आफ्नो कार्यक्षेत्र कर्णाली रोजेका शैलेन्द्र विष्ट !

बुबा बालकृष्ण बिष्ट र आमा नानीमैयाँ बिष्टको कोखबाट २०३८ भाद्र ७ सालमा गोदावरी नगरपालिका वडा नम्बर ९, छम्पी, ललितपुरमा जन्मिएका शैलेन्द्र बिष्टको बाल्यकाल केही दुःख अनि केही सुखसँग बित्यो । अरुले बिताएको वाल्यकाल जस्तो सुखमय भने उनको बाल्यकाल थिएन । उनी नौँ कक्षामा पढ्दा प्रधानाध्यापक आवद्ध राजनैतिक पार्टी भन्दा फरक विद्यार्थी संगठन खोल्न भुमिका निभाएको भनेर विद्यालयका प्रध्यानाध्यापकले निष्काशन गर्ने चेतावनी दिएका थिए। त्यसपछि विद्यार्थी संगठनका काममा उनलाई अस्थिरता र अपमान झेल्नुपरेको थियो। समयक्रमसँगै उनी सामाजिक क्षेत्रमा होमिए । त्यसमा पनि कर्णाली जस्तो विकट ठाउँ उनको कार्यक्षेत्रको रोजाई बन्यो । विगत लामो समयदेखि कर्णालीमा उनले काम गरिरहेका छन् । कहिल्यै सिमान्तकृत समुदाय त कहिल्यै राउटे समुदायको उत्थानमा उनले काम गर्दै आएका छन् । उनै विष्टसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ?
मेरो बाल्यकाल र विद्याथी जीवन केही दुःख अनि केही सुखसँग बित्यो । अरुले बिताएको बाल्यकाल जस्तो मेरो बाल्यकाल त्यती सुखमय वितेन । मैंले मेरो जीवनमा धेरै गोल चक्करहरु पार गर्दै आएको तितामिठा अनुभवहरु छन् । नौ कक्षामा पढ्दा प्रधानाध्यापक आवद्ध राजनैतिक पार्टी भन्दा फरक विद्यार्थी संगठन खोल्न भुमिका निभाएको भनेर विद्यालयका प्रध्यानाध्यापकबाट निष्काशन गर्ने समेतको धम्की खाएको थिएँ । तर मेरो बुबा र केही गुरुहरुले पढाई र विद्यार्थी संगठनका काममा भनेको जस्तो अवरोध आउन दिनुभएन । विद्यार्थी संगठनका काममा मलाई अस्थिरता र अपमान झेल्नुपर्यो जसले मलाई सहिष्णुता र सहकार्यको महत्व सिकायो । अध्ययनका क्रममा मैले सत्य र न्यायको मूल्य बुझ्ने मौका पाएँ । हाम्रो समाजमा हुने हरेक खालका विभेदहरु प्रत्यक्ष रुपमा देखेको छु ।  मैले त्यही समयमा राजनैतिक क्रियाकलापहरुबाट समाजमा पर्ने असर र भविष्यमा बन्ने नेताका गुणहरूका बारेमा सुक्ष्म अध्ययन गर्ने मौका पाएको थिएँ ।
विद्यार्थी जिवनको लक्ष्य के थियो ?
विद्याथी जिवनको लक्ष्य भनेको देशका विभिन्न भागहरुमा भ्रमण गरी सामाजिक क्षेत्र मार्फत समाज परिवर्तन गर्ने थियोे ।
सामाजिक क्षेत्रमा किन लाग्नुभयो ?
समाजमा चेतना फैलाउन र कुरिती, कुसंस्कार हटाउनको लागि सामाजिक क्षेत्रमा लागियो । तर, हाम्रो देशको भ्रष्ट नेता र तिनका विभेदी नीतिका कारण अब समुदायमै गएर सेवा गनुपर्छ भन्ने सोचेर विभिन्न कार्यक्रमहरुको माध्यमबाट देशको चार वटा जिल्लाबाहेक सबै जिल्लाहरु भ्रमण गर्ने अबसर पाउनुको साथै हरेक समुदाय, जाति, धार्मिक समुदायहरुको बिचमा रहेर कामहरु गर्दै जागिर मात्र नभई व्यक्तिगत रुपमा पनि सकेको सहयोग गर्ने अवसर पाउँदा म खुसी छु  ।
बागमतीको मान्छेले कर्णाली नै किन रोज्नु भयो ?

