बुवाको व्यवसाय सम्हालिरहेकी दिपा !

बुवा श्यामबहादुर नेपाली र आमा जानकी नेपालीको कोखबाट जन्मिएकी दिपा नेपाली २०५५ साल माघ २ गते जन्मिएकी थिइन् । उनका बुवाआमा यीनै सुई धागाका साधक थिए । उनको परिवारको जीवन यही पेशाबाट चलेको थियो । उनी सानैदेखि स्केचिङ गर्ने, डिजाइन कोर्ने काम मन पराउँथिन् । दिपा यही तालिम केन्द्रबाट थुप्रै महिलाहरूलाई सीप सिकाईरहेकी छिन् । जुम्ला, हुम्ला, डोल्पा रुकुम र सुर्खेतका तमाम दिदीबहिनीहरूलाई सिलाई, डिजाइनमा आत्मनिर्भर बनाएकी छन् । उनको बुवा आमाको मृत्युपछि विकास सिलाई कटाई तालिम केन्द्र व्यवसाय आफैले सम्हालिरहेकी छिन् । उनै दिपासँग जनचासोकर्मी अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो जन्म २०५५ साल माघ २ गते सुर्खेत वीरेन्द्रनगरको हटियालाईनमा भएको हो । बुवा श्यामबहादुर नेपाली र आमा जानकी नेपालीको कोखबाट जन्मिएकी हुँ । मेरो बाल्यकाल पनि सुखदमै बित्यो । बुबाआमाले निकै माया गर्नुहुन्थ्यो ।  मैंले इम्यानुएल बोर्डिङ स्कुलमा पढेकी हुँ । त्यहाँबाट पढ्दापढ्दै मलाई सुरुमा नै चित्र बनाउने, स्केचिङ गर्ने, कपडाको डिजाइन तयार पार्ने धेरै मन पथ्र्यो । बुवा आमाको संघर्षले नै आज म यहाँ छु ।
विद्यार्थी जीवनमा के बन्ने थियो ?
मेरो बाल्यकालमा यो बन्नुपर्छ भन्ने कुरा त थाहा थिएन । विद्यालयबाट घर पर्किएपछि साँझ बिहान यो सिलाई कटाई तालिम केन्द्रमा पनि एकाउन्टेन भएर काम गर्थेँ । बुवाले अनमी पढ् भन्नुभयो । त्यही सल्लाहमा मैंले पनि अनमी पढेँ । पारिवारीक कारणले बीचमै पढाइ छोड्नुप¥यो। पढाइ छुट्दा मन निकै भारी भएको थियो । तर बुबाको प्रेरणाले म आफैले केही गर्नुपर्छ भन्ने लाग्यो । सुरुमा एकाउन्टेन भएर काम गरेँ । पछि आफ्नै मनको चाहना अनुसार फेशन डिजाइनमा लागेँ ।
फेशन डिजाइनर बन्ने चाहना कसरी पलायो ?
बाल्यकालमै मलाई स्केचिङ र कपडाको डिजाइनिङ्गमा रुचि थियो । हामी त सिलाईसँग जोडिएको परिवेशमै हुर्कियौँ । हाम्रा बुबा–आमा आफैँ पनि यही पेशामा हुनुहुन्थ्यो । त्यसैले यो पेशाप्रति म भित्र एक गहिरो आकर्षण पलायो । मैंले सुरुमा तीन महिनाको कोर्स लिएँ । त्यसपछि त्यो बढाएर ६ महिनासम्म तालिम लिएँ ।

