गुर्भाकोटमा दलित अधिकार सम्बन्धी ऐन पारित


सुर्खेत: गुर्भाकोट नगरपालिकाको १८औँ नगर सभाबाट दलित समुदायको अधिकार संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयन विधेयक, २०८२ सर्वसम्मत रूपमा पारित भएको छ । संविधानले दलित समुदायलाई प्रदान गरेका हक–अधिकारको सुनिश्चितता तथा प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यो ऐन बुधबारकाे नगर सभाबाट पारित गरिएको हो ।
गुर्भाकोट नगरपालिकामा दलित समुदायको जनसंख्या करिब ३४ प्रतिशत रहेको र उनीहरूको सामाजिक, आर्थिक तथा मानवअधिकार संरक्षणका लागि विशेष कानुनी व्यवस्था आवश्यक रहेको सन्दर्भमा नगरसभाले यो ऐनलाई ऐतिहासिक निर्णयका रूपमा अघि बढाएको जनाइएको छ ।
ऐन पारित गर्न संघीयता पछिको दोस्रो कार्यकालका जनप्रतिनिधिहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । नगर प्रमुख हस्त पुन, उप–प्रमुख मैना बि.क., वडा नम्बर ८ का वडा अध्यक्ष किरणकुमार बि.क., कार्यपालिका सदस्य चितेन्द्र बि.क., महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख बिमला बि.क.सहित सम्पूर्ण नगर पदाधिकारीहरूको सक्रिय सहभागिता र सहमतिमा ऐन पारित भएको हो । नगरपालिकाले ऐन निर्माणका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै व्यक्ति, संस्था र सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। नगरपालिकाका अनुसार ऐन प्रभावकारी रूपमा कार्यान्वयनमा गएपछि दलित समुदायका संविधानप्रदत्त अधिकारहरूको प्रत्याभूति हुने विश्वास लिइएको छ ।
गुर्भाकोट नगरपालिकाले यो ऐनलाई दलित समुदायको सशक्तीकरण, समानता र सामाजिक न्यायतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।