बुवा नन्दलाल चुनारा र आमा पद्मा चुनाराको सातौं सन्तानका रुपमा २०४२ पुस १७ गते साविकको सुर्खेत जिल्ला जर्वुटा गाउँ विकास समिति -३ आफर भन्ने ठाउँमा जन्मिएका हेमन्त चुनारा सात भाई बहिनीमध्ये कान्छो सन्तान हुन् । २०६२ साल फागुन २७ गते वैवाहिक जीवनमा बाँधिएका चुनाराकी श्रीमती कृष्णा बिक हाल पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा अधिकृत छैठौं पदमा कार्यरत छन् । २०६६ सालमा जुम्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट सरकारी सेवाको यात्रा प्रारम्भ शुरु गरेका हेमन्त हाल श्रम तथा रोजगार कार्यालय सुर्खेतमा श्रम अधिकृतमा कार्यरत छन् । उनै चुनारासँग अंगराज परियारले गरेको संघर्ष र सफलतका कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल सामान्य परिवारमा बित्यो । चार दिदी र तीन दाजुभाइमध्ये म सबैभन्दा कान्छो हुँ । बाबु किसान भए पनि शिक्षा, विद्यालय, र सामाजिक कार्यमा निकै सक्रिय हुनुहुन्थ्यो । मेरो पहिलो विश्वविद्यालय नै मेरा बाबुआमा हुन् । मैले अध्ययन गरेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुँदा बाबुले आधारभूत विद्यालयको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । बुबा नपढेलेखेका हुनुहुँदाहुँदै पनि उहाँले शिक्षा र यसको महत्वलाई राम्ररी बुझ्नुभएको थियो । त्यसैले अनेकौं चुनौती सामना गर्दै पनि हाम्रा सबै दाजुभाइ–दिदीबहिनीलाई पढाउनुभयो, जुन हाम्रो लागि गर्वको विषय हो ।
मेरो शिक्षाको यात्रा अविस्मरणीय रह्यो । मैले निम्न माध्यमिक तहसम्मको अध्ययन साविक जर्वुटा गाउँ विकास समिति–४, करेखोलास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गरें । आठ कक्षाको जिल्ला स्तरीय परीक्षामा द्वितीय स्थान हासिल गरेको थिएँ । माध्यमिक तहका लागि अमरज्योति उच्च माध्यमिक विद्यालय, नेवारेसम्म दैनिक एक घण्टा हिँड्नुपथ्र्यो, जसले पढाइलाई अलि कठिन बनायो । २०५८ सालमा एसएलसी उत्तीर्ण गरें । उच्च शिक्षा प्रमाणपत्र तह श्रीकृष्ण संस्कृत उच्च माध्यमिक विद्यालय, इत्रामबाट गणित विषयमा पूरा गरें । स्नातक जनसंख्या शास्त्रबाट सुर्खेत क्याम्पसमा र स्नातकोत्तर समाजशास्त्रमा मध्यपश्चिम विश्वविद्यालयबाट पूरा गरें ।
विद्यार्थी जीवनको लक्ष्य के थियो ?
सानैदेखि पढ्न र पढाउन रुचि राख्ने व्यक्ति थिएँ । एसएलसी परीक्षा दिएपछि विद्यालय गएर शिक्षक अनुपस्थित भएको बेला वा खाली समयमा विद्यार्थीहरूलाई पढाउने गर्थें । गाउँघरका भाइबहिनीलाई जम्मा गरेर सिकाउने मेरो ठूलो रहर थियो । शिक्षण पेशाप्रति गहिरो लगाव थियो, जसका कारण करिब पाँच वर्षसम्म बोर्डिङ स्कुलमा प्रिन्सिपल भएर अध्यापन गरें। जसरी हुन्छ जागिर खानपर्छ भन्ने उद्देश्य थियो ।
निजामती सेवामा आउन कुन कुराले प्रेरित गर्यो ?
मेरो परिवारका सदस्यहरू फुपू र पुसाइहरूले मलाई मालपोत वा जिल्ला प्रशासन कार्यालय जस्ता ठाउँमा जागिर खानुपर्छ भनेर प्रेरित गर्नुहुन्थ्यो । त्यो बेला मैले खासै चासो दिएको थिइनँ । तर, आदरणीय गुरु नरबहादुर घर्ती मगर सरले “तिमी लगनशील छौ, लोकसेवा तयारी गर, आवश्यक किताबहरू म उपलब्ध गराइदिन्छु“ भन्दै होस्टेमा होस्टे गर्नुभयो । उहाँकै प्रेरणाले मैले लोकसेवा पास गर्ने अठोट गरेँ । गाउँमा कतिले प्रहरीमा, कतिले आर्मीमा जागिर खान्थे। मैले निजामती सेवामा गएर योगदान दिने सोच बनाएँ र सोही अनुसार मेहनत गरें ।
सरकारी सेवामा आउनुपूर्वको संघर्ष कस्तो रह्यो?
