बुवा पुरीचन्द्र शर्मा र आमा नानी शर्माको कोखबाट २०३९ साल असार २२ गते जुम्लाको सिंजा गाउँपालिका –३ मा जन्मिएका धनप्रसाद शर्मा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे आठौं तहको प्रमुख लेखा अधिकृत हुन् । उनको बुवा आमा किसान पेशामा भएकोले खाने अन्नको अभाव कहिले नभएपनि पठनपाठन गर्नका लागि पैसाको कुनै आयस्रोत थिएन । आर्थिक अवस्था कमजोर भएकोले विदाको समयमा भारतमा गलैचाको व्यापार गरेर कलेजको पैसा जोहो गर्थे । उनले निकै संघर्ष गरेर स्नातक र स्नाकोत्तर बाँकेकाे नेपालगञ्ज कलेजमा पुरा गरेका हुन् । उनले पढाइ पुरा गरेर जुम्लामै फर्किएपछि निजी स्राेतमा श्री मालिका निमावि खिच्चने स्कुलमा एक बर्ष र ६ बर्ष सम्म श्री मालिका मावि धापामा गणित विषयको अध्यापन गराए । दुःख संघर्ष गरेर २०७० सालमा सुब्बामा नाम निकालेपछि उनको निजामती यात्रा सुरु भयो । उनी हाल कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रमुख लेखा अधिकृत रुपमा कार्यरत सेवारत छन् । कमजोर आर्थिक अवस्थाबाट गुज्रिएर पनि उनी आफ्नै बलबुताले निजामती कर्मचारी बन्न पुगेका छन् । उनै शर्मासँग अंगराज परियारले गरेकाे संघर्ष र सफलताका कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल एकदमै संघर्षमा बित्यो । कक्षा १ देखि ३ सम्म पढेको विद्यालय श्री रोप्नी जनजागृति प्रावि रनुखाना, कक्षा ४ र ५ पढेको श्री प्रावि चुलेलगाउँ र कक्षा ६ देखि १० सम्म जुम्लाको नराकोट, सिजामा श्री भैरब माध्यमिक विद्यालयमा पढेको हुँ ।
विद्यालय जानका लागि करिब डेढ घण्टा हिँड्नपर्थ्याे । खान लाउनको लागि भएपनि काम गर्नुपर्ने । एउटा सामान्य किसानको परिवारमा जन्मिएकोले खाने अन्न उत्पादन भएपनि पैंसाको जोहो गर्न निकै संकट पर्थ्यो । अहिले जस्तो पनि बिजुली बत्ति पनि थिएन दियालो बालेर पढ्नपर्थ्याे । विद्यालयको पढाई भन्दा घरयासी वा खेतबारीको काममा बढी समय दिनुपर्थ्याे त्यसकारणले पढाइ राम्रो भएन । एसएलसी पास गरेपछि आइए र बिएड नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसबाट अध्ययन गरेको हुँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जविनमा शिक्षक बन्नुपर्छ भनेर सोचेको थिएँ । हजारौ विद्यार्थीको उज्वल भविश्य शिक्षकको हातमा भएकोले र मेरा गाउँमा पनि दुई जना जति स्थानीय शिक्षक भएकोले मास्टर दाजु, मास्टर काका भनेर बोलाउँदाको सान र मान्यता नै फरक भएको देख्दा मैले शिक्षक बन्ने सोच राखेको थिएँ । जुम्लाबाट नेपालगञ्जमा झरेपछि प्रविणता प्रमाण पत्र र स्नातक बाँके नेपालगञ्जको कलेजमा पुरा गरेँ । मैंले पढाइ पुरा गरेपछी करिब ६ बर्षपछि घर फर्किएपछि १ वर्ष निमाविमा निजी श्रोतमा र श्री मालिका माध्यमिक विद्यालय, धाँपा, सिजा, जुम्लामा राहत कोटामा ६ बर्ष सम्म माविमा गणित विषयको अध्यापन गराएँ । २०७० सालमा नायव सुब्बामा लोकसेवा नाम निस्कियो । अहिले निजामती बनेँ ।
निजामतिप्रति कसरी प्रेरित हुनुभयो ?
लोकसेवाको क्षेत्रमा हेर्ने हो भने खरिदारदेखि सहसचिव सम्म जुम्लाको माटोले जन्माएको छ । त्यो बेला गाउँमा लोकसेवा पास गरेर आएपछीको मान सम्मान ईज्जत र प्रतिष्ठाको महत्व नै बेग्लै हुँदा म निजामति प्रति प्रेरित भएँ । एक दिन बुबाले भन्नुभयो, “छोरा, स्थायी जागिर खा । खेतमा पानी हाल्न कुलो चाहिन्छ, जीवनमा प्रगती गर्न जागिर” चाहिन्छ भन्नुभयो । म निजामति सेवामा प्रवेश गर्नुमा आमा, बुबा, मेरो जीवन संगिनी र उपसचिव जीवन वहादुर भण्डारी सरको सहयोगले लोकसेवामा प्रवेश गर्ने इच्छा जाग्यो र तयारी सुरु गरें ।
निजामती सेवामा प्रवेश र अनुभव ?
