विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिएपछि पश्चिमका स्थानीय हर्षित

सुर्खेत: विद्युतको राष्ट्रिय प्रसारण लाइनमा सुर्खेतको पश्चिम क्षेत्र जोडिएको छ । पश्चिम सुर्खेतको बाबियाचौर क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण समेत भएको छ ।
कैलालीको सोल्टादेखि सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिकाको बावियाचौरसम्म ३३ केभि क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ । पोल गाड्ने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडानलगायतका तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिए । भेरीपुलमा राखेको ट्रान्सफर्मरबाट वडा नम्बर १० का करिब दुई सय ५० घरमा विद्युत् प्रवाह हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले पञ्चपुरी नगरपालिका वडा नं १०, ११ र पञ्चपुरीकै साबिक बाबियाचौरका लागि चार ठाउँमा ३३–३३ केभिको ट्रान्सफर्मर जडान गरेको छ । यसैगरी वडा नम्बर ११ मा रहेको ट्रान्सफर्मरबाट पनि करिब दुई सय घरधुरीमा विद्युत् प्रवाह हुनेछ । उक्त क्षेत्रमा पहिले जडान भएका पोल र तारबाट विद्युत् विस्तारको काम भइरहेकोे छ भने पोल, तार नपुगेका ठाउँमा नयाँ थप्ने काम भइरहेको छ ।
पश्चिम क्षेत्रमा पर्ने बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका गाउँ–गाउँमा अबको केही महिनाभित्र विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिनेछ ।
पश्चिम क्षेत्रमा एक लघु जलविद्युत आयोजना र तीनवटा पिको जलविद्युत आयोजना छन् । ती आयोजनाले केही गाउँमा विद्युतीकरण भएपनि अन्यक्षेत्रका स्थानीय भने सोलार र टुकीकै भरमा बस्नुपर्ने अवस्था थियो ।
बाबियाचौरमा रहेको खमारीखोला लघुजलविद्युतलाई पनि राष्ट्रिय प्रसारण लाइनमा समायोजन गर्ने तयारी भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारीले बताए । उक्त आयोजनाले पञ्चपुरीका वडा नम्बर ४, ५ र ६ लाई समेटेको थियो ।
‘राष्ट्रिय प्रशारण लाइन जोडिएपछि यहाँको स्थानीय लघुजलविद्युतलाई विद्युत प्राधिकरणमा समायोजन गर्ने तयारी भएकोछ,’प्रमुख भण्डारीले भने, ‘स्थानीय विद्युत केही स्थानमा मात्र पुगेको र महशुल पनि भएको थियो । अब राष्ट्रिय प्रसारण लाइन जोडिएपछि स्थानीयलाई सहज हुनेछ भने कलकारखाना खोल्न पनि सहज भएको छ ।’
राष्ट्रिय प्रसारण लाइन जोडिने भएपछि अध्यारोबाट उज्यालो गाउँ हुने चौकुने–६ गुटुका हिरा विकले बताए ।
‘अहिलेसम्म सोलार र टुक्कीकै भरमा बसेका थियौं । राष्ट्रिय प्रसारण लाइन जोडिएपछि गाउँ नै झिलीमिली हुनेछ,’उनले भने, ‘कलकारखाना खोल्न पनि सहज हुने भयो, हामी खुसी छौं ।’
विद्युत् परीक्षणका क्रममा विद्युतीय दुर्घटना हुनसक्ने भएकाले सचेत रहन केन्द्रले आग्रह गरेको छ । कैलालीको सोल्टाबाट सुर्खेत पश्चिमको बाबियाचौरसम्म नियमित विद्युत् प्रवाह हुने भएकाले सो क्षेत्रका पोल, तार, स्टेक, ट्रान्सफर्मरलगायत विद्युतीय संरचनामा नजिक नजान, नछुन र बालबालिका तथा पशुचौपायालाई जथाभावी नछाड्न पनि प्राधिकरणले आग्रह गरेको छ ।