
सुर्खेत: छोरीको भविष्य उज्यालो बनाउन विदेश गएर कमाउने बाबुको सपना अन्ततः पीडादायी घटनामा टुटेको छ। डाक्टर, इन्जिनियर वा सेनाको अधिकृत बन्ने सपना बोकेकी १६ वर्षीया इनिसा विकको सुर्खेतमा भएको घटनापछि मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।
इनिसाका बाबु इन्द्रबहादुर विक छ वर्षअघि सुरक्षा गार्डको काम गर्न दुबई गएका थिए। नेपाली सेनाबाट प्राप्त पेन्सनले सामान्य जीवन चले पनि छोरीको ठूला सपनालाई पूरा गर्न थप आम्दानी आवश्यक ठानेर उनी विदेशिएका थिए।
`छोरीको सपना साकार पार्न विदेश गएको थिएँ,´ उनले भने, “तर उसको सपना बीच बाटोमै लुटियो।´
फागुन २३ गते शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा इनिसा बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीय र प्रहरीले उनलाई करिब तीन किलोमिटर टाढा रहेको प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले अस्पताल पुग्नुअघि नै मृत्यु भएको घोषणा गरेका थिए।
पोस्टमार्टम रिपोर्टअनुसार यौनांगमा गहिरो चोट लागेर अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि भएको छ। घटनामा संलग्न भएको आरोपमा चार नाबालकलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको खबर पाएपछि इन्द्रबहादुर तत्काल स्वदेश फर्कन खोजे पनि मध्यपूर्वमा जारी द्वन्द्वका कारण विमानस्थल बन्द हुँदा उनी तीन दिनपछि मात्रै नेपाल आइपुगे। हाल उनले छोरीलाई न्याय दिलाउनुपर्ने माग गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने बताएका छन्।
इनिसा पढाइमा अब्बल विद्यार्थी थिइन्। उनले एसईई ‘ए’ ग्रेडमा उत्तीर्ण गरेकी थिइन् र वीरेन्द्रनगरस्थित उषा बालवाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकाय अध्ययनरत थिइन्। सुरुमा डाक्टर बन्ने लक्ष्य राखेकी उनले पछि कम्प्युटर विज्ञान पढेर इन्जिनियर बन्ने सोच बनाएकी थिइन्।

उनका शिक्षक इन्द्रप्रसाद चापागाईंले इनिसालाई जेहेनदार, अनुशासित र सबैसँग हार्दिक व्यवहार गर्ने विद्यार्थीका रूपमा सम्झिन्छन्। साथीहरूका अनुसार पनि उनी सधैं हँसिली, मिलनसार र सहयोगी स्वभावकी थिइन्।
इनिसाको मृत्यु घटनाले सुर्खेतमा व्यापक चासो र आक्रोश पैदा गरेको छ। परिवारले चारै जना आरोपितविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानको किटानी उजुरी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि सुर्खेत पुगेर अनुसन्धान गरेकाे छ भने केही नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
पीडित परिवारले भने दोषीलाई कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गर्दै न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएको छ। `छोरीको सपना पूरा गर्न कमाउन विदेश गएको थिएँ,` इन्द्रबहादुर भन्छन्, “तर हाम्रो सपनाको संसार नै उजाडियो।´

खुलानजर । ३ चैत्र २०८२, मंगलवार १२:१९