म २०७० सालमा एकीकृत परीक्षा प्रणाली अनुसार नायब सुब्बाको परीक्षामा सफल भई नायब सुब्बाको रुपमा निजामती सेवामा प्रवेश गरेको हुँ। मैले पहिलो पाएको नियुक्ति डिभिजन सहकारी कार्यालय जुम्ला हो त्यसैगरी २०७२ सालमा काठमाडौंबाट लेखा अधिकृतको लिखित परीक्षाबाट नाम निस्किएको थियो । हालसम्म विभिन्न कार्यालयहरुमा सेवा गर्दै हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशमा प्रमुख लेखा अधिकृत ( लेखा अधिकृत आठौं तह ) पदमा सेवारत छु। जागीरका सिलसिलामा मैले संघीय सरकार र प्रदेश सरकार गरि दुबै तह अन्तरगतका विभिन्न निकायहरुमा रहेर काम गर्ने अवसर प्राप्त गरें। म मेरो जिम्मेवारीबाट खुशी छु । हालै मात्र कर्णाली प्रदेश लोक सेवा आयोगको आन्तरिक अन्तर प्रदेश सेवाको नवौं तहमा सिफारिस भएको थिए तर मैले नियुक्ति लिइन । अँझै अघि बढ्ने प्रयास गरिरहेको छु ।
निजामती बन्न गाह्रो कि सजिलो ?
गाह्रो त पर्छ । सजिलो भने पक्कै होइन । मेहनेत र प्रयास अनुशासन र लगन भए असम्भव भन्ने केहि छैन । पढ्नाले मात्र हुँदैन, बुझ्न पनि सक्नुपर्छ । पुराना प्रश्नपत्रलाई पनि नोट गर्नुपर्छ । समाचारमा आएका नयाँ कुराले पनि राम्रो ज्ञान दिने रहेछ । आफूलाई कमजोर ठान्यो भने त सफल हुन पनि सकिन्न । कसैले पनि जन्मजातै जानेको हुन्न । सिकाई र अभ्यास र अनुुभवले जान्ने कुरा हो । त्यसकारण निजामती बन्ने कुरा पनि गाह्रो बिषय होइन ।
चाँडो सरुवाले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
छिटो छिटो सरुवा हुनु नेपालको सार्वजनिक प्रशासनको एउटा रोग हो । उपयुक्त मान्छे उपयुुक्त ठाउँमा र अनुमान योग्य सरुवा र बढुवा भए राम्रो हुन्थ्यो । तर राजनीतिक पहुँच र पावरको भरमा सरुवा हुने भयो भने कर्मचारीमा न्यारोपनको सृजना हुन्छ । यसले गर्दा सेवा प्रवाह र व्यवस्थापनमा अन्यौलता सिर्जना गराउँछ । कुनै एउटा कार्यालयमा काममा अभ्यस्त हुन नपाउँदै अर्को कार्यालयमा सरुवा हुँदा कार्यदक्षतामा ह्रास आउनुका साथै कर्मचारीको उत्प्रेरणा र मनोबलमा समेत नकारात्मक असर पर्छ ।
सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म पुर्ण रुपमा सफल भएको ठान्छु । मेरो स्वमूल्यांकन अनुसार आफूले गरेको सेवा प्रवाहबाट सन्तुष्ट छु । अझ राम्रो गर्न सक्छु जस्तो लाग्छ । कहिलेकाँही कामका दौरानमा विशेष गरि ऐन कानुनले नमिल्ने काम पनि गरिदिनु प¥यो भन्ने खालका दबाब आउँछन । जसमा बील भुक्तानीका कुरामा प्रक्रिया पुरा नगरी काम छिटो गरिदिने कुराले ऐन कानुन भन्दा माथी भएर काम गर्न सकिन्न र यस्ता दबाब नदिन सेवाग्राहीप्रति आग्रह गर्दछु ।
निजामती जनअपेक्षामुखि बन्न कर्मचारीतन्त्रको विकल्प के रहन्छ ?
इमान्दारिता र निष्ठाको प्रवर्धन मार्फत निजामती सेवालाई जनमुखी बनाउन जरुरी छ । कर्मचारीतन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र नै हो । राजनितिक नेतृत्व, कर्मचारी, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, मिडिया र सेवाग्राहीको संयुक्त प्रयासबाट कर्मचारीतन्त्रलाई सुदृढ र सबल बनाउन सकिन्छ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
जस्तोसुकै कमजोर आर्थिक अवस्थाबाट गुज्रिए पनि घरमा राम्रो वातावरण निर्माण र आफुमा दृढ इच्छाशक्ति हुन सक्यो भने केहि प्रगती पथमा अघि बढ्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छु । त्यसका लागि जो लोकसेवा घोकिरहेका युवाहरुले निरन्तर प्रयास नयाँ नयाँ कुरामा फ्लो र निरन्तर मेहनत, धैर्यता, आँट र साहस गर्नुपर्छ यो देशमा नेपाल सरकारको निजामती बन्न समस्या छैन।
अंगराज परियार । २९ जेष्ठ २०८२, बुधबार ०९:२८