सुर्खेत: ‘पहिला आफूजस्ता मानिस कोही छन् भन्ने थाहा नै थिएन । समाजको घृणा र तिरस्कारले आफ्नो जीवन देखेर वाक्क लाग्थ्यो,’ वीरेन्द्रनगरकी जेनिसाले भनिन्, ‘त्यो हिसाबले डर लाग्थ्यो, लाज लाग्थ्यो । तर अहिले म आफैँ प्रेरणाको स्रोत बन्न थालेकी छु ।’ जेनिसाको जन्म पुरुषको भएपनि उनी महिलाको भेषभुषामा हिँड्छिन् । उनी सुर्खेतमा पहिचानसहित खुलेर प्रस्तुत हुन थालेका १० वर्ष भयो । पारिवारिक अस्वीकार र चिन्ताका कारण आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता आफुले भोगेपनि अहिले अवस्था परिवर्तन हुँदै गएको उनले बताइन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्नका लागि संस्था नै दर्ता गरेर अगाडी बढेको अर्की लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी अञ्जली विसीले बताइन् । ‘हामीले अब डराएर बस्ने अवस्था छैन,’ अञ्जलीले भनिन्, ‘अब हामी आफ्ना कुरा आफैँ उठाउँछौं । त्यसमा सरकार र समुदायले सहयोग गर्नुपर्छ ।’ अञ्जली ‘कर्णाली इन्द्रेणी आवाज’ नामक संस्थाकी अध्यक्ष हुन् । ०८१ असोजमा दर्ता गरिएको उक्त संस्था कर्णाली कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । उनले उक्त संस्था मार्फत कर्णालीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (एल,जी,बि,टि,आई,क्यू,प्लस) को हक, अधिकार र पहिचानका विषयमा काम गर्न स्थापना गरिएकोे बताइन् । ‘यहाँ खुल्नु नै ठूलो साहस हो,’ उनले भनिन्, ‘हामीहरू आफैँ बोल्दैनौं भने को बोल्छ ? पहिले डर लाग्थ्यो, अहिले चाहिँ डरभन्दा पनि अधिकार र अस्तित्वको सवाल ठूलो लाग्न थाल्यो ।’ अहिले विभिन्न निकायसँग सहकार्य गरेर विद्यालय, समुदाय, संचार माध्यम र सरकारी निकायहरूसम्म मुद्दाहरु अगाडी बढाएको उनले बताइन् । त्यसैका माध्यमबाट कर्णाली इन्द्रेणी आवाजले अहिले समुदायभित्र यौनिकता, पहिचान, स्वास्थ्य, आत्मबल र कानुनी अधिकारसम्बन्धी परामर्श दिन थालेको छ । सम्पूर्ण समाजले स्वीकार गरिसकेको अवस्था भने अझै आइसकेको छैन । परिवार, समुदाय, शैक्षिक संस्था र सेवाप्रदायक निकायबाट अझैपनि भेदभाव र हेय दृष्टिकोण खेप्नुपर्ने अवस्था भएकोले कर्णालीमा २५० को संख्यामा भएपनि ३० जना मात्रै अहिले खुलेको उनले बताइन् । ‘यो समुदायलाई अझै खुलेर बोल्न डर छ । बजार हिँड्दा, गाडी चढ्दा सौचालय जाँदा विभेद खेपिरहनुपरेको छ,’ अञ्जली भन्छिन्, ‘प्रहरी प्रशासनदेखि विद्यालयसम्म लैङ्गिक र यौनिक अल्पसंख्यकमैत्री सेवा सुनिश्चित गर्न सकिएको छैन ।’ कर्णालीमा पछिल्लो समय आफूजस्ता मानिसहरू भेटिन थालेपछि परामर्श र समर्थनका माध्यम पनि विस्तार भइरहेको २२ वर्षीय सहिस खानले बताए । ‘पहिला लाग्थ्यो, म मात्र फरक छु,’ २२ वर्षीय खानले भने, ‘अहिले थाहा भयो, हामी धेरै छौँ, र हामी एकअर्कालाई सम्हाल्न सक्छौँ । तर परिवार र समाजको साथ आवश्यक छ ।’ कर्णाली जस्तो पारम्परिक सोच भएको क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक विषयमा खुल्नु चुनौती भएको सोनु चौधरीले बताइन् । ‘मैले खुल्न पनि धेरै संघर्ष गर्नुपर्यो । पहिलो कुरा परिवारलाई मनाउनपर्यो । समाजको अपहेलनाका कारण सहजै मान्दैनन्,’ उनले भनिन्, ‘परिवारलाई मनाएपछि समाजले कुरा काट्छ । त्यसपछि समस्या नै समस्या हुन्छ ।’
‘राज्यले बेवास्ता गर्याे’
संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि व्यवहारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा नीति निर्माणमा अपेक्षित सहभागिता छैन । तर पनि आफुहरुको यात्रा नरोक्ने अञ्जलीले बताइन् । ‘प्रदेश सरकार वा स्थानीय तहले हाम्रो उपस्थिति कहाँ देख्छन् ? योजना, बजेट, कार्यक्रममा हामी कहिले पनि ‘अनदेखा’ भयौँ,’ अञ्जलीले भनिन्, ‘ कुनै दिन म सडकमा हिँड्दा उ छक्का र हिजडा आई भन्नेहरु अहिले सम्मान गरेर नमस्कार भन्छन् । अब हामी लुकेर बस्दैनौँ, हामीले देखिने, सुन्ने र प्रभाव पार्ने ठाउँ बनाउने हो ।’ कर्णालीमा खुलेर बोल्न थालेको कुरा ठूलो परिवर्तन भएपनि धेरै काम गर्न बाँकी रहेको र समाजलाई सकरात्मक सोचतर्फ अगाडी बढाउन आवश्यक रहेको उनले बताइन् ।

जगतदल जनाला विक । ९ असार २०८२, सोमबार ११:०१