महिला कैदीबन्दीलाई ‘ब्युटिसियन’ तालिम

सुर्खेत: जिल्ला कारागार सुर्खेतमा रहेका महिला कैदीबन्दीहरुलाई ‘ब्युटिसियन’ तालिम दिइएको छ । कारागारमा रहेका महिला कैदीबन्दीहरुको सिप विकासलाई मध्यनजर गर्दै नेपाल नाजरेत सोसाइटीको सहयोग, नवज्योति केन्द्र सुर्खेतको आयोजना र कारागार कार्यालय सुर्खेतको समन्वयमा तालिम दिइएको छ ।
तीन महिने तालिम अन्तर्गत पहिलो चरणमा ११ जना र चरणवद्ध रुपमा सबै महिलाहरुलाई तालिम दिइने नवज्योति केन्द्र सुर्खेतकी निर्देशक सिस्टर रोसिटाले जानकारी दिइन् । ‘कारागारमा रहेका महिलाहरुलाई सिप विकासको आवश्यकता परेको छ भन्ने कुरा उहाँहरुले हामीलाई माग गर्नुभयो । सोही अनुसार हामीले नाजरेत सोसाइटीसँग समन्वय गरेर तालिमको सुरुवात गरेका छौं,’उनले भनिन् ।


उनका अनुसार कारगारमा रहेका सबै महिलाहरुलाई तीन महिने तालिम दिइनेछ । अहिले सुर्खेत कारगारमा कैदी र थुनुवा गरी ४१ जना महिला छन् । मंगलबार तालिमको उद्घाटन गर्दै अधिवक्ता गिता कोइरालाले कारागार बन्दी र थुनुवा गृह मात्रै नभएर एक सुधार गृह समेत रहेको बताइन् ।
‘कारागार एक बन्दी र थुनुवा गृह मात्रै होइन एउटा सुधार गृह पनि हो । यहाँ सिकेको सिपले उनीहरुलाई जिविकोपार्जन गर्न सहज हुनेछ,’अधिवक्ता कोइरालाले भनिन्, ‘महिला दिदीबहिनीहरुले दत्तचित्त भएर सिप सिक्नुस् ।’ आगामी दिनमा पनि कारागारमा रहेका पुरुष र महिला कैदीबन्दीहरुका लागि सिलाई कटाई तालिमको लागि सहयोगी संस्थाहरुसँग समन्वय भइरहेको अधिवक्ता कोइरालाले बताइन् । उनका अनुसार हप्तामा एक घण्टा कारागारमा कानुनी सचेतना समेत दिइनेछ । कारागार कार्यालय सुर्खेतकी प्रशासक लक्ष्मी खरेलले यस्ता कार्यक्रमहरुले उनीहरुको सिप विकास हुनुका साथै मानसिक रुपमा पनि स्वस्थ रहने बताइन् ।
उनीहरुलाई तीन महिनासम्म प्रशिक्षक रितु परियारले सिप सिकाउनेछिन् । ‘ब्युटिसियन’ तालिममा उनीहरुले फेसियल, क्लिजेल, भ्रेडिङ, क्लेजिङ, कपाल स्टेट, म्यानिकेयर (मसाज), पेनिकेयर, टाउको मसाज, ट्रिटमेण्ट, दुलही सिंगार, हेयर कटिङ्ग, मेहन्दी र कपाल हाइलाइट्स सम्बन्धी सिपहरु सिक्ने नवज्योति केन्द्र सुर्खेतकी सुपरभाइजर जरमायाँ बाठाले जानकारी दिइन् । तालिम सिकेर कारागारबाट समुदायमा फर्किसकेपछि त्यसलाई दैनिक जीवनमा प्रयोग गर्न सहज भएको भन्दै सहयोग र आयोजक संस्थालाई उनीहरुले धन्यवाद समेत दिएका छन् । उद्घाटन कार्यक्रममा नवज्योति केन्द्रकी देवि कार्की, सिलाईकटाई प्रशिक्षक देबा राई लगायतको उपस्थिति रहेको थियो ।