अर्थमन्त्री र विपक्षी दलका नेताबीच भेटवार्ता

सुर्खेत: कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंह र नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलकैबीच भेटवार्ता भएको छ ।
बुधवार बिहान नेता कँडेलको निवासमै पुगेर अर्थमन्त्री सिंहले सदन र एमालेले संसद्का उठाएका विषयवस्तुबारे भेटघाट गरी छलफल गरेका थिए । मंगलबार नेकपा एमालेले विभिन्न विषय उठाउँदै सदन अवरुद्ध गरेको थियो ।
अवरुद्ध सदन सञ्चालन, बाढी, पहिरो, डुबानले पारेको समस्या, त्यसको समाधान र कर्णालीको हवाई उडानका विषयमा दुई नेताबीच महत्त्वपूर्ण छलफल भएको अर्थमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलकाक्रममा नेता कँडेलले जनप्रतिनिधिका रूपमा जनसरोकारका विषय आफूहरूले उठाएका थिए ।
‘त्यसलाई कसरी सम्बोधन गर्ने बाँकी काम सरकारको हो,’ कँडेललाई उदृत गर्दै मन्त्री सिंहको सचिवालयले भन्योे, ‘सरकार कसरी प्रस्तुत हुन्छ ? हामी त्यही अनुसार निर्णय गर्छौं ।’
हवाई उडानका विषयमा कर्णाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको छ । नेता कँडेलले मन्त्रालयले मात्र नभई संस्थागत रूपमा सरकारले क्याबिनेटबाट निर्णय गरी केन्द्र सरकारलाई अनुरोध गर्नुपर्ने बताए । यस्तै मुख्यमन्त्री राजकुमार शर्मा पनि सुर्खेत फर्किएका छन् । शर्मा बुधवार बिहान फर्किएका हुन् । मुख्यमन्त्री शर्मा र अर्थमन्त्री सिंहबीच पनि सदनको विषयमा छलफल भएको छ ।