कर्मचारीबाट कुटीएका जुम्लाका डाक्टरलाई काठमाडौं लगियो


सुर्खेतः कर्मचारीबाट कुटपिटमा परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. करण साहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गत शुक्रबार आकस्मिक कक्षमा डा. साहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । घाइते भएका डा. साहको स्वास्थ्य अवस्था र घटनाबारे बुझ्न गएको नेपाल चिकित्सक संघको टोलीले उनलाई थप उपचारको लागि काठमाडौं ल्याएको हो । ‘स्वास्थ्यमा समस्या देखिएको छ । प्रेसर पनि कम छ । हामीले उहाँलाई काठमाडौं ल्याएका छौँ,’ घटनाको अध्ययन गर्न जुम्ला पुगेका संघका महासचिवडा. बद्री रिजालले भने । उनका अनुसार डा. साहलाई मानिसक र शारिरीक दुवै चोट परेको छ ।

संघको टोलीले प्रतिष्ठानको नेतृत्व र जिल्ला प्रशासनसँग पनि घटनाबारे छलफल गरेको छ । प्रशासनले घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको महासचिव डा. रिजालले बताए । ‘सबै पक्षसँग छलफल गरेर फर्किएका छौँ,’ उनले भने, ‘कानुन अनुसार दोषीलाई कारबाही हुनुपर्छ ।’इमरजेन्सी विभागमा आफ्नो छोराको घाउको टाँका काट्न ढिलाइ गरेको भन्दै शाहीले डा. साहलाई कुटेका थिए ।

सीसीटीभी फुटेजमा शाहीले डा. साहलाई मुक्का र लात्ती प्रहार गरेको देखिन्छ । ड्युटीमै रहेका डाक्टरलाई प्रतिष्ठानकै कर्मचारीले कुटेपछि डाक्टरहरू सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका थिए । लगत्तै प्रतिष्ठान प्रशासनले डाक्टर कुट्ने कर्मचारीलाई ४५ दिनका लागि निलम्बन गरेको छ ।