मानवअधिकार रक्षकमा पारेको प्रभाव बारे प्रतिवेदन सार्वजनिक


सुर्खेत: नागरिक संघ संगठन र मानव अधिकार रक्षकहरुमा काेभिड-१९ ले पारेको संकुचन विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएकाे छ ।
बिहिवार सुर्खेतमा अनाैपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित औपचारिक कार्यक्रममा काेभिडमा मानवअधिकार रक्षकहरुलाई पारेकाे प्रभावका विषयमा छलफल समेत गरिएको छ ।
विभिन्न अधिकारवादी संघ संस्था, जनप्रतिनिधि र सञ्चारकर्मीहरुकाे सहभागीतामा छलफल गरिएको थियाे । छलफलमा बाेल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख माेहनमाया ढकालले काेभिडमा मानवअधिकार रक्षकसँगै जनप्रतिनिधि, यातायात व्यवसायी र सञ्चारकर्मीहरुकाे महत्त्वपूर्ण भूमिका रहेकाे बताइन् । त्यही सहयाेगका कारण महामारीको लडाइँ सफल भएको बताइन् ।
उनले जाेखिम माेलेर त्यस समयमा गरृका कामहरुकाे प्रशंसा गर्दै यस्ता विपद्मसँग लड्न एकजुट भएर लाग्नुपर्ने सन्देश दिइन् ।
उनले मानवअधिकारकाे रक्षाकाे लागि स्थानीय सरकारले याेजनावद्दरुपमा काम गरेकाे बताइन् । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले मानवअधिकार रक्षकलाई काेभिड जस्ता महामारीले धेरै असर परेकाे बताए ।
उनले मानवअधिकारकाे रक्षासँगै महामारीमा जनप्रतिनिधिले पनि उनीहरुकाे अधिकार सुनिश्चितता गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सांसद भण्डारीले याेजनागतरुपमा काम गर्न सके मात्रै मानव अधिकारसँगै समाजकाे विकास गर्न सकिने सुझाव दिए । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले जनप्रतिनिधिलाई सहयाेग गरेर समाज विकासमा लागे मानवअधिकारकाे रक्षा हुने सांसद भण्डारीकाे भनाइ छ ।
त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयाेजक नारायण सुवेदीले विभिन्न अप्ठारा परिस्थितिमा मानवअधिकारको रक्षाका लागि मानवअधिकार रक्षकहरुकाे अतुलनीय याेगदान रहेकाे बताए ।