अश्लील शब्द प्रयोग गर्दै जातीय विभेद गरेपछि पत्रकार तिरुवाले दिए प्रहरीमा जाहेरी


सुर्खेत : सामाजिक अभियन्ता तथा पत्रकार वीर तिरुवालाई अश्लील शब्द प्रयाेग गर्दै जातीय विभेद गरिएको छ । कालीकोट रास्कोट नगरपालिका वडा नम्बर ५ बस्ने तिरुवालाई सोही नगरपालिका तीन जनाले जातीय भेदभाव गरेका हुन् ।
रास्कोट नगरपालिका वडा नम्बर १ हेप्कोट बस्ने अभिलाल शाहीका छोरा वर्ष ३० का अशोककुमार शाही, उनकी श्रीमति साविनाकुमारी शाही र उनकी साली पशुविना शाही (प्रीया शाही) ले सामाजिक रुपमा जातीय विभेदमा खलल पुग्ने गरी भेदभाव गरेका छन् ।
पीडक तिनै जनाले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुँने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेका हुन् । आपत्ती जनक र अपमान जनक शब्दहरू प्रति तिरुवाले शुक्रबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा जाहेरी दर्ता समेत गरेका छन् । विभिन्न समयमा कुटपिट गर्ने योजनासमेत तय गरेर फोनमा धम्की दिएको उक्त कुरालाई सहन नसकी तिरुवाले जातीय विभेद सम्बन्धी जाहेरी दर्ता गराएको बताए ।
जाहेरीमा निज विर तिरुवाले आफूलाई समाजिक रुपमा खलल् पुग्ने गरी गालि गरेको र सिंगोे दलित समुदायको सामाजिक अस्तित्वलाई मेटाउने गरी भेदभाव गरेको हुँदा पीडकलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र (पहिलो संशोधन) ऐन, २०७५ को दफा ३ को उपदफा १२ अनुसार कसुर गरेको हुँदा उक्त ऐन को दफा ७ (ख) अनुसार हदैसम्मको सजाय गरि उक्त ऐन कै दफा (९) अनुसार प्रचलित ऐन कानुन कार्वाही गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय कालिकोटमा जाहेरी दर्ता गराएका छन् । यसविषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएको छ ।