निजामती कर्मचारीहरुले कालोपट्टी बाँधेर सुर्खेतमा गरे विरोध

सुर्खेत : निजामती कर्मचारीहरुले सुर्खेतका विभिन्न कार्यालयहरुमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै गरिएको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सोमबार सुर्खेतमा पनि विभिन्न कार्यालयहरु र जिल्ला प्रशासन कार्यालयमा समेत कालो व्यानर राखि हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यकक्षमा समेत विरोध जनाएक छन् ।
निजामती क्षेत्रका ५ वटा संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी कर्मचारी मञ्चले सरकारविरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका थिए । निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरुले विरोध गरिरहेका छन् ।
विरोधका थप कार्यक्रम नआउञ्जेलसम्मका लागि हातमा कालोपट्टी बाँधेर काम गरिने नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका सचिव शिशिरकुमार खड्काले जानकारी दिए ।