वीरेन्द्रनगरको उपप्रमुखमा समाजवादीबाट गहतराज सिफारिस

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा समाजवादी पार्टीका युवा नेता मनिष गहतराज सिफारिस भएका छन् । शनिबार समाजवादी पार्टीको जिल्ला स्तरीय नेतृत्वबाट गहतराजलाई उपप्रमुखमा सिफारिस गरिको हो ।
अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गहतराजलाई उपप्रमुखमा सिफारिस गरेको समाजवादी पार्टी जिल्ला कमिटी सुर्खेतले जनाएको छ ।
कर्णालीमा सत्तारुढ गठबन्धनको भागबण्डाको बैठक चलिरहँदा गहतराजलाई उपप्रमुखमा सिफारिस गरिएको हो ।
विगत लामो समयदेखि दलित समुदायको हकहितमा आवाज उठाउँदै आएका उनी निर्वतमान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाको प्रमुख स्वकीय सचिवका रुपमा समेत काम गरेका थिए ।
पार्टीले आफुलाई उपप्रमुखमा सिफारिस गरेकोप्रति खुसी व्यक्त गर्दै वीरेन्द्रनगरको उपप्रमुखमा आफुले जिम्मेवारी पाए पिछडिएको दलित समुदाय र समग्र नगरको विकासमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
उनले वीरेन्द्रनगरको ढल निकास, खानेपानी, स्वास्थ्य, शिक्षा, युवा रोजगार, उद्यमशिलता, सिमान्तकृत समुदायको परम्परागत सिपको आधुनिकरण र त्यसको संरक्षण, विपन्न सिपमुलक जस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
यस्तै उनले वीरेन्द्रनगरको भूमि तथा सुकुम्वासी सम्बन्धी समस्याको समाधान, दलित आवास कार्यक्रम सडक सुरक्षालाई आफुले विषेश प्राथमिकता दिने बताए । समाजवदीले वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा सात जनाको सिफारिस गरेको छ ।