अहिले तपाईले नै तालिम दिनुभएको छ ?
हो अहिले मैंले सुर्खेतमा रहेर विकास सिलाई कटाई तालिम केन्द्रबाट तालिम दिने गरेकी छु । यो तालिम केन्द्रका रुपमा हामीले बुबा–आमाले सुरु गर्नु भएको पुरानो व्यवसायलाई निरन्तरता दिएका छौँ । यहाँ तीन महिनाको तालिम दिने गर्छौं । तालिममा सहभागीहरुलाई आवश्यक सामान, कपडा, सुईधागा, डिजाइनिङ सामग्री हामी आफैंले उपलब्ध गराउँछौँ ।
कसरी सेवा दिइरहनुभएको छ ?
हामीले तीन महिनाको तालिममा न्यून शुल्क लिन्छौँ । तालिम सकिएपछि धेरैले घरमै बसेर सिलाईको काम थाल्छन् । धेरैजसो महिला दिदीबहिनीहरू माथिल्लो कर्णाली क्षेत्रबाट आउनुहुन्छ । जुम्ला, हुम्ला, डोल्पा, रुकुमबाट आउनुहुन्छ ।
कमाईको हिसाबमा कत्तिको सन्तुष्ट हुनुहुन्छ?
कमाई त सिजन अनुसार घटबढ गर्छ । जाडो महिनामा चहलपहल बढी हुन्छ, गर्मी महिनामा ६०–७० हजारसम्म पुग्ने गर्छ । जाडो समयमा त एक लाखसम्म पनि पुग्छ । तर यो पेशा पैसाका लागि मात्र होइन, सीप र आत्मनिर्भरता विकासको लागि हो ।

व्यवसाय गर्दा अप्ठ्यारो पल कुन रह्यो?


सबैभदा पीडादायी कुरा भनेको बुवाआमा गुमाएर टुहुरो हँदाको पिडा बेग्लै भयो । आमाको मुत्यु २०७७ साल असोज १४ गते भयो । आमा बितेको तीन वर्षमै २०७९ सालको माघ १३ गते बुबा बित्नुभयो । त्यसपछि भएको सबै जिम्मेवारीले झन गाह्रो भयो । हामीलाई उहाँहरू बिना यो केन्द्र चलाउनु सबैभन्दा ठूलो चुनौती थियो । त्यो बेला बैंकले ऋण फिर्ता गर्न दबाब दिइरहेको थियो । मानिसहरू तालिमका लागि आउँथे । तर सबैले शुल्क तिर्न सक्दैनथे । अनि केही त झन् न तिर्दै, झूट बोल्दै गए । म आफैं असहाय महसुस गर्थेँ । बुबा–आमाको सपना र उहाँहरूले मलाई देखेको विश्वास मेरो सबैभन्दा ठूलो आधार बन्यो । मैले आँखा भित्रको आँसु पुछेर सिलाईको सुई उठाएको पिडाले मेरो मन खिन्न हुन्छ । अन्त कहाँ गएर दुःख गर्नुभन्दा आफैंले आफनो ठाउँमा काम गर्नु राम्रो हो भन्ने विचार ममा छ ।

कतैबाट अनुदान पाउनुभयो ?
अहिलेसम्म कुनै ठाउँबाट अनुदान पाएकी छैन । जतिपटक अनुदान बारे सुचना प्राप्त हुन्छ त्यति पटक प्रपोजल पेश गरेकी हुन्छु कहिल्यै नाम पर्दैन । सरकारले हामी जस्तो व्यवसायीलाई अनुदान नदिएर पार्टीका मान्छेलाई दिएको छ । यो कुराले निकै मन पोल्छ ।
भविष्यको योजना के छ ?
अब यो तालिम केन्द्रलाई अझै व्यवस्थित बनाएर धेरै महिलाहरूलाई स्वरोजगार बनाउने सपना छ । सिलाई मात्र होइन, डिजाइनिङ र मार्केटिङको तालिम पनि दिन सकिने बनाउने योजना छ । अर्को कुरा के छ भने कर्णालीका दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउनको लागि यो केन्द्रले थप सकेजतिको राम्रो सेवा दिनको लागि नयाँ योजना बनाइरहेकी छु ।
अन्त्यमा, के भन्नुहुन्छ ?
अन्त्यमा सीप बिना कुनै कुरा सम्भव छैन । सीप सिक्न लाजशरम मान्नु हुँदैन । घरमै बसेर पनि धेरै गर्न सकिन्छ । मलाई विश्वास छ । आफ्नो ठाउँमा बसेर आफ्नै सपनालाई साकार पार्न सकिने रहेछ भन्न चाहान्छु ।