राज्यले कर्णालीलाई हेर्ने नजर ऐतिहासिक रूपमा उपेक्षात्मक नै रह्यो । नेपालको समग्र विकास प्रक्रियामा कर्णालीलाई प्राथमिकतामा राखिएको देखिन्न । कर्णालीलाई सबैले हेलाको दृष्टिले हेर्छन् तर त्यो गलत सोच हो किनभने कर्णाली यस्तो ठाउँ हो जुन क्षेत्र संस्कृतिको धनी, विकासको पहुँचबाट पछाडी पारिएको मात्र रहेछ । मैंले लामो समयसम्म कर्णालीमा काम गरको हुँदा यहाँका मानिसहरुको मन सफा र सहयोगी भावना भएको देखेँ । कर्णालीका नेताहरू आपसीमा राजनैतिक खिचातानीमा अल्झिनुले प्रदेश विकासको गति सुस्त अवस्थामा रेहको छ । यहाँबाट पनि पढेलेखेका मानिसहरु पलायन हुन थालेपछि यो ठाउँमा केहि नयाँ कामहरु मार्फत केहि परिवर्तन सकिन्छ की भनेर कर्णाली नै रोजेको हुँ ।
कर्णालीमा खाद्य तथा पोषण सुरक्षाको चुनौतीहरु कस्ता छन् ?
कर्णाली भौगोलिक रूपमा विकट क्षेत्र भएकाले यहाँका गाउँहरू सडक सञ्जालबाट टाढा छन् । यातायात अभावका कारण खाद्य आपूर्तिमा असहजता आउँछ, जसले खाद्य अभाव र महँगीलाई निम्त्याएको छ । बालबालिका र सुत्केरी महिलामा कुपोषण दर उच्च छ । आवश्यक भिटामिन, प्रोटिन, खनिज तत्वयुक्त भोजन नपाउँदा कुपोषणले समस्या बढाएको छ । कुपोषणका कारण बाल मृत्युदर समेत उच्च छ । कर्णालीमा कृषिको मुख्य आधार वर्षा पानीमै निर्भर भएकाले सिंचाइ सुविधाको अभावले खाद्य सुरक्षामा चुनौती खडा गर्छ । अर्गानिक खाद्यान्नहरु प्रयोग नगरी बाहिरकै खानेकुराहरुको बढी प्रयोग भएकाले खाद्य आपूर्तिमा असन्तुलन भएको छ । कर्णालीमा खाद्य तथा पोषण सुरक्षाका  चुनौतीहरू समाधान गर्न राज्य, स्थानीय सरकार, नागरिक समाज र अन्तराष्ट्रिय साझेदारहरू सबैले मिलेर दीर्घकालिन योजनासहित काम गर्न आवश्यक छ ।
कर्णालीको दुःखलाई सुखमा बदल्न तपाईंको भूमिका के रह्यो ?
सबैभन्दा ठुलो काम भनेको चेतना फैलाउनुको साथै यहाँका मानिसहरुसँग घुलमिल भई आवश्यक्ताहरु पहिचान गरेर विभिन्न माध्यमहरुबाट सकेको सहयोगहरु गरेको छु । खेर गइरहेका प्राकृतिक वस्तुहरुबाट धेरै भन्दा धेरै फाइदाहरु लिनुपर्छ भनेर समाजमा आवाज उठाएर कर्णालीको दुःखलाई सुखमा बदल्न द्रुत विकासका लागि गर्नुपर्छ । स्थानीय उत्पादनको बजारीकरण, स्वदेशी लगानीको प्रवर्द्धन उद्यमशीलता पारदर्शी बनाउन सामाजिक क्षेत्रमार्फत सकिने जत्तिको योगदान गरेको छु ।
सामाजिक क्षेत्रमा काम गर्दा कत्तिको सन्तुष्टि हुनुहुन्छ?
सामाजिक क्षेत्रमा काम गर्दा सन्तुष्टि धेरै नै मिल्छ, किनभने यसले प्रत्यक्ष रूपमा समुदायमा सकारात्मक प्रभाव पार्छ । जब मानिसहरूको जीवनमा सुधार आउँछ, उनीहरूका समस्याहरू हल हुन्छन्, र परिवर्तन देख्न सकिन्छ, तब त्यही नै सबैभन्दा ठूलो सन्तुष्टि हो । तर कहिलेकाहीँ प्रणालीगत अवरोध, स्रोतसाधनको अभाव र जनचेतनाको कमीले चुनौती पनि थप्छ जसले सुधारका लागि अझै धेरै गर्ने प्रेरणा दिन्छ । हरेक समुदायका विभिन्न जातजाती, भाषाभाषी, बिभन्न संस्कृती र धार्मिक कुरामा घुलमिल हुँदा सन्तुिष्ट छु ।
अबको योजना के छ?
अझै देशका कुनाकाप्चामा पुगी आत्मनिर्भर, भ्रष्टाचारमुक्त, स्वच्छ र स्वस्थ समाजको निर्माण गर्ने योजना छ ।