आर्थिक रूपमा सबल नभएकाले लोकसेवा तयारी सहज थिएन। पुस्तक किन्नेदेखि कक्षा लिने खर्चसमेत व्यवस्थापन गर्न गाह्रो थियो। तर, मैले हार मानिनँ। निरन्तर प्रयास गरेँ, अध्ययनमा कुनै कसर बाँकी राखिनँ, अन्ततः लोकसेवा पास गर्न सफल भएँ ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभव ?
२०६६ सालमा लोकसेवा आयोग दिपायलबाट खरिदारमा नाम निस्कियो । २०६६ साल साउन २० गते मलाई अछामको वारला गा.वि.समा सचिवका रुपमा रहेर काम गरें । लगत्तै २०६६ साल मंसिर २७ गते लोकसेवा आयोग सुर्खेतबाट नायव सुब्बाा पदमा सिफारिस भई खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय जुम्लामा रहेर काम गरें । निजामती सेवामा प्रवेश गरेपछि २०६७ सालमा नेपाल निजामती कर्मचारी संगठनको सदस्यता लिई २०६७ सालमा नेपाल निजामती कर्मचारी संगठन जुम्लाको सहसचिव भएको एक कार्याकाल पुरा गरेपछी निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा निर्वाचित भएँ । हाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्य छु । सोही समयमा मेरो श्रीमती कृष्णा बिकले पनि २०६७ मंसिर २८ गतेका दिन लोकसेवा आयोग सुर्खेतबाट नायव सुब्बामा पास भईन् ।
दुई जना सरकारी सेवामा प्रवेश गर्दाे कस्तो प्रतिक्रिया पाउनुभयो ?
हाम्रो परिवारबाट दुई जना सरकारी सेवामा प्रवेश गर्नु सामान्य उपलब्धि मात्र थिएन, यो समाजका लागि पनि प्रेरणादायी विषय बन्यो । विशेष गरी ग्रामीण भेगमा, जहाँ शिक्षाको पहुँच सीमित छ, एउटै परिवारका दुवै सदस्यले सरकारी सेवा हासिल गर्नु निकै ठूलो कुरा मानिन्थ्यो ।
जब म लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेँ, धेरैले बधाई दिए, प्रशंसा गरे, र प्रेरित भएँ । त्यसपछि श्रीमती कृष्णा बिकले पनि नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेपछि समाजको प्रतिक्रिया झन् सकारात्मक रह्यो । धेरैले एकै परिवारका दुवै जना सरकारी जागिरे हुनु दुर्लभ कुरा हो भन्दै हर्ष व्यक्त गरे ।
तर, केही मानिसहरू आलोचना गर्न पनि पछि परेनन् ।कतिपयले सरकारी जागिर पाउन सजिलो हुँदैन, केही सिफारिस वा विशेष पहुँच भएको हुनुपर्छ भन्ने जस्ता टिप्पणी गरे । यद्यपि, हाम्रो सफलता मेहनत, लगनशीलता, र निरन्तर प्रयत्नकै परिणाम थियो भन्ने कुरालाई समयले प्रमाणित गरिदियो ।
सबैभन्दा ठूलो कुरा, हाम्रो सफलताले हाम्रो गाउँ, परिवार, र समाजलाई शिक्षाप्रति अझ बढी प्रेरित ग¥यो । आज, कतिपय युवा हाम्रो संघर्ष र उपलब्धिलाई उदाहरण मान्दै सरकारी सेवाको तयारी गरिरहेका छन्, जुन हाम्रो लागि गर्वको विषय हो ।
परिवार दीक्षित यात्रामा एकअर्काको साथ कत्तिको महत्वपूर्ण रह्यो?
हाम्रो वैवाहिक जीवन केवल पारिवारिक सम्बन्धमा सीमित छैन, यो एकअर्कालाई हौसला दिने, प्रेरित गर्ने र लक्ष्य प्राप्तिको यात्रामा साथ दिने सहयात्रा पनि हो । २०६२ साल फागुन २७ गते वैवाहिक जीवनमा बाँधिएपछि हाम्रो यात्रा थप जिम्मेवारीपूर्ण बन्यो । शिक्षा, करियर, र पारिवारिक व्यवस्थापनलाई सन्तुलनमा राख्न दुवै जनाले समान योगदान दियौँ ।
२०६७ सालमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेकी मेरो श्रीमती कृष्णा बिक हाल पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा अधिकृत छैठौं पदमा कार्यरत छन् । जब म लोकसेवा तयारीमा थिएँ, उहाँले मलाई निरन्तर प्रोत्साहित गर्नुभयो । अध्ययनका लागि समय निकाल्न सहयोग गर्नु, आत्मबल बढाउनु, र मानसिक रूपमा सधैं मजबुत बनाउन उहाँको भूमिका निकै महत्वपूर्ण रह्यो । त्यसैगरी, जब उहाँले आफ्नो अध्ययन र पेशागत यात्रा अगाडि बढाउन चाहनुभयो, मैले पनि उहाँलाई सकेसम्म सहयोग गर्ने प्रयास गरें । हामी दुवैले सँगै संघर्ष ग¥यौं, एकअर्काको सपना पूरा गर्न मद्दत ग¥यौं, र सफलता हासिल ग¥यौं । आज हामी दुबै जना शिक्षित परिवारका रूपमा परिचित छौँ, जसको श्रेय हाम्रो आपसी समझदारी, मेहनत, र एकअर्कालाई सधैं साथ दिने प्रतिबद्धतालाई जान्छ । जीवनको हरेक मोडमा एकअर्काको बलियो सहारा बनेर अगाडि बढ्नु नै हाम्रो सफलताको प्रमुख आधार हो ।
