विभेद विरुद्ध एकजुट हुनुपर्नेमा जोड

सुर्खेत: नेपालमा हुने सबै प्रकारका विभेद विरुद्ध एकजुट हुनुपर्नेमा एक कार्यक्रमका सहगीहरुले जोड दिएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा युरोपियन युनियनको आर्थिक सहयोग, दलित महिला संघ (फेडो) को आयोजनामा विश्वव्यापी आवधिक समीक्षा तथा महिला विरुद्धको भेदभाव उन्मूलन सम्बन्धी महासन्धीमा समावेश भएका विषयहरु कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
दलित महिला संघ (फेडो) की सस्थापक केन्द्रीय अध्यक्ष दुर्गा सोबले महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, विश्वव्यापी आवधिक समीक्षा, जातीय भेदभाव उन्मूलन समितिका विषयमा भएका व्यवस्था र त्यसको अभ्यासको विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
उनले जातिय विभेद, महिला हिंसा र मानवअधिकारका मुद्दालाई राज्यले आत्मसात गर्दै सम्बोधन गर्नुपर्ने सुझाव दिइन् ।
उनले नेपालले अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी दस्तावेजमा सरकारले हस्ताक्षर गरेको भएपनि काम हुन नसकेकोले सबै तहका सरकारले यसमा ध्यान पुर्याउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा सहभागी भएका अधिकारकर्मी तथा सिमान्तकृत समुदायले नेपालमा विभिन्न प्रकारका विभेद कायमै रहेकाले यसर्तफ सरकारी तथा गैरसरकारी संघस्थाको ध्यान जानुपर्नेमा जोड दिएका छन् । नेपालले अन्तराष्ट्रिय स्तरमा पुगेर विभिन्न क्षेत्रमा हस्ताक्षर गर्ने तर कार्यान्यवयन नगर्ने पाइएको छ । महिला अधिकारकर्मीहरूले कुसंस्कार, कुरीतिजन्य सोचबाट निस्केका परिणाम विरुद्ध संघर्ष गरेको लामो अवधि भइसकेको भएपनि हिसाँका घटनाहरुमा कमि आउन सकेको छैन ।
कर्णाली प्रदेशमा अन्य क्षेत्रभन्दा जातिय विभेद तथा महिला विरुद्धको सबै प्रकारका भेदभाव घटनाहरु धेरै हुने गरेको प्रस्तुतीकरणमा देखाइएको थियो ।
सरकारले विभिन्न कार्यक्रमको माध्यमबाट हिंसा रोक्ने प्रतिवद्धता गरेपनि कार्यान्यवन हुन नसक्दा समस्या हुने गरेको सहभागीहरुको भनाई छ । महिलामाथि हुने हिंसा महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ÷संस्था र परियोजनामुखी सरकारी कामका रूपमा स्थापित हुन नसकेको सरोकारवालहरुले बताएका छन् ।
कार्यक्रममा प्रदेश सरकारका सांसदहरुले समेत मानवअधिकार र विभेद विरुद्ध आफुहरु संसददेखि सडकसम्म एकजुट हुने प्रतिवद्धता जनाएका छन् ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, अधिकारकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु र फेडोका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।