चौकुने स्तरीय परियोजना समापन


सुर्खेत : युएसएआईडीको आर्थिक सहयोग मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजनाको चौकुने गाउँपालिकास्तरीय परियोजना समापन समारोह सम्पन्न भएको छ । भकारी परियोजनाले चौकुने गाउपालिकाका १२ वटा समुदाय, पञ्चपुरीका १२ वटा समुदाय र बराहताल गाउपालिकाका २३ वटा समुदाय गरी ४७ समुदायका ४४९४ संकटासन्न घरधुरीहरुमा लागू गरिएको थियो ।
सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना चौकुने गाउपालिकाको ५ वटा वडाका १२ समुदायमा सन् २०२० अक्टोबरदेखि लागू भएको हो । परियोजनाले कृषि तथा पोषण, विपद् जोखिम न्युनिकरण, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आपतकालिन प्रतिकार्य लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । चौकुनेमा १२ वटा कृषि समूह मार्फत जिविकोपार्जन कार्यक्रम, ८ वटा सिंचाई योजना निर्माण, १२ वटा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, ४ वटा बायो इन्जिनियरि¨ कार्य र आपतकालिन प्रतिकार्य तर्फ कामका लागि नगद, मूल्य भौचर, विपद् संवेदनशील सामाजिक सुरक्षा लगायत कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कार्यक्रममा यस गाउपालिकाका ५ वटा वडाका जम्मा ७२० घरधुरी समेटिएका छन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक विवशको अध्यक्षता र मर्सिकोर नेपालका कन्ट्रीडाइरेक्टर क्रिस्टी गेटमेनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा हालसम्म भएका गतिविधिहरुको विवरण पालिकालाई हस्तान्तरण गरिएको थियो । साथै पालिकाको तर्फबाट वडा पालिका विपद् फोकल पर्सन, कृषि शाखा प्रमुख, सम्वन्धित वडा अध्यक्ष, उपाध्यक्ष र अध्यक्षले भएका गतिविधिलाई निरन्तरता दिने र दिगो सञ्चालनका लागि सहयोग प्रतिवद्धता व्यक्त गरेका थिए । साथै यस पालिकाको समृद्धिमा टेवा दिएको भकारी कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनमा पनि यस्तै परियोजना सञ्चालनका लागि आग्रह गरेका थिए । ५५ जनाको सहभागिता रहको सो कार्यक्रममा सेवाग्राहीले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।