
सुर्खेत: कर्णाली प्रदेशमा ३८ प्रतिशत मतदानस्थल अतिसंवेदनशील रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समय तालिका तोकिएको छ । ९६१ ओटा मतदानस्थल रहेको कर्णालीमा ३६३ ओटा अतिसंवेदनशील, ४२९ ओटा संवेदनशील र १६९ ओटा सामान्य रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कणाली प्रदेश कार्यालयले तयार गरेको जिल्लाको पूर्वअवस्था विश्लेषणमा उल्लेख गरिएको छ ।
यसले ३८ प्रतिशत मतदानस्थल अति जोखिमयुक्त र ४५ प्रतिशत संवेदनशील रहेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए । कठिन भूगोल, राजनीतिक अस्थिरता, जेनजी आन्दोलनपछिको असन्तुष्टि, अपर्याप्त सुरक्षा तथा चिसो मौसमका कारण कर्णालीमा शान्तिपूर्ण निर्वाचनका लागि विशेष सुरक्षा तयारी आवश्यक रहेको प्रतिवेदनले औंल्याएको संयोजक सुवेदीले बताए ।
राजनीतिक परिवेश, सुरक्षा चुनौती, प्रशासनिक तयारी र मतदाताको अवस्थाका आधारमा तयार भएको प्रतिवेदनअनुसार प्रदेशभरका झण्डै ८३ प्रतिशत मतदानस्थल सामान्यभन्दा बढी जोखिमयुक्त रहेका छन् ।
सुर्खेतमा २ प्रतिनिधि सभा क्षेत्रमा १३८ ओटा मतदानस्थल रहेका छन् । तीमध्ये २० अतिसंवेदनशील, ८५ संवेदनशील र ३४ सामान्य छन् । २०७९ को तथ्याङ्क अनुसार यहाँ २ लाख ४४ हजार ७१४ मतदाता छन् । जेनजी युवाहरूको आन्दोलन, राजनीतिक र्यालीमा झडपको सम्भावना र भारत रोजगारी जाने युवाको कारण मतदानमा सहभागिता घट्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यहाँ उच्च राजनीतिक प्रतिस्पर्धा र भीड व्यवस्थापन चुनौती रहेको औंल्याइएको छ ।
दैलेखमा २ निर्वाचन क्षेत्रमा १३९ मतदानस्थलमध्ये ४६ अतिसंवेदनशील, ६८ संवेदनशील र २५ सामान्य छन् । स्थानीय राजनीतिक द्वन्द्व, मतदान केन्द्रसम्म पुग्ने कठिनाइ, मतदाता शिक्षाको अभाव र स्थानीय नेतृत्वको प्रभाव चुनावमा चुनौतीका रूपमा देखिएका छन् । यहाँ भूगोल र राजनीतिक प्रभावको जोखिम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कालिकोटमा १ प्रतिनिधि सभा निर्वाचन केन्द्र छ । यहाँ १०३ मतदानस्थल छन् । जसमध्ये ७४ अतिसंवेदनशील, २८ संवेदनशील र २ सामान्य मतदानस्थल छन् । द्वन्द्वकालीन प्रभाव र भौगोलिक कठिनाइका कारण मतदान सामग्री ढुवानी र सुरक्षामा समस्या देखिएको छ ।
जुम्लामा ८३ मतदानस्थलमध्ये ६३ अतिसंवेदनशील, २४ संवेदनशील र २१ सामान्य छन् । जेनजी आन्दोलनपछि फरार १० कैदीबन्दी सुरक्षा चुनौतीका रूपमा छन् । हिमपात, चिसो र संचार अवरोधले निर्वाचनमा जोखिम बढाएको छ ।
मुगुमा ६४ मतदानस्थलमध्ये ३० अतिसंवेदनशील, २० संवेदनशील र १६ सामान्य छन् । हिउँदे सिजन, बसाइ–सराइ, रोजगारीका लागि भारत गएका युवाले निर्वाचनमा सहभागी हुन नसक्ने, संचार र यातायात अभाव प्रमुख समस्या देखिएका छन् ।
हुम्लामा ६० मतदानस्थलमध्ये २७ अतिसंवेदनशील, २१ संवेदनशील र १० सामान्य छन् । चीन सीमासँग जोडिएका मतदानस्थलका कारण विशेष सुरक्षा योजना आवश्यक देखिएको छ । सामग्री ढुवानीका लागि हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था छ ।
डोल्पामा ६६ मतदानस्थलमध्ये २३ अतिसंवेदनशील, २६ संवेदनशील र १७ सामान्य छन् । हिउँदको चिसो, यातायात समस्या र बस्ती विखण्डित भएकाले मतदान केन्द्रसम्म मतदाता पुग्न कठिनाइ हुने प्रतिवेदनले उल्लेख गरेको छ ।
रुकुम पश्चिममा ७६ मतदानस्थलमा २१ अतिसंवेदनशील, ४३ संवेदनशील र १२ सामान्य छन् । पूर्व माओवादी समूहभित्रको प्रतिस्पर्धा, जनार्दन शर्मा पक्षका कारण सम्भावित झडप र जेनजी आन्दोलनमा फरार १६ कैदी सुरक्षाको मुख्य चुनौती छन् । जाजरकोटमा ८५ मतदानस्थलमध्ये १६ अतिसंवेदनशील, ५७ संवेदनशील र १५ सामान्य छन् । भूकम्पपछिको पुनर्निर्माणका कारण मतदातामा निर्वाचनप्रति रुचि न्यून देखिएको छ । भूगोल र पहुँच समस्याले पनि व्यवस्थापनमा चुनौती थपिएको छ । सल्यानमा ११७ मतदानस्थलमध्ये ४३ अतिसंवेदनशील, ५७ संवेदनशील र १७ सामान्य छन् । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिको पहुँच समस्या र मतदाता शिक्षाको कमजोरी मुख्य चुनौतीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्णालीमा १२ ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई ओटा र अन्य जिल्लामा एक–एक ओटा निर्वाचन क्षेत्र रहेका छन् ।
कर्णालीका अधिकांश मतदानस्थल जोखिमयुक्त देखिएकाले सुरक्षा संयोजन, प्रशासनिक तयारी, सामग्री ढुवानी, मतदाता शिक्षा र राजनीतिक दलबीच सहकार्य अपरिहार्य देखिन्छ । हिउँद, बसाइ–सराइ, जेनजी आन्दोलनपछिको असन्तुष्टि, अवैध हतियार, राजनीतिक प्रतिस्पर्धा तथा संचार अवरोध निर्वाचनका प्रमुख चुनौती हुन् । निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता संख्या, मतदानस्थल र केन्द्रको तथ्यांक अद्यावधिक भएपछि थप विवरण सार्वजनिक गरिनेछ ।

जगतदल जनाला विक । २२ मंसिर २०८२, आईतवार ०९:५०