शिक्षा,संस्कृति र समाजको अन्तरसम्वन्ध

स्नेहा उपाध्याय
नेपाल, विविधतामा एकता झल्काउने एउटा यस्तो देश हो, जहाँ विभिन्न जातजाति, भाषा, परम्परा, र संस्कृतिहरू एकसाथ बाँचिरहेका छन्। हाम्रो देशले शताब्दीयौं पुरानो सांस्कृतिक धरोहरलाई जोगाउँदै आएको छ। हाम्रा पर्वहरू, चाडहरू, मठमन्दिरहरू, र सांस्कृतिक परम्पराहरूले हाम्रो जीवनशैली र आचरणमा गहिरो प्रभाव पारेका छन्। संस्कृतिले नेपाली समाजलाई एकताबद्ध बनाएको छ भने शिक्षाले समाजलाई प्रगतिको दिशामा अगाडि बढाएको छ। समाज भनेको एउटा यस्तो प्रणाली हो, जहाँ हरेक व्यक्ति र समूहको आचरण र कर्तव्य समाजको समुन्नतिका लागि प्रतिबद्ध हुन्छ।

संस्कृति र समाज
संस्कृति भनेको हाम्रो जीवनशैलीको प्रतिबिम्ब हो। भाषा, धर्म, परम्परा, चाडपर्व, वेशभूषा, र रीति(रिवाजहरू मिलेर संस्कृति बन्छ। नेपाली समाजको विशेषता भनेकै यसको सांस्कृतिक विविधता हो। यहाँ नेवार, तामाङ, गुरुङ, मगर, थारू, मधेसी, राई, लिम्बू, शेर्पा लगायतका थुप्रै समुदायले आ(आफ्ना विशिष्ट संस्कृतिहरूलाई जोगाएर राखेका छन्। दशैं, तिहार, चैतेदसैं, छठ, माघे संक्रान्ति जस्ता चाडहरू, जसले सबै नेपालीलाई एकसाथ ल्याउँछ, हाम्रा संस्कृति र समाजलाई अझ नजिक बनाउने माध्यम हुन्। नेपाली समाजमा यसरी विविधतामा एकताको भावना बलियो बनाइएको छ, जसले गर्दा हामी एक अर्कासँग घुलमिल भएर बाँच्न सक्छौं।

शिक्षा र संस्कार
शिक्षा भनेको मानवलाई चेतनशील बनाउने माध्यम हो। हाम्रो समाजमा शिक्षाको मुख्य भूमिका भनेको एक शिक्षित र सचेत नागरिक निर्माण गर्नु हो। शिक्षाले नकारात्मक संस्कार र कुरीतिहरूलाई हटाउन मद्दत गर्छ। विद्यालय तथा उच्च शिक्षाले मात्र होइन, घरपरिवार, समाज, तथा संस्कृति पनि शिक्षाको अंश हो। खासगरी ग्रामीण क्षेत्रमा, जसले परम्परागत शिक्षालाई अझै महत्व दिएको छ, बालबालिकाहरूको सामाजिक(आर्थिक परिस्थिति शिक्षामा प्रत्यक्ष असर पुर्याीउँछ।
नेपाली समाजमा शिक्षा विस्तार हुँदै जाँदा हाम्रा युवाहरूमा आधुनिक सोच, नवीनता, र सुधारको भावना विकसित हुँदै गएको छ। विद्यालयको शिक्षा मात्र नभएर संस्कारका माध्यमबाट पनि हाम्रो समाजले शिक्षाको उद्देश्यलाई पूरा गर्नुपर्ने आवश्यकता छ। संस्कारबाट बच्चाहरूले आदर्शको मर्म बुझ्छन् र यो हाम्रो समाजको अभिन्न हिस्सा हो।

शिक्षाको भूमिका
आजको युगमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण छ। शैक्षिक संस्थाहरूले गुणस्तरीय शिक्षा प्रदान गरेर मात्र होइन, समाजको सही मार्गदर्शन गरेर पनि योगदान दिन सक्छन्। नेपालको शैक्षिक प्रणालीमा केही कमजोरीहरू भए तापनि, अहिलेका विद्यार्थीहरूमा जागरुकता र सुधारको भावना छ। शिक्षा केबल साक्षरताको मापदण्डमा मात्र सिमित हुनुभएनस यसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पनि भूमिका खेल्नुपर्छ। शिक्षा भनेको केवल किताब पढ्न र परीक्षामा पास हुनु मात्र होइन, यो समाजको विविधतालाई बुझ्न र त्यससँगको सह(अस्तित्वमा रमाउन सक्ने वातावरण सिर्जना गर्नु पनि हो।

