्रावण २०७९, आईतवार २०:०६