सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत । त्यसको टुप्पोमा वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडा स्थित बयलकाँडा गढी छ । यहि गढीकै नामबाट साविक गाउँ विकास समितिको नामपनि गढी राखिएको थियो । गोठीकाँडा सुर्खेतको प्रानो सदरमुकाम समेत हो । अहिले सिङ्गो गाविस नै १४ नम्बर वडा बनेको छ । वडाको कार्यालय समेत यहिँ छ । जहाँबाट वीरेन्द्रनगर उपत्यकालाई नजिकैबाट नियाल्न सकिन्छ । त्यस्तै सुर्खेतका बराहताल र दैलेखको गुराँस गाउँपालिकाका विभिन्न गाउँहरुलाई नियाल्न सकिन्छ । सुर्य उदायकोदेखि सुर्य अस्ताएकोसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ । रातिको सयमा सुर्खेत उपत्यकालाई नजिकबाटै हेर्न सकिन्छ । बयलकाँडा गढी एक पर्यटकीय स्थल मात्रै होइन । ऐतिहासिक स्थल पनि हो । खस राज्यका शासकहरुले स्थापना गरेको उक्त गढी वि.सं. १७९० सम्म बेलासपुर राज्यका सैनिकको सेल्टरका रुपमा रहेको इतिहास छ । नेपाल एकीकरण पश्चात सेनाहरुके आक्रमणमा परेर ध्यवस्त पारेको पाइन्छ ।
पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको यो गढी समुद्री सतहदेखि १५ सय २२ मिटर उचाइमा छ । गढीहरू नेपाल एकीकरणका समयमा सुरक्षा र रणनीतिक दृष्टिकोणले निर्माण गरिएका किल्लाहरू हुन् । बयलकाँडा गढी पनि त्यस्तै ऐतिहासिक महत्व बोकेको स्थल हो । तर, त्यहि ऐतिहासिक बयलकाँडा गढी पुनर्निर्माणको प्रतीक्षामा छ । इतिहास बोकेको गढीको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष एवं सुर्खेतको इतिवृत–२ का लेखक शुसीलराज शर्मा बताउँछन् । ‘खस राज्यले सेनाको सेल्टरका रुपमा बनाएको इतिहास भेटिन्छ । १७९० सम्म पनि बेलासपुर राज्यका सैनिकको सेल्टरकै रुपमा थियो,’उनले भने, ‘जब पछि बेलापुर राज्य र दुल्लु राज्यका शासकबिच मनमुटाव भयो । अनि बहादुर शाहको नेतृत्वमा त्यसलाई ध्वस्त रहेको पाइन्छ ।’ स्थानीय सरकार बनेको सात वर्षसम्म संरक्षणका लदागि तारजाली बनेपनि यसको गहिराई अध्ययन नभएको भन्दै गढीको इतिहास काँक्रेबिहारसँग जोडिएको हुँदा त्यसलाई पुर्ननिर्माण गर्नुपर्ने उनको भनाई छ ।
गढीको वरिपरि ढुङ्गाको पर्खाल र सेनाले लुकेर गोली हान्नका लागि बनाइएका पर्खालहरु समेत ३०–४० वर्षअघिसम्म देखिने गरेको गढीका ६६ वर्षीय कविराज रोका मगर बताउँछन् । ‘३०–४० वर्षअघिसम्म गढी वरिपरिका पर्खालामा गोली हान्ने प्वालहरु थिए । केही पुरा वस्तुका अवशेष समेत भेटिन्थे,’ उनले भने, ‘ अहिलेपनि यहाँ गढी हेर्नका लागि दैनिक सयौं मानिसहरु आउँछन् । तर, यसको पुनर्निर्माण सुरु नहुँदा समस्या परेको छ ।’ वर्षौंदेखि गढीको पुनर्निर्माणको प्रतीक्षामा रहेको अर्का स्थानीय श्यामप्रसाद चालिसेले बताए । गढीको पुर्ननिर्माण भए स्थानीय पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
बयलकाँडा गढीको पुर्न निर्माण भए पर्यटनमा समेत सहयोग पुग्ने वीरेन्द्रनगर–१४ का वडाअध्यक्ष देवबहादुर रोकायले बताए । ‘यो बयलकाँडा गढी हाम्रो पहिचान हो । यसको पुनर्निर्माणले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । त्यसमा पुरातात्विक विभाग र सरकारले ध्यान दिन जरुरी छ ।’ वडाअध्यक्ष रोकायका अनुसार केही वर्ष पहिले नेपाली सेनाको अगुवाइमा पृथ्वीनारायण शाहको सालिक र घेरबार गरिएको थियो । त्यसयता सेनासँग समन्वय गरेर पुरातात्विक विभागले अध्ययनको काम थालेको छ । नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी गरेको छ । शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको छ ।
ऐतिहासिक गढीको पुर्ननिर्माणमा सहयोग पुग्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सुर्खेतले आफ्नो चौथो पुर्ण बैठक गढीमा सम्पन्न गरेको छ । महासंघले वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर गढीमै पत्रकाहरुसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । महासंघद्धारा जारी चार बुँदे गढी घोषणा पत्रमा ऐतिहासिक गढी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गरी पुनर्निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराउने उल्लेख गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाकी मेयर मोहनमाया ढकालले गढीको पुनर्निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको बताइन् । ‘बयलकाँडा गढी हाम्रो सांस्कृतिक सम्पदा हो, पर्यटकीय क्षेत्र हो । यसको संरक्षण र पुनर्निर्माणका लागि हामी प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘पुरातात्विक विभागको काम अगाडी नबढेका कारण काम हुन सकेको छैन । सबै निकायसँग समन्वय गरेर आवश्यक बजेटको व्यवस्था गरेर पुर्ननिर्माण गर्नेतर्फ ध्यान दिनेछौं ।’
नगरपालिकाका उपमेयर निलकण्ठ खनालले पनि गढीको पुनर्निर्माणमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको बताए । ‘स्थानीयवासीको सक्रिय सहभागिताबिना यस्तो परियोजना सफल हुन सक्दैन । हामी सबै मिलेर गढीको पुनर्निर्माण गर्नुपर्छ,’उनले भने, ‘सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाइनेछ ।’
जगतदल । ३० फाल्गुन २०८१, शुक्रबार १४:३२