जेनजी आन्दोलनका घाइते सन्तोष, जसको आँखासँगै भविष्य पनि खोसियो!

सुर्खेत:  जेनजी आन्दोलनको क्रममा सुर्खेतमा लागेको गोलीबाट दुवै आँखा र सुन्ने क्षमता गुमाएका २६ वर्षीय सन्तोष बोहोरा राजधानीस्थित शिक्षण अस्पताल महाराजगन्जमा गम्भीर अवस्थामा उपचाररत छन् । न्यूरो सर्जरी वार्डमा राखिएका बोहोरा नौं दिनपछि होसमा आउँदा सबभन्दा पहिले ‘बत्ती किन नबालेको रु’ भनेर सोधेका थिए । तर उनका लागि अब कोठा उज्यालो होस् वा अँध्यारो—कुनै फरक पर्ने अवस्था छैन । शिक्षण अस्पतालको शैयामा बाक्लो पट्टीले टाउको बेरिएका सन्तोष पल्टिएका छन् । दुवै आँखाको नानी निकालिएकाले देख्न सक्दैनन् । गोलीको चोटका कारण दायाँ कानले सुन्न पनि सक्दैनन् ।
भदौ २३ गते काठमाडौं नयाँबानेश्वरमा जेनजी आन्दोलन उग्रिँदै जाँदा १९ जनाको ज्यान गएको सूचना फैलियो । भोलिपल्ट देशभरै प्रदर्शन भयो । त्यही दिन सुर्खेतको वीरेन्द्रनगरमा भएको विरोध प्रदर्शनमा सन्तोष पनि राष्ट्रिय झन्डा बोकेर सहभागी भएका थिए । नगरपालिकामा ढुंगामुढा सुरु भएपछि सुरक्षाकर्मीले गोली चलाए । दिउँसो साढे दुई बजेतिर भिडमै सन्तोष ढले । गोली दायाँ आँखामाथि लागेको थियो । अनुहार रगतले भरिएको अवस्थामा उनलाई प्रदर्शनकारीहरूले नै उनलाई प्रदेश अस्पताल पुर्याए । परिवारलाई घटनाबारे थाहा पाउन करिब दुई घण्टा लाग्यो ।
सुर्खेत प्रदेश अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले उनलाई नेपालगन्ज लैजान भने । नेपालगन्जमा डेढ महिनाको उपचारका क्रममा सन्तोषका दुवै आँखाको नानी निकालियो । गोलीले टाउकोको हड्डी चर्काएर मस्तिष्कमा समेत गम्भीर चोट पु¥याएको चिकित्सकहरूले बताएका छन् ।
गोलीले उछिट्टिएको टोपीले अर्को आँखामा समेत क्षति पु¥याउँदा देख्ने क्षमता पूर्णरूपमा नष्ट भएको श्रीमती निर्मलाले बताइन् । ‘दायाँ आँखामाथि नै गोली लागेको रहेछ । अर्को आँखामा पनि असर परेर दुवै नानी निकाल्नुपरेछ,’ उनले भनिन् ।
नेपालगन्जमा तीन पटक अप्रेसन भयो । टाउकोको अप्रेसन सम्भव नभएपछि कात्तिक १४ मा उनलाई काठमाडौँ ल्याइया े। शिक्षण अस्पतालमा थप एक अप्रेसन भइसकेको छ ।
निर्मला भन्छिन्, ‘उहाँले ‘आँखा खोल्न सकिरहेको छैन’ भन्नुभयो । आँखा सधैँका लागि नदेख्ने भएको थाहा पाएपछि केही भन्नुहुन्न । अहिले दुखे पनि भन्नुहुन्न ।’
सन्तोषको दायाँ कानले काम गर्दैन । नाकले गन्ध छुट्याउन नसक्ने, सास लिनसमेत कठिनाइ हुने अवस्था छ । गोलीले नसाहरू गम्भीर रूपमा क्षति पु¥याएकाले शरीरको एकापट्टि पक्षघात हुने जोखिम चिकित्सकले परिवारलाई बताएका छन् । टाउकोको हड्डी निकालेर गिदी आफैँ भरिन दिइएको थियो । पछि त्यही स्थानमा फलामको प्लेट राखिएको परिवारले बताएको छ ।
प्रधानमन्त्री र गृहमन्त्री समेत अस्पताल आइपुगेका भए पनि परिवारले अहिलेसम्म पाएको सरकारी सहायता २० हजार रुपैयाँ मात्र हो । नेपालगन्जदेखि काठमाडौंसम्मको उपचार, औषधी, बसाइँ र कुरुवाको खर्च गरी ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको श्रीमती निर्मलाले बताइन् । ‘काठमाडौँ बाहिरबाट आएका हामीजस्ता परिवारलाई बस्न–खानै गाह्रो छ। खर्च बढेको बढ्यै छ,’ उनले भनिन् । अस्पतालमा निर्मला दिनरात श्रीमानको शैयासँगै बस्छिन् । भुईँमै सुत्छिन् । सन्तोषका बुबा र आफन्त होटलमा बसेर कुरिरहेका छन् ।
दुई वर्ष माल्दिभ्स बसेर फर्किएका सन्तोष क्रोएसिया जाने तयारीमा थिए । घरमा चार वर्षकी छोरी छिन् । परिवारमा कमाउने एक्ला सन्तोष नै थिए । ‘आँखा र कान नै काम नगरेपछि उहाँलाई जीवनभरै साथ चाहिन्छ,’ निर्मलाले भनिन्, ‘अपांगता नै भएको छ । सरकारले यस्ता परिवारको भविष्यबारे पनि सोच्नुपर्छ ।’
सन्तोषको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । थप उपचार कति समय लाग्छ भन्ने स्पष्ट छैन । पक्षघात र सुस्त मानसिक अवस्थाको जोखिम कायमै छ । परिवारले उनलाई काखै राखेर जोगाएको ज्यान अब कति र कसरी बच्छ—अनिश्चित छ ।