मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा बुधबार इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न भएको छ ।
बैठकमा पीडितका निवेदन, आगामी दिनमा कानुनी सहायतालाई समन्वय सहकार्य गर्दै कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा छलफल गरिएको थियो । मानव अधिकार सहायता कक्षमा प्राप्त एक ओटा निवेदन मध्ये घरेलु हिंसापीडित चिङ्गाड गाउँपालिका–४ मटेलाकी ३४ वर्षीया मनकला शाहीका पति ३३ वर्षीय रेशमबहादुर चन्दले अर्को विवाह गरी नाता कायम गरेका कारण सो नाता कायम बदर गरी, खानाखर्च र हेरचाहको मुद्दा अदालतमा दर्ता गरिसकेकोले कानुनी सहायताका लागि लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ७ हजार ५ सय रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । पीडितलाई आउँदा जाँदाको यातायात खर्च, फोटोकपी र अदालतमा लाग्ने शुल्कमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, उच्च बार एसोसिएसन सुर्खेत, पत्रकार महासंघ, फेडो, आवाज, ओसिएमसी र नवज्योति केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूले सहायता कक्षमा आएका निवेदनहरुमा आ–आफ्नो संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।