नर्स बन्ने सपना देखेकी सुमना डेण्टिक्स डाक्टर बनिन् !

बुवा सिताराम सुलु र आमा सुशिला सुलुको कोखबाट २०४७ साल भाद्र २२ गते भक्तपुरको चाँगुनारायण नगरपालिकामा जन्मिएकी डा. सुमना सुलु हाल कर्णाली प्रदेश अस्पतालमा ९ औँ तहमा कार्यरत ओरल मेडिसिन एण्ड रेडियोलोजी विशेषज्ञ हुन् । त्यतीमात्र होईन उनी कर्णाली केयर अस्पतालमा पनि आवद्ध छिन् । चितवन मेडिकल कलेज टियूबाट ब्याचलर डेण्टल सर्जरी अध्ययन पूरा गरेकी सुलुले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट डेण्टल सर्जरी मा मास्टर्स गरेकी छन् । उनै सुलुसँग अंगराज परियारले गरेको संघर्ष र सफताको कुराकानी :

बाल्यकाल र विद्यार्थी जीवन कस्तो रह्यो ?
मेरो बाल्यकाल सुख दुःखमा बित्यो । म २०४७ सालमा भक्तपुरको चाँगुनारायणमा जन्मेकी हुँ । हाम्रो परिवार मध्यम वर्गीय किसान थियो । बुवा आमाले खेतीपाती गरेर घर चलाउनुहुन्थ्यो । अरुको जस्तै बोर्डिङ स्कुलमा आर्थिक रुपले राम्रो थिएन । गाउँकै सरकारी स्कुलमै पढें । एक कक्षा देखि १० कक्षा सम्म भक्तपरकै बासु माध्यमिक विद्यालयमा पढें । प्लस टु मा विज्ञान विषय लिएर पढेँ । त्यो बेला सरकारी स्कुलमा पढ्यौं, प्राइभेट स्कुलमा जान सक्ने हैसियत थिएन । दुःख त हुन्थ्यो, तर पढ्नेलाई दुःखभन्दा पनि लक्ष्य ठूलो लाग्थ्यो ।
विद्यार्थी जीवनको लक्ष्य के थियो ?
सानैदेखि स्वास्थ्यकर्मी बन्ने रहर थियो । सुरुमा नर्स बन्ने सोच्थेँ । नर्स बन्ने ठूलो रहर थियो । पछि विज्ञान पढेपछि लाग्यो डाक्टर बन्न सकिन्छ । मेडिकल फील्डमै लाग्न चाहन्थेँ, र अन्ततः डेन्टिस्ट्रीतिर मोडिएँ । सपना त देखें तर समस्या त्यही आर्थिककै समस्या भएपछि मंैले डेन्टल क्षेत्रमा जानको लागि छात्रवृत्तीमा तयारी गरें । पछि नाम पनि निस्क्यो ।

ओरल मेडिसिन एण्ड रेडियोलोजी विषय किन रोज्नुभयो?
मुखभित्रका धेरै रोगहरू जटिल हुन्छन् । ओरल मेडिसिन र रेडियोलोजी विषय भनेको पहिलो कुरा त रोगको जरा पत्ता लगाउने हो । जसको उपचारभन्दा पहिले सही निदान आवश्यक हुन्छ । मलाई यस्तै चुनौतीहरू मन पर्छन् । साधारणतया मानिसहरुको दाँत दुखेपछि मात्रै चिकित्सक कहाँ पुग्छन् ।
मेडिकल अध्ययनको यात्रा कस्तो रह्यो ?
सजिलो त बिलकुलै थिएन । सरकारी विद्यालयमा पढेको हुनाले अंग्रेजी बेस अलि कमजोर नै थियो । अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । पढाईमा निरन्तर चासो राखेँ । जीवविज्ञानका गह्रुँगा सिद्धान्तहरू बुझ्नुपथ्र्यो, लामो समय अध्ययन गर्नुपथ्र्यो । अनि थुप्रै प्रयोगात्मक अभ्यासहरू गर्नका लागि आफैले मान्छे खाजेर ल्याउनुपथ्र्यो । बिरामी मान्छेहरु खाजेर आफै क्लिनिकल प्राक्टिसमा एकदमै खटिएर काम सिक्ने मौका पाएँ । अध्ययन सकिएपछि कर्णाली प्रदेश अस्पतालमा सेवा गर्न सुरु गरें । त्यहीँबाट मेरो सेवा गर्ने एउटा अध्याय सुरु भयो । वास्तविक बिरामीहरूसँग संवाद गर्ने अवसर कर्णालीमा पाइयो । पढेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने भएँ । अहिले म कर्णाली प्रदेश अस्पतालमा छु । त्यो संगै कर्णाली केयर अस्पतालमा पनि आवद्ध छु । यो ठाउँका नागरिकहरु दन्त क्षेत्रमा बढी पीडित छन् । माथिल्लो कर्णालीमा मान्छेहरु रोगले थला परेका विरामीहरु बढी आउँछन् ।

