टोल विकास संस्थालाई सक्षम बनाउन अनुरोध

सुर्खेत: टोल विकास संस्थाका पदाधिकारीहरुले टोल विकास संस्थालाई सक्षम बनाउन अनुरोध गरेका छन् । शुक्रवार द एसिया फाउन्डेसन र अष्ट्रेलियन एडकाे आर्थिक सहयाेग, सहकर्मी समाजको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा समावेशी र जवाफदेही स्वास्थ्य सेवा सम्बन्धी नगर स्तरीय अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो अनुरोध गरेका हुन् । वीरेन्द्रनगर वडा नम्बर १२स्थित प्रगतिशिल टोल विकास संस्थाका अध्याक्ष चन्द्रप्रसाद जैसीले टोल विकास संस्था समाजको मुख्य सुत्रधार भएकोले यसको विकासमा नगरले नीति तथा कार्यक्र ल्याएर अगाडी बढ्नुपर्ने बताए ।
‘हामीले टोल विकास संस्थाको नेतृत्व गरिरहँदा विभिन्न खालका समस्या आउँछन् । त्यसको समाधानका लागि हाम्रो बलबुताले भ्याउँदैन,’उनले भने, ‘टोलमा अझैपनि सिटामोल लिन प्रदेश अस्पताल जानुपर्ने बाध्यता छ । त्यस्ता समस्या समाधान गर्न टोल विकासको अनुरोधमा स्वास्थ्यकर्मी वडासम्म लिनुपर्छ ।’ नगरबाट हुने नीति तथा कार्यक्रमको जानकारी टोल विकासलाई हनुपर्ने अध्यक्ष जैसीको भनाई छ ।
त्यस्तै वीरेन्द्रनगर—३ का टोल विकास समिति अध्यक्ष हरिलाल खत्रीले नगरबाट दिइने सेवासुविधाको हकअधिकार टोल विकास संस्थालाई दिनुपर्ने बताए ।
टोलका समस्यामा टोल विकास समितिको महत्वपुर्ण भूमिका रहेको भन्दै यसलाई सवल र सक्षम बनाउन आवश्यक रहेको अध्यक्ष खत्रीको भनाई छ ।  कार्यक्रममा १६ वटै वडा भित्रका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले टोलमा देखिएका शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका समस्या बारे नगरप्रमुख मोहनमाया ढकाललाई सुनाएका थिए ।
छलफलमा उठेको विषयवस्तुमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले लोकतन्त्र र विकासको जग टोल विकास संस्था भएकोले जवाफदेहि र उत्तरदायि ढंगबाट टोल विकासका नेतृत्वहरुले काम गर्नुपर्नेमा जोड दिइन् ।


प्रमुख ढकालले वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा एसिया फाण्डेसन, अष्ट्रेलियन एड र सहकर्मी समाजले नगरका १६ वटै वडाभित्र रहेका टोल विकास संस्थालाई मध्यनजर गर्दै ‘स्थानीय सरकार सवलीकरण’ परियोजना लागू गरिएको बताइन् ।
‘टोल विकास संस्थाले संघीय शासन प्रणालीलाई कसरी बुझेका छन् ? भन्ने विषय थाहा पाउनका लागि ८ महिना अघि विकास साझेदारहरुसँगको सहकार्यमा नगरपालिकाले स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम तयार पारी लागु गरेको छ,’नगर प्रमुख ढकालले भनिन्, ‘तपाईहरु जिम्मेवार र सक्रिय भएर लाग्नुस् ।’
टोल विकास संस्था संचालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी टोल विकास संस्था गठनको प्रक्रिया अगाडि बढेकोले काम गर्न टोल विकासलाई काम गर्न असज नहुने प्रमुख ढकालले बताइन् ।
वडामा आउने हरेक योजनाको सही सदुपयोग, प्रभावकारी अनुगमन तथा सुशासनको प्रत्याभुतिमा टोल विकास समितिको महत्वपूर्ण भुमिका रहने ढकालले बताइन ।
कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिदै नगर प्रमुख ढकालले नगरपालिकाले आधारभुत आवश्यकताहरुमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखकाले नागरिकको स्वास्थ्यमा प्रतिवद्ध रहेको बताइन ।
कार्यक्रममा वीरेन्द्रनगरको स्वास्थ्य अवस्था र सामुदायिक अंक पत्र सहकर्मी समाजकी कृष्णा गाहाले गरेकी थिइन् । त्यस्तै नगरको स्वास्थ्य शाखाले समेत नगरको स्वास्थ्यको वर्तमान अवस्था र लक्ष्यका विषयमा प्रस्तुतीकरण गरको थिए ।
स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम मार्फत वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सहकर्मी समाजले वीरेन्द्रनगरका १६ वटै वडामा स्थानीय टोल विकास संस्था गठन गरेर सुशासनका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।