सुर्खेत: पूर्व राजा ज्ञानेन्द्र शाहले यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थालेको बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले आफू पुग्ने ठाउँहरुमा यस्ता आवाज सुन्ने गरेको बताए ।
‘आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने, ‘हामी जहाँ–जहाँ पुग्छौं, त्यहाँ–त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु । त्यसैले अब कसरी जाने ? के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोच्न जरुरी छ ।’
राजनीतिक दलहरुलाई संकेत गर्दै उनले राष्ट्रवाद फस्टाउन राष्ट्रप्रेमको खाँचो हुने भएकोले सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।
‘नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौं, मिलौं । हामी सबै एक भएर जुटौं । हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढौं,’अभिनन्दन कार्यक्तमलाई सम्बोधन गर्दै उनले भने ।
वीरेन्द्रनगरको खाका कोर्नमा पुर्व राजा वीरेन्द्र र ज्ञानेन्द्रको ठुलो योगदान भएकोले अभिनन्दन गरिएको मुल तयारी समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए ।
वीरेन्द्रनगर घण्टाघर अगाडी गरिएको कार्यक्रममा पूर्व राजा, रानीलाई दैलेख पञ्चकोशीको जलपान गराएर नागरिक अभिनन्दन समेत गरिएको छ ।
अभिनन्दनका लागि एक हजार आठ सदस्यीय समिति र २० सदस्यीय उपसमिति समेत गठन गरिएको थियो ।
‘राजा आउ, देश बचाउ’ नारासहित हजारौंको संख्यामा नागरिकहरु उपस्थित भएका थिए ।
खुलानजर । १४ जेष्ठ २०८०, आईतवार १०:०६