सुर्खेत: राजनीतिक दलहरू समयानुकूल परिवर्तन हुन नसके प्रजापरिषद् जस्तै इतिहासमै सीमित हुन सक्ने इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल बताएका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित निर्वाचन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दल कहिल्यै बूढा नहुने तर समयअनुकूल नहुँदा समाप्त हुन सक्ने बताए ।
पूर्व आयुक्त प्याकुरेलले सरकारको अर्जुन दृष्टि निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउँदै पुराना राजनीतिक दललाई अनावश्यक रूपमा रुष्ट पार्ने काम नगर्न सरकारलाई सुझाव दिए । सिद्धान्त र नैतिकतामा उभिन आवश्यक रहेको उल्लेख गर्दै उनले भदौ २३ र २४ गतेका घटनामा राज्य असफल भएको दाबी गरे । ती घटनाको जिम्मेवारी तत्कालीन सरकार प्रमुखले लिनुपर्ने उनको भनाइ छ ।
संवैधानिक आयोगहरूलाई सशक्त बनाउनुको सट्टा सरकारले ती आयोगलाई कमजोर बनाउँदै नयाँ–नयाँ आयोग गठन गर्ने प्रवृत्ति बढाएकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुशील थापाले युवा तथा जेन–जी समूहले दलको विरोध मात्र नभई परिवर्तनका एजेन्डा बोक्नुपर्ने सुझाव दिए । नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य हरिमाया शर्माले पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेको बताइन् ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको उल्लेख गर्दै भएका कमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रदेश प्रवक्ता हरि अधिकारीले युवाले उठाएका सवालप्रति पार्टी गम्भीर रहेको बताए ।
जेन–जी अगुवा सुप्रिया राज्यलक्ष्मी शाहले राजनीतिक दलहरूले जेन–जीप्रति आग्रह–पूर्वाग्रह नराखी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । युवाहरू सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएको तर परिवर्तनपछि पनि डरको वातावरणमा बस्नुपरेको गुनासो उनको गुनासो छ । नेपाल जेन–जी फ्रन्टका आदर्श विक्रम सिंहले राजनीतिक दलको सिण्डिकेट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो भने जेन–जी अगुवा प्रकाश शाहीले जेन–जीलाई आतंककारीजस्तो दृष्टिकोणले नहेर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निमित्त कार्यालय प्रमुख मानबहादुर कार्कीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्ने बताए । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले निर्वाचन सम्बन्धी प्रगति विवरण प्रस्तुत गनरेका थिए ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचन र मानव अधिकारका विषयमा सरोकारवाला निकायबीच साझा बुझाइ, संवाद, विश्वास र सहकार्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, युवा मानव अधिकार रक्षक, जेन–जी तथा युवा अगुवा, गैरसरकारी संस्था महासङ्घलगायतको सहभागिता रहेको थियो ।
यसै सन्दर्भमा पूर्व आयुक्त प्याकुरेलले वीरेन्द्रनगर स्थित जागरण एफएमसँग निर्वाचन, मानव अधिकार र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे रेडियो संवाद गरेका छन् । उक्त अन्तरवार्तामा उनले निर्वाचन प्रक्रियामा युवाको सक्रिय सहभागितालाई राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

खुलानजर । ९ पुष २०८२, बुधबार १७:३५