सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूको निर्वाचनमा अर्थपूर्ण सहभागिता, पहुँचयुक्त मतदानस्थलको व्यवस्था र अधिकार सुनिश्चितताका विषयमा पत्रकार तथा मिडिया हाउससँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान तथा विकास केन्द्र सुर्खेतको आयोजनामा साेमबार वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा निर्वाचन प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका व्यवहारिक समस्या, भौतिक पूर्वाधारको अभाव, सूचना पहुँचको कमी र सहायक सामग्रीको अपर्याप्तताबारे छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरूले मतदान केन्द्रसम्म पुग्ने बाटो, भवनको संरचना, शौचालय, संकेत चिन्ह तथा सहायक कर्मचारीको व्यवस्थापन अझै पनि पर्याप्त नभएको गुनासो गरेका थिए ।अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान तथा विकास केन्द्रकी अध्यक्ष प्रथमा श्रेष्ठले लोकतान्त्रिक अभ्यासमा सबै नागरिकको समान सहभागिता अनिवार्य भएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियाबाट वञ्चित हुन नदिन राज्य गम्भीर हुनुपर्ने बताइन् । उनले भनिन्, `संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्छ । मतदान केन्द्र पहुँचयुक्त नहुँदा धेरै नागरिक मताधिकार प्रयोग गर्नबाट वञ्चित हुने अवस्था अन्त्य हुन जरुरी छ ।´ श्रेष्ठले सञ्चार माध्यमले यस्ता मुद्दालाई प्राथमिकताका साथ उठाए मात्र नीतिगत सुधारमा दबाब सिर्जना हुने धारणा राखिन् ।
कार्यक्रमका सहजीकरणकर्ता सूर्य भट्टराईले निर्वाचनलाई समावेशी बनाउन पूर्वतयारी अत्यन्त महत्वपूर्ण रहेको बताए । उनका अनुसार मतदानस्थलको भौतिक संरचना मात्र नभई सूचना सामग्री, सांकेतिक भाषा दुभाषे, सहायक स्वयंसेवक र अपाङ्गता मैत्री मतदान उपकरणको व्यवस्था पनि आवश्यक छ । `सहभागिता बढाउन केवल नारा होइन, व्यवहारिक योजना चाहिन्छ,´उनले भने, `स्थानीय तहदेखि निर्वाचन आयोगसम्म समन्वय गरी पहुँचयुक्त संरचना निर्माण गरिनुपर्छ ।´

अन्तरक्रियामा सहभागी पत्रकारहरूले अपाङ्गता भएका व्यक्तिको मुद्दालाई निरन्तर समाचार, लेख र संवादका माध्यमबाट उठाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले निर्वाचनजस्ता संवेदनशील विषयमा सूचनाको पहुँच विस्तार, सकारात्मक भाषाको प्रयोग र सफल अभ्यासहरूको प्रकाशनमार्फत जनचेतना अभिवृद्धि गर्ने बताएका छन् । साथै, नीतिनिर्मातालाई उत्तरदायी बनाउन तथ्यमा आधारित खोजमूलक सामग्री तयार पार्ने अठोट समेत व्यक्त गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक अवस्था उजागर गर्न सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने निष्कर्ष निकालिएको थियो । सहभागीहरूले आगामी निर्वाचनहरूमा पहुँचयुक्त मतदानस्थल निर्माण, सहायक सेवाको सुनिश्चितता र समावेशी नीति कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको जोड दिएका थिए । कार्यक्रममा २४ जना पत्रकारहरूको उपस्थिति रहेको थियो ।

खुलानजर । २७ माघ २०८२, सोमबार १४:२७