
सुर्खेत: कणाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकलाई पास गराउन भूमिका खेल्ने बताएका छन् । बुधबार ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ मनाइएको ७७ औं मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयकाे आयोजना र इन्सेक लगायतका संस्थाहरुकाे समन्वयमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मन्त्री भण्डारीले स्वार्थ केन्द्रित मानविय चेतको कारण समाजमा मानव अधिकार संकटमा रहेको बताए। केही कुप्रथाहरू बाहेक वर्तमानको तुलनामा विगत नै मानव अधिकार संरक्षणमा ठीक भएको दाबी गरे।
उनले परम्परागत मूल्य मान्यता हराउँदै गर्दा पनि अमानवीय घटनाहरू भइरहेको भन्दै सन्तानबाट अभिभावक र अभिभावकबाट बालबालिका जोखिममा परिरहेको औंल्याए। मन्त्री भण्डारीले मानवता प्रवद्र्धनका कार्यमा सक्रियता, सहकार्य, समन्वय र एकताका साथ हातेमालो गर्न अपिल गरे ।
पूर्व मन्त्री एवं प्रदेश सभाका सदस्य कृष्णबहादुर जिसीले मानव अधिकार रक्षक विधेयकलाई अगाडी बढाउन आफुले पनि थप पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । आम नागरिकले अधिकारको सचेतना जगाउँदै कर्तव्यतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
कर्णाली प्रदेश सभाको विधायन समिति सभापति कल्याणी खड्काले आधुनिकता र प्रविधिको विास भएसँगै मानव अधिकार उल्लङ्घनको स्वरुप पनि फेरिएको बताइन् । सामाजिक, सांस्कृतिक, वातावरणीय र रसायनिक विषयले पनि मानव अधिकारमा प्रत्यक्ष प्रभाव पारेको उनको भनाई छ ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि विद्यालय तहबाट शिक्षाको थालनी गर्नुपर्ने बताए। उनले आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल राख्न सकेम मात्रै मानव अधिकार सुरक्षित हुने बताए । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ड खनालले संविधानको रक्षा गरे मात्रै मानव अधिकारको सुनिश्चितता हुनेमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका उपसचिव मञ्जु खतिवडाले पछिल्लो समय राज्यभन्दा गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटनाहरु बढिरहेकोले त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका निमित्त प्रमुख मानबहादुर कार्कीले मानव अधिकारकाे संरक्षण सम्वर्द्वनमा राज्य र सबै निकायकाे उत्तिकै भूमिका रहने बताए ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले अहिले मानव अधिकारको प्रत्याभूति भएपनि राज्यले त्यसको भरपुर प्रयोग गर्न नदिएको बताए ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसपी रामप्रसाद घर्तिले नेपाल प्रहरीले हरबखत मानव अधिकारको पालना गरिरहेको बताए।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार रक्षक नै असुरक्षित भएकोले प्रदेश सरकारले उक्त विधेयकलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
मानव अधिकारको संरक्षण, सम्बद्र्धन, सहभागिताको अधिकार लगायतका अपरिहार्य विषयलाई ध्यानमा राखेर राज्यका हरेक निकायले काम कारबाही अगाडी बढाउनुपर्ने नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुको जोड थियो ।

खुलानजर । २५ मंसिर २०८२, बुधबार १७:३४