१४ वर्षदेखि वन हेरालुको काममा १६ नातिनतिनाका हजुरबुवा !

सुर्खेत: बिहान जब घामको झुल्को जंगलका पातहरूमा टाँसिन्छ, त्यो समयमा हरियो ड्रेस, काँधमा झोला र हातमा लठ्ठी बोकेर एक जना वृद्ध पुरुष जंगल पस्छन् । त्यो दृश्य वीरेन्द्रनगर–१ का बासिन्दाका लागि नौलो छैन । उनी हुन् टेकबहादुर विक । उमेरले ७५ वर्षीय उनी १४ वर्षदेखि वीरेन्द्रनगर–१ स्थित कृष्ण सामुदायिक वन उपभोक्ता समुहमा वन हेरालुको काम गर्दै आएका छन् । टेकबहादुरले आफ्नो जीवनकालको सुरुवातदेखि नै संघर्ष गरे । गरिबीको दलदलमा हुर्किएका उनले बाल्यकाल र युवावस्थामै अनेकौं मजदुरी गर्नुपर्यो । कहिले अरुको खेतमा हलो जोत्ने, कहिले धान काट्ने, कहिले घाँस दाउरा बोकेर बजार बेच्न लैजाने । त्यही दाउरा बेचेर सुरुमा पाँच रुपैयाँ कमाउने टेकबहादुरले १५० रुपैयाँ पुग्दा पनि जीवनमा सुखको अनुभूति गर्न सकेनन् ।
गाउँमा जहान केटाकेटी पाल्न नसकेपछि टेकबहादुर भारतको कालापहाड हानिए । जीवन बदलिन्छ कि भनेर गएका उनलाई त्यहाँ पनि परिस्थिति राम्रो भएन । कहिल्यै ठेकादारले ठग्ने त कहिल्यै कम ज्यालामा काम गर्नुपर्ने बाध्यता आयो । त्यसपछि फेरि गाउँकै मजदुरीमा फर्किए । जनतन त्यसरी जिविका चलाएका उनलाई २०६७ सालमा कृष्ण सामुदायिक वन उपभोक्ता समितिले वन हेरालु नियुक्त गर्यो ।
सुरुमा मासिक १५ सय रुपैयाँ तलब थियो । त्यो पनि नियमित पाउने हो कि होइन भन्ने अन्योल थियो । तर टेकबहादुरका लागि त्यो पैसा भन्दा बढी विश्वासको विषय थियो । गाउँमै रोजगारी गर्ने इच्छा थियो । अहिले तलब १० हजार पुगेको छ । बुढाबुढीलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ । अहिले उनका दुई छोराहरू आ–आफ्नो पेशामा छन् । जेठोले किराना पसल चलाउँछन्, कान्छोले अटो रिक्सा चलाउँछन् । तीन छोरीहरूको विवाह भइसकेको छ । टेकबहादुरका पाँच छोराछोरीबाट १६ जना नातिनातिना छन् । ‘हामी दुई बुढाबुढीलाई सरकारले वृद्धभत्ता दिन्छ । वनले दिएको पैसा दुःखी बिरामी हुँदा चाहिन्छ भनेर राख्छौं,’ मुस्कुराउँदै टेकबहादुरले भने, ‘१६ नातिनतिनाको हजुरबुवा भइयो । अझैपनि काम गरेर खान मनलाग्छ । जबसम्म ज्यानले सक्छ तबसम्म गरिरहन्छु ।’

वन हेरालुको काम सजिलो नभएको उनी बताउँछन् । गर्मी, झरी, चिसो – मौसम जे भए पनि जंगलको सुरक्षामा लाग्नुपर्ने उनले बताए ।
‘जंगल हेरालुको काम गर्न त्यत्तिकै सहज कहाँ छ र ? कहिलेकाहीँ त रुख काट्नेलाई सम्झाउँदा उल्टै गाली पनि खानुपर्छ । रुख नकाट भन्नासाथ हप्काउँछन्,’ उनले भने, ‘पहिलोपटक सम्झाउँछु, दोस्रो पटक जरिवाना हुन्छ ।’ उनका अनुसार हँसियाको ५०, बञ्चरोको एक सय रुपैयाँ जरिवाना काटेर नियम पालना गर्नुपर्छ । चैत, वैशाख र जेठमा वन बन्द हुने भएकाले त्यो समयमा सुरक्षा अझ कडाइका साथ गर्नुपर्छ । वन खुलेपछि साना पोथाहरु मारिन्छन्, साज र सालका रुख ढालिन्छन् । यी सबै रोक्न उनी र उनका दुई जना साथीहरु वनको सुरक्षामा खटिन्छन् । पाको मान्छेका हिसाबले अन्य दुई जनालाई पनि वनमा हुनसक्ने चोरी निकासीको विषयमा ध्यान दिनुपर्ने कुराहरु सिकाउँछन् ।
कहिले साथीहरूसँग टाढाको नाकामा, कहिले एक्लै आफ्नो क्षेत्रमा उनीहरुको ड्युटी हुन्छ । जहाँको ड्युटी भएपनि सबैको उद्देश्य वन जोगाउने रहेको टेकबहादुर सुनाउँछन् । ‘विभिन्न किसिमको जडीबुटी पाइन्छ जंगलमा । जंगल हरियो भए मात्रै स्वच्छ हावा आउँछ । वन मासियो भने गाउँ पनि मर्छ,’ उनले थपे, ‘वन स्थानीय स्रोत मात्रै होइन, समाजको मेरुदण्ड पनि हो ।’
उनका नातिनातिनाले आरामले बसेर खानेबेला किन जंगल जानुहुन्छ भनेर सोध्छन् ? जवाफमा उनले ‘जंगल छैन भने हावा छैन, पानी छैन, घाँस छैन, खाना छैन । हामी पनि छैनौं । त्यस कारण वनसँग मेरो प्रेम बसिसक्यो ।’ भन्दै जवाफ फर्काउँछन् । एक सामान्य किसान परिवारमा जन्मेर दाउरा बोक्ने, मजदुर गर्ने टेकबहादुर अहिले हरियो वनका रक्षक बनेर समाजलाई प्रेरणा दिइरहेका छन् ।