शिक्षा र स्वास्थ्य सम्बन्धी हक प्रत्याभूति गर्न ध्यानाकर्षण

सुर्खेत: बराहताल गाउँपालिकाका सामूदायिक विद्यालयमा शिक्षा, स्वास्थ्यको हक प्रत्याभूति गर्नका लागि इन्सेकले ध्यानाकषर्ण पत्र बुझाएको छ । मंगलबार इन्सेकद्धारा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक छबिलाल शर्मा, सदस्य ख्यामु पौडेलले गाउँपालिकाको शिक्षा शाखा प्रमुख डम्मरकुमारी रोकायलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
समुहले राजधानीकोे वीरेन्द्रनगरपालिकासँगै जोडिएको बराहताल गाउँपालिका भित्र रहेका ९ वटा माध्यामिक विद्यालय, १५ वटा आधारभुत विद्यालय र ३२ वटा प्राथमिक विद्यालयहरुमा कम्प्युटर भएपनि प्रयोगमा नआएको र कतिपय विद्यालयमा कम्प्युटर शिक्षक नै नभएको र विद्यालयमा व्यवस्थित सौचालय नभएका कारण यथासिघ्र व्यवसथपन गर्न शिक्षा शाखालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा संविधानका गरिएको व्यवस्था अनुरुप बराहताल गाउँपालिकामा अध्ययनरत बालबालिकाहरु शिक्षा र स्वास्थ्य सेवाको हकबाट बञ्चित हुनु परेको स्मरण गराउँदै शिक्षा र स्वास्थ्य सम्बन्धी हकको प्रत्याभुति दिलाउनु घरदैलोको सरकारको रुपमा रहेको पालिकाको शिक्षा शाखाको प्रमुख दायित्व, कर्तव्य र जिम्मेवारी भएको औंल्याइएको छ । त्यस्तै संविधानमा व्यवस्था गरिए बमोजिम बराहताल गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको शिक्षा र स्वास्थ्य सम्बन्धी हक प्रत्याभुतिका लागि यस शिक्षा शाखाले तत्काल कदम चाल्न सुझाव दिइएको छ ।
समुहले नेपालको संविधान भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरेको बताउँदै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितता गर्न अनुरोध गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा शाखा प्रमुख रोकायले विद्यालयमा देखिएको शिक्षा र स्वास्थ्यको समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा इन्सेकका जिल्ला सहजकर्ता ललिता विश्वकमा समेत सहभागी भएकी थिइन् ।