
सुर्खेत: चौकुने गाउँपालिका–२, लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५२औँ वार्षिक उत्सवको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत न्यानो सहयोग प्रदान गरेको छ। विद्यालयका विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम स्थानीयस्तरमा सकारात्मक सन्देश दिन सफल भएको छ।
विद्यालयका प्रधानाध्यापक लालबहादुर थापा तथा विद्यालय परिवारको औपचारिक आमन्त्रणमा सम्पन्न कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कर्णाली प्रदेश उप–प्रमुख किशोर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँसँगै प्रदेश शाखा प्रमुख दिनेश पंगाली, रविन्द्र थापा तथा सिनियर एजेन्सी प्रबन्धक देवेन्द्र खड्का सहित कम्पनीको टोलीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थी भाइबहिनीहरूलाई एक–एक थान न्यानो स्वेटर र एक–एक थान झोला वितरण गरिएको थियो। जाडो मौसमलाई मध्यनजर गर्दै प्रदान गरिएको उक्त सामग्रीले विद्यार्थीहरूलाई अध्ययनमा सहजता र थप उत्साह प्रदान गर्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि किशोर थापाले हिमालयन लाइफ इन्स्योरेन्स केवल बीमा व्यवसायमा मात्र सीमित नरही समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सशक्तीकरणका क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक लालबहादुर थापाले विद्यालयको वार्षिक उत्सवमा सहयोग प्राप्त हुनु खुसीको विषय भएको बताउँदै यसले विद्यार्थीहरूमा आत्मविश्वास र प्रेरणा बढाउने धारणा राख्नुभयो। उहाँले सहयोगप्रति हिमालयन लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा चौकुने गाउँपालिका–२ का वडा अध्यक्ष मायराम जैसीले निजी क्षेत्रको यस्तो सहयोगले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूलाई ठूलो राहत पुग्ने बताउँदै सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमहरू अझ विस्तार हुनुपर्नेमा जोड दिनुभयो।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि समाजप्रतिको उत्तरदायित्व र व्यवसायिक विस्तारलाई सँगसँगै अघि बढाउँदै शिक्षा क्षेत्र लगायत विभिन्न सामाजिक क्षेत्रमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

जितबहादुर तिरुवा । ६ माघ २०८२, सोमबार २१:४४