सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय विकास साझेदारको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन् । सोमबार कर्णालीमा कार्य क्षेत्र बनाएर काम गर्ने अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको छलफलमा मुख्यमन्त्री कँडलले विकास साझेदारले उच्च प्राथमिकतामा राखे पनि अपेक्षित सफलता हासिल गर्न नसकेको बताए ।
‘हाम्रा सहयोगी दातृ निकायहरूको सहयोगअनुसार जति परिवर्तनको महसुस गनुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महसुस गर्न सकेको अवस्था म देख्दैन,’ छलफलमा कँडेलले भने । अवसरको खोजीमा कर्णालीका गाउँहरू रित्तिँदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै मुख्यमन्त्री कँडेलले दातृ संस्थाका प्रतिनिधिहरूलाई रोजगारीको लागी विदेशिने परिस्थितिको अन्त्य हुनुपर्ने बताए । मुख्यमन्त्री कँडेलले विकास साझेदार संस्थाहरूको विगतदेखिको लामो अनुभव रहेको चर्चा गर्दे अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए विद्यमान नीतिसमेत बदल्नप्रति पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले सम्भव नहुने भन्दै मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।
खुलानजर । ३१ बैशाख २०८१, सोमबार १९:३५