ललिता विश्वकर्मा ओड
सुर्खेत: र्पूर्वी रुकुमको भुमे गाउँपालिका–१ लुकुममा विवाह गर्छु भन्दै एक युवतीलाई जबरजस्ती तानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।
जबरजस्ती गरिएको घटनामा गम्भिर ध्यानाकर्षण भएको भन्दै बाल विवाहविरुद्ध साझा अभियान संजाल कर्णाली प्रदेशले युवती माथि जबरजस्ती गर्ने युवकहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ ।
नेपालमा बाल विवाहका घटनाहरु अंझै विद्यमान रहेका थुप्रै घटनाहरु आउने गरेका छन् । तर, पूर्वि रुकुममा फरक खालको घटना बाहिरिएको छ । पुर्वी रुकुममा एकजना युवतीलाई विहे गर्छु भन्दै चार-पाँच जना युवाले जबरजस्ती तानेको घटनाले सामाजिक सञ्जाल तातिएपछि सञ्जालले विज्ञप्ती जारी गरी कारवाहीको माग गरेको हो ।
भिडियोमा युवतिले ति युवाहरुबाट उम्किन प्रयास गरेको देखिन्छ, भने युवाहरुले जबरजस्ती अमानविय व्यवहार गरेको प्रष्ट देख्न सकिन्छ ।
२१ औं शताव्दीमा यस्ता अमानविय घटना घट्नुले नेपाली सामाजमा सहजै महिलाको अवस्था कस्तो छ भनेर बुझ्न सकिने बालविवाह विरुद्ध साझा अभियान कर्णाली प्रदेश संयोजक पवित्रा शाहीले बताइन् ।
यो घटनाले झन् बालविवाह गर्नलाई उक्साएको र कानुनी कारवाही नगरे कर्णालीका अधिकारकर्मीहरु राज्यका विरुद्ध उत्रने सञ्जाल सुर्खेतकी जिल्ला संयोजक ममता नगालको भनाई छ ।
संजालले कर्णाली प्रदेशमा दुई बर्षदेखि बाल विवाह विरुद्ध काम गर्दै आएको छ । कर्णालीमा बालअधिकार, मानव अधिकार र लैङ्गिक हिंसाविरुद्ध काम गर्दै आइरहेका संस्था, संजाल र समुहसँग मिलेर संजालले बालविवाह र बाल संरक्षणका क्षेत्रमा तथ्यगत तथा नीतिगत रुपमा वकालत गर्दै आइरहेको छ ।
खुलानजर । ३० श्रावण २०८०, मंगलवार २२:३३