समाजमा शिक्षाको प्रभाव
समाजमा शिक्षित व्यक्तिहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन्। शिक्षाले समाजमा भएका कुरीति, अन्धविश्वास, जातीय भेदभावजस्ता समस्याहरूलाई हटाउन महत्वपूर्ण योगदान दिन्छ। विशेषगरी ग्रामीण समाजमा, शिक्षा अझै प्राथमिकतामा नपुगेको ठाउँहरूमा जनचेतना अभियान र अभिभावकहरूलाई शिक्षित बनाउने पहल आवश्यक छ। जब समाज शिक्षित हुन्छ, तब त्यो समाजले नै आफ्ना चुनौतीहरूलाई सामना गर्नसक्ने सामर्थ्य विकास गर्छ। शिक्षित समाजले मात्र विज्ञान, प्रविधि, आर्थिक समृद्धि, र सामाजिक न्यायलाई सही रूपमा अपनाउन सक्छ।
सांस्कृतिक संरक्षण र विकास
नेपाली समाजमा अहिले पश्चिमी सभ्यता र आधुनिकताले केही हदसम्म प्रभाव पारेको देखिन्छ। यसका केही सकारात्मक पक्षहरू भए पनि, यसले हाम्रो मौलिकता र सांस्कृतिक धरोहरलाई चुनौती दिनसक्छ। हामीले हाम्रो परम्परागत कला, संगीत, नृत्य, र संस्कृतिलाई जोगाउँदै आधुनिकतालाई पनि स्वीकार्नुपर्ने चुनौतीको सामना गरिरहेका छौं। यसका लागि शिक्षा नै मुख्य स्रोत हो, जसले हामीलाई हाम्रा मूल्यहरू र परम्पराहरूलाई सही रूपमा बुझ्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्षम बनाउँछ।
संस्कृतिको संरक्षणको लागि शिक्षालाई सँगै अघि बढाउन आवश्यक छ। हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरूलाई नेपाली इतिहास, भूगोल, र सांस्कृतिक महत्त्वका पक्षहरूबारे जानकारी गराउन सक्नुपर्छ। यसले विद्यार्थीहरूमा आफ्नो संस्कृति र परम्पराप्रति गौरवको भावना बढाउँछ। विशेषगरी स्कूल र कलेजमा नैतिक शिक्षा र सांस्कृतिक अध्यापन अनिवार्य बनाउनु पर्छ, जसले विद्यार्थीहरूलाई आफ्नो जरा र पहिचानबारे अवगत गराउन सक्नेछ।

शिक्षा र समाजमा सकारात्मक परिवर्तन
शिक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्छ। शिक्षाले हाम्रो समाजलाई विज्ञान र प्रविधिमा अगाडि बढ्न सघाउँछ। नेपालजस्तो कृषि प्रधान देशमा शिक्षा र प्रविधिको सही प्रयोगले आर्थिक अवस्था सुधार्न सक्छ। शिक्षाको अभावले गर्दा धेरै मानिसहरू अझै पनि परम्परागत र सीमित सोचमा बाँधिएका छन्। जब समाजमा हरेक वर्गले समान रूपमा शिक्षाको अवसर पाउँछ, तब त्यो समाज समृद्ध र सुसंस्कृत बन्छ।
निष्कर्ष
संस्कृति, शिक्षा, र समाजको एकता नै हाम्रो नेपाली पहिचानको प्रतीक हो। शिक्षाले समाजलाई सही दिशा दिन्छ भने संस्कृतिले समाजलाई जोड्ने काम गर्छ। यी तीनै तत्व एक आपसमा सम्बन्धित छन् र कुनै पनि राष्ट्रको समृद्धिका लागि आवश्यक छन्। हाम्रो कर्तव्य हो कि हाम्रा संस्कृतिलाई जोगाउँदै शिक्षा र समाजलाई आधुनिकताको सँगै लैजाउँ। नेपाली समाजलाई समृद्ध बनाउनका लागि हामीले शिक्षा र संस्कृतिको सन्तुलनलाई कायम राख्नुपर्नेछ, जसले गर्दा हाम्रो समाजले सही मार्गमा अग्रसर हुन सकून्।