कर्णालीमा घट्दै औलोका बिरामी


सुर्खेत: कर्णाली प्रदेशमा औलोका बिरामीको संख्या घटदै गएको छ । पछिल्ला वर्षहरुमा औलाे नियन्त्रण कार्यक्रम तिब्र रुपमा संचालन हुँदा त्यसकाे प्रभावकारिता बढेकाे हाे ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हाल कर्णालीमा २४ जना औलोका विरामी छन् । निर्देशनालयले बुधबार विश्व औलो दिवसका अवसरमा संचारकर्मीहरुसँग अन्तक्रिया गर्दै कर्णालीमा औलोको अवस्था र भइरहेका गतिविधिबारे जानकारी गराएको छ ।
तथ्यांक अनुसार हाल सुर्खेतमा २० जना, दैलेखमा ३ र कालिकोटमा १ जना विरामी रहेका छन् । हाल उनीहरु सबैको निशुल्क उपचार गरिएको छ । पछिल्लो पाच वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा औलोका स्थानीय रोगीहरुको संख्या घट्दो क्रममा छ । यस्तै हुम्लाका ३ र कालिकोटका २ वटा वडा गरी ५ वडा औलोको उच्च जोखिममा रहेको औलो रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन श्यामलाल आचार्यले बताए । पछिल्लो समय सुर्खेत लगाएत कर्णाली प्रदेशमै औलो उन्मुलन हुँदै गएको निर्देशनालयले जनाएको छ । नेपाल औलो रणनीतिक योजना अनुसार सन् २०१४—२०२५ अनुसार नेपाललाई सन २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य छ । उक्त लक्ष्य अनुसार कर्णालीमा पनि तिब्र रुपमा औलो नियन्त्रण कार्यक्रम भइरहेको निर्देशक डा.रविन खड्काले बताए ।
उनका अनुसार औलो परिक्षण गरिएका व्यक्तिहरुलाई झुल वितरण, विरामी व्यक्ति तथा नजिकका छिमेकीहरुमाथि औलो परिक्षण तथा निगरानी भइरहेको छ ।
छिमेकी देश भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्तिहरुबाट समेत औलो संक्रमणको जोखिम भएकाले सरकारले औलो परिक्षणमा तिब्रता दिइएको छ । कर्णाली प्रदेशमा औलो रोग नियन्त्रण गर्न आवश्यक जनशक्तिको कमि हुनु, किट विज्ञ नहुनु, बजेटको अभाव लगाएतका कठिनाइ रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले औलाेमा गरेकाे उपलब्धि र चुनाैतीका विषयमा समेत जानकारी गराएको छ ।
`औलाे विरुद्धको लडाइलाई तिब्रता दिऔं, समतामूलक पहुँचकाे सिर्जना गराैं´भन्ने मूल नारामा साथ याे वर्ष पनि विश्व औंलो निमृलन दिवस मनाउन थालिएको छ ।