सुर्खेत: आठबिसकोट नगरपालिका–३ का वडा अध्यक्ष ३६ वर्षीय केशरमान विकलाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी बेदबहादुर पौडेलले ०८३ असोज २० गते हिरासतमा कुटपिट गरी यातना दिएको पीडित पक्षले आरोप लगाएको छ।
लदुवा–लिस्नेभीर सडक निर्माणका क्रममा मजदुरलाई श्रमबापतको रकम नदिएको विषयमा छलफल गर्न प्रहरी कार्यालय पुगेका बेला आफूमाथि कुटपिट तथा अमानवीय व्यवहार भएको वडा अध्यक्ष विकले बताए । उनका भाइ ३३ वर्षीय गोपाल विक भनिने वीरेन्द्र विक सहायक ठेकेदारका रूपमा काम गर्दै आएका थिए।
विकका अनुसार सडक निर्माणका मुख्य ठेकेदार भीमबहादुर थापाले मजदुरको रकम नदिएपछि मजदुरहरूले आफूहरूसँग रकम मागेका थिए। सोही विषयमा छलफल गर्न भाइलाई लिएर जिल्ला प्रहरी कार्यालय पुगेका बेला प्रहरीले भाइलाई गिरफ्तार गर्न खोजेको र उनी त्यहाँबाट भागेपछि आफूलाई कुटपिट गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको विकको भनाइ छ।
‘सडकको मुख्य ठेकेदार भीमबहादुर थापा हुनुहुन्थ्यो, मेरो भाइ पेटी ठेकेदार थियो। मुख्य ठेकेदारले पैसा नदिएका कारण श्रमिकले पैसा पाएनन्,’ विकले भने, ‘यही विषयमा छलफलका लागि म भाइलाई लिएर प्रहरीमा गएको थिएँ। त्यही बेला प्रहरीले भाइलाई धरपकड गर्दा ऊ भाग्यो। त्यही रिसले मलाई कुटपिट गर्दै मुद्दा चलाए।’
डिएसपी पौडेलले आफूलाई कार्यकक्षमा लगेर सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिएसपीको उपस्थितिमा हातमा हत्कडी लगाई मुक्का र बुटले प्रहार गरेको तथा अश्लील गालीगलौज गरेको विकको आरोप छ।
कुटपिटबाट टाउको, आँखा, ढाड, कान र मुखमा चोट लागेको विकले बताए। असोज २० गते जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार सम्भव नभएपछि आफन्तले सोही राति उनलाई प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरेका छन्।
घटनाबारे इन्सेक कर्णाली प्रदेश कार्यालयले असोज २१ गते प्रदेश अस्पताल सुर्खेतमा विकसँग भेटेर जानकारी लिएको छ। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, सुर्खेतले पनि घटनाबारे पीडितसँग भेटेर जानकारी लिई अनुसन्धान अघि बढाएको कार्यालय प्रमुख रमेशकुमार थापाले बताउए।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले भने वडा अध्यक्षका भाइ वीरेन्द्र विकविरुद्ध मुख्य ठेकेदारले असोज १६ गते दिएको उजुरीका आधारमा उनलाई गिरफ्तार गर्न खोजिएको जनाएको छ। प्रहरीका अनुसार विकले प्रहरीलाई हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको हो।
विकलाई हिरासतमा कुटपिट नगरिएको र गिरफ्तार गर्ने क्रममा टेबुलमा ठोक्किएर चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदबहादुर पौडेलले बताए।
‘हामीले कुटपिट गरेका छैनौँ। गिरफ्तार गरेर ल्याएका हौँ। कुर्सीमा बस्ने क्रममा टेबुलमा ठोक्किएर चोट लागेको हो,’ डिएसपी पौडेलले भने, ‘यदि मैले हानेको कुनै प्रमाण ल्याउनुहुन्छ भने जागिर छोडेर जान तयार छु।’
प्रहरीले यसअघि पनि केशरमान विक विभिन्न मुद्दामा गिरफ्तार परेको जनाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्यसमेत रहेका विकलाई हिरासतमा कुटपिट गरी घाइते बनाइएको भन्दै घटनाको छानबिन गर्न नेकपाले माग गरेको छ। नेकपा रुकुमपश्चिमका संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले असोज २० गते विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नमाथि कानुनी कारबाही गर्न तथा विकले प्रहरीमाथि गरेको भनिएको दुर्व्यवहारको प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।

खुलानजर । २१ आश्विन २०८३, बुधबार १८:०२