सुर्खेत : सुर्खेतमा स्थापना भएको श्री ज्योति फाउण्डेशनले भूकम्पबाट प्रभावित छोरीहरुलाई पढ्न सहयोग गर्ने भएको छ। भर्खरै स्थापना भएको फाउण्डेशनले भूकम्पमा परि आमाबुवा गुमाएका विपन्न र अति विपन्न परिवारका छोरीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गर्न लागेको हो।
तत्काल २० जना छोरीहरुको शिक्षामा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गरेर अभियानको सुरुआत गरिने फाृण्डेशनका अध्यक्ष ज्योति कटुलालले जानकारी दिईन्। भूकम्पबाट प्रभावित अति विपन्न परिवारका छोरीहरुको एकदेखि दस कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेशनले व्यहोर्ने उनले जाकारी दिईन्।
‘हामीले परिवारको अतिकमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाएको छोरीहरुको पढाईमा सहयोग गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेका हौं, यहिबेलामा भूकम्पले धेरैलाई प्रभावित बनाएको छ,’ अध्यक्ष कटुवालले भनिन्, ‘अहिले भूकम्प प्रभावित जिल्लाहरुका आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीहरुलाई शिक्षामा सहयोग गरेर हाम्रो उद्देश्य कार्यान्वयनको सुरुआत् गर्दैछौं।’
उनले हाल भूकम्प प्रभावित स्थानीय तहहरुको सिफारिसका आधारमा छोरीहरुलाई फाउण्डेशनले पढाउने जानकारी दिईन्।
यही उद्देश्यका साथ फाउण्डेशनले मंसिर १५ गते सुर्खेतमा सांगितिक साँझ गरेको थियो। उक्त सांगितिक साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरुको शिक्षामा सहयोग गर्ने कटुवालले बताईन्।
उनका अनुसार स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरुको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ।
सांगितिक साँझबाट फाउण्डेशनले २२ लाख ७५ हजार ४९७ रुपैयाँ संकलन गरेको थियो। जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ सांगितिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिईन्। हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत रहेको छ। सांगितिक साँझका क्रममा विक्री भएको टिकटमध्येबाट १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिईन्।
खुलानजर । २४ माघ २०८०, बुधबार ०८:३९