सुर्खेत: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्ने सबैभन्दा ठूलो शक्ति जनताको एकता भएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्न कुनै अस्त्र–हतियार नभए पनि जनताको एकताले सबै चुनौती सामना गर्न सकिने बताए ।
‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै,’ उनले भने, ‘तर हामीसँग विदेशी चलखेल रोक्न व्यालेस्टिक मिसाइल छैन । हाम्रो असली शक्ति भनेकै जनताको एकता, तागत र भरोसा हो ।’ प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी आन्दोलन’ले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको उल्लेख गरे । जेनजीले दिएको ‘सच्चिने कि सक्किने’ चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको भन्दै उनले भने, ‘जेनजी आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्ने मौका दिएको छ । त्यसका लागि म उनीहरूलाई धन्यवाद दिन चाहन्छु ।’
उनले जेनजी युवामाथि सरकारले गरेको दमन गलत भएको टिप्पणी गर्दै युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीको एजेन्डासँग मिल्दोजुल्दो रहेको दाबी गरे । ‘अहिले हजारौँ जेनजी युवाहरू हाम्रो पार्टीसँग जोडिनुभएको छ,’ उनले भने, ‘कतिपय शक्तिहरू सबै कम्युनिस्ट शक्ति एकताबद्ध हुँदैछ भनेर आत्तिएका छन् ।’ उनले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश पोखेका छन् । आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका कामहरूको चर्चा गर्दै प्रचण्डले लोडसेडिङ अन्त्यको जस कुलमानले मात्र लिन खोजेको र आफूलाई नियुक्त गर्ने नेतृत्वलाई बिर्सेको आरोप लगाए । ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङ मुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पूरा गरेकै हो । यसलाई नराम्रो त कसैले भन्न सक्दैन,’ प्रचण्डले भने, ‘भलै अहिले कुलमान घिसिङले कुन विष खाएर, जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु ।’
उनले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर, विभिन्न विश्वविद्यालयको स्थापना र गरिब किसानहरूको ऋण मिनाहा गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको पनि स्मरण गराएका थिए ।
‘महत्वपूर्ण काम गरेका थियौं’
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफू र प्रचण्ड प्रधानमन्त्री भएका बेला देशका लागि महत्वपूर्ण कामहरू भएको दाबी गरे ।
‘हामीले केही गरेनौँ भन्ने आरोप सही होइन,’ उनले भने, ‘मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र रोजगारी सिर्जना जस्ता काम कम्युनिस्ट सरकारकै पालामा भएका हुन् ।’ उनले जनअपेक्षाअनुसार सबै काम हुन नसकेको स्वीकार गरे पनि ‘केही पनि नभएको’ भन्ने भाष्य गलत भएको बताए । ‘हामीले शिर निहुराउनुपर्ने अवस्था छैन,’ उनले भने ।
भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने बताउँदै नेपालले अबको पार्टी इमानदारहरूको पार्टी हुने प्रतिबद्धता व्यक्त गरे ।
‘समाजवाद नै अबको विकल्प’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशलाई नेपाली विशेषताको समाजवादतर्फ लैजानुको विकल्प नरहेको बताए । विदेशी हस्तक्षेप बढिरहेको टिप्पणी गर्दै उनले पुँजीवाद र भ्रष्टाचारको अन्त्यका लागि सबै कम्युनिस्ट एकताबद्ध हुनुपर्ने धारणा राखे । एमाले पङ्क्तिलाई लक्षित गर्दै खनालले भने, ‘एमाले महाधिवेशनमा भएका साथीहरूलाई आग्रह छ– आउनुहोस्, एउटै बाटोमा अघि बढौँ ।’
‘समाजवाद निर्माण गर्न नसके जेल हाल्नुस् ’
नेपाली कम्युनिस्ट पार्टीका अर्का नेता वामदेव गौतमले समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई आग्रह गरे । ‘अब भाग्ने छुट छैन,’ उनले भने, ‘समाजवादको नाममा जनतालाई ढाँट्ने समय सकियो ।’ उनले जेनजी आन्दोलन केपी ओलीको कार्यशैलीकै कारण उठेको दाबी गर्दै नेतृत्वलाई आत्मसमीक्षा गर्न सुझाव दिए ।
‘घुस नखानेहरूको पार्टी बनाउँछौँ’
नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरूको पार्टीका रूपमा स्थापित गरिने बताए । मजदुर, जनजाति र दलित समुदायलाई एकताबद्ध गरेर अघि बढ्ने उनले बताए ।
त्यस्तै नेता डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा आलोचना गरे । जेनजी आन्दोलनको आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप उनले लगाए । कर्णालीका समस्या औँल्याउँदै रावलले कर्णाली राजमार्ग, अपर कर्णाली जलविद्युत आयोजना र प्राकृतिक स्रोतको सदुपयोग नहुनु गम्भीर चिन्ताको विषय भएको बताए । अपर कर्णाली आयोजनामा भारतीय कम्पनी जीएमआरले काम नगरी ओगटेर राखेको आरोप पनि उनले लगाए ।

खुलानजर । २९ मंसिर २०८२, आईतवार ०८:३३