पारिवारिक जीवन र पेशागत जिम्मेवारीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पारिवारिक जीवन र पेशागत जिम्मेवारीलाई सन्तुलनमा राख्नु चुनौतीपूर्ण हुन्छ, तर आपसी समझदारी, समय व्यवस्थापन, र सही प्राथमिकताहरू निर्धारण गर्न सकियो भने सहज बन्छ ।
सरकारी सेवामा कार्यरत हुँदा व्यस्त दिनचर्या स्वाभाविक हुन्छ । कार्यालयका जिम्मेवारी पूरा गर्नु, सेवा प्रवाहमा ध्यान दिनु, र व्यावसायिक क्षमताको विकास गर्नु आवश्यक पर्छ । तर, यससँगै परिवारलाई समय दिनु, सम्बन्धलाई मजबुत बनाउनु, र सन्तानको उचित हेरचाह गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
हामी दुवै सरकारी सेवामा भएकाले पारिवारिक जिम्मेवारी साझा रूपमा निर्वाह गर्छौं । कामको व्यस्तताका बीच परिवारलाई प्राथमिकता दिने प्रयास गर्छौं । घरको वातावरण सन्तुलित राख्न खुलेर कुराकानी गर्ने, एकअर्कालाई सहयोग गर्ने, र हरेक महत्वपूर्ण निर्णय साझा छलफल गरेर लिने हाम्रो अभ्यास हो ।
छुट्टीका दिनहरू, साँझपखको समय, र विशेष अवसरहरू परिवारसँग बिताउन प्रयास गर्छौं। साथै, व्यावसायिक जीवनमा सफलता पाए पनि पारिवारिक सम्बन्धलाई उपेक्षा नगरिने कुरामा हामी सचेत छौं । सन्तुलनको प्रमुख आधार आपसी विश्वास, समझदारी, र सहकार्य हो। हामी दुवैले एकअर्काको जिम्मेवारी बुझ्छौं, आवश्यक परेको बेला सहयोग गर्छौं, र परिवार तथा पेशा दुवैमा सन्तुलन राख्दै अगाडि बढिरहेका छौं ।
श्रम अधिकृतका रूपमा अहिलेसम्म भोगेका मुख्य चुनौतीहरू ?
श्रम अधिकृतका रूपमा कार्य गर्दै जाँदा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ । रोजगारीका अवसरहरू सीमित हुँदा श्रमिकहरूको अपेक्षा र वास्तविकताबीच अन्तर रहन्छ । श्रमिकहरूलाई सुरक्षित र मर्यादित वैदेशिक रोजगारमा पठाउने प्रक्रिया चुनौतीपूर्ण छ । श्रमिक अधिकारको रक्षा गर्दै श्रम कानुनको पूर्ण कार्यान्वयन गराउन कठिनाइहरू छन् । रोजगार प्रवद्र्धन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहसँग समन्वय आवश्यक पर्छ, जुन सधैं सहज हुँदैन । वैदेशिक रोजगारीमा ठगिने श्रमिकहरूको न्याय दिलाउने प्रक्रिया जटिल र समयसापेक्ष छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकअधिकार सुनिश्चित गराउन चुनौतिपूर्ण छ ।
सेवाग्राहीहरुको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राहीहरूको समस्या समाधान गर्न सक्दो प्रयास गरिरहेको छु। श्रमिकहरूको हकअधिकार सुनिश्चित गर्दै रोजगारी, श्रम कानुन कार्यान्वयन, वैदेशिक रोजगार व्यवस्थापन, र श्रमिक शोषण नियन्त्रणमा सक्दो पहल गरेको छु ।
धेरै सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्, समस्याहरू समाधान भएका छन्, र उचित परामर्श प्राप्त गरेका छन् । तर, अझै सुधारका अवसरहरू छन्। सीमित स्रोतसाधन र प्रक्रियागत जटिलताका कारण केही चुनौतीहरू रहिरहे पनि, निष्पक्ष सेवा प्रवाहमार्फत श्रमिकहरूको हितमा काम गरिरहेको छु ।
भावी योजना के छन् ?
आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउँदै श्रमिकहरूको हकअधिकार संरक्षणमा योगदान दिने योजना छ । विशेष गरी, श्रम बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने, वैदेशिक रोजगार सुरक्षित बनाउने, श्रमिक शोषण न्यूनीकरण गर्ने, तथा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छु ।
साथै, प्रविधि प्रयोगमार्फत सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्ने, श्रमिकहरूको सीप अभिवृद्धि गर्ने, र श्रम सम्बन्ध सुधार्न नीतिगत सुधारको पक्षमा काम गर्ने योजना रहेको छ ।
खुलानजर । २८ फाल्गुन २०८१, बुधबार १२:३५