कस्ता उमेरका व्यक्तिहरू आउँछन् नि ?
दन्त रोग कुनै एक उमेर समुहमा मात्र सीमित हुँदैन । तर ३० वर्षभन्दा माथिका मानिसहरूमा पायरिया, दाँत हल्लिने, मसिना फोका, मुखको सुक्खापन जस्ता समस्या बढी देखिन्छ । बालबालिका र किशोरमा पनि क्याभिटी, ब्रेसेसको आवश्यकताको जाँच लगायत समस्या बढ्दो छ । खैनी, मेघाले गर्दा झन खतरा हुन्छ । मुखमा घाउ आउने , मुख गन्हाउने गिजाबाट रगत आउने समस्याले मान्छेहरुलाई निकै सताएको छ । दाँतमा एकदम कम मात्रामा ध्यान दिने र नियमित रुपमा ब्रस मञ्जन नगर्ने र दाँत दुखेपछि मात्र ब्रस गर्ने कारणले झनै समस्या देखिएको छ ।
दाँतको आयु कति हुन्छ ?
दाँतको आयु यति भन्ने हुँदैन । सफा गर्यो भने दाँत सुरक्षित हुन्छ । दाँतमा समस्या भयो भने नयाँ दाँत पनि लगाउन मिल्छ । बच्चा अवस्थामा दाँतको सफाइमा ध्यान दिनुपर्छ । ७०–८० वर्षसम्म दाँतले काम गर्छ । मानिसका २ वटा दाँत फेरिने अवस्थामा रहन्छन् । दुधे दाँत र स्थायी दात दुई प्रकारका हुन्छन् । दाँत ३२ वटा हुन्छन् । ती दाँत फेरिने र नफेरिने दुई प्रकारका हुन्छन् ।

दाँतमा किरा कसरी लाग्छ ?
हामीले खाएको खाना प्रत्येक दिन सफा गरिएन भने त्यो दाँतमा टाँसिन्छ । त्यो खानेकुरा मुखमा भएका हजारौँ किटाणुका कारण एसिड बन्छ । त्यही एसिडले दाँत बिगार्न थाल्छ । त्यसलाई हामी किरा लागेको भन्छौँ। चिउरा, मकै, भटमास, सागसब्जी भन्दा बढी मात्रामा गुलियो पदार्थ चकलेट मिठाइ लगायतका खानेकुराको उपयोग गर्ने हुँदा पनि दाँतमा समस्या आउँछ । बालबालिकामा कम सरसफाइ गर्दा वा पाउरोटी, बिस्कुट गुलियो लिटो आदिको सेवन र अत्यधिक गुलिया खाद्य चकलेट मिठाइ धेरै खुवाउँदा पनि दातमा किरा लाग्न सक्छ् । अर्को कुरा दाँतमा किरा लाग्ने समस्या फास्ट फुड र सरसफाइको कमीले हो । विभिन्न खालका केमिकल मिसिएको खानेकुरा खाँदा दाँत दुख्ने समस्या हुन्छ । यस्ता खानेकुरामा विभिन्न केमिकल मिसिएका हुन्छन् । केमिकलले दाँतमा खानेकुरा अड्कियो वा खानेकुरा कुहियो भने पनि दाँत दुख्छ । दाँतमा कीरा लाग्ने होइन । ब्याक्टिेरियाले दाँत दुख्ने, इन्फेक्सन हुने हुन्छ, यसले मान्छेलाई हैरान बनाउँछ । चलनचल्तीमा दाँत कीराले खाएर दुख्यो भन्ने गरिन्छ । तर, दाँतमा किरा लागेको देखिदैन । दाँतमा किरा हुँदैन । फोहोर भयो भने दुख्ने हो ।
त्यस्तै सरसफाइका कारणले मुखमा घाउ खटिरा आउने हो । सरसफाइ नभएपछि गिजा सुनिन्छ । दात माझ्दा रगत आउँछ । फलफुल टोक्दा रगत आउने समस्या देखिन्छ । स्वास गन्हाउने भनेको दाँतको बीचमा जमेको फोहोरले गर्दा श्वास गन्हाउने हो । दाँतको सफाइमा कमी भयो भने श्वास गन्हाउँछ वा पेटको रोगले पनि श्वास गन्हाउन सक्छ ।

दाँतकै कारण ठूलो रोग लाग्छ कि लाग्दैन ?
लाग्छ नि । क्यान्सरका बिरामीहरू मुखका कारण ज्यान गुमाउनुपर्ने अवस्थासम्म पुगेका हुन्छन् । दाँतबाट पनि धेरै ठूला रोग लाग्न सक्छन् । दाँतका लागि मुला, गाजर, पालक, टमाटर लगायत फलफूल धेरै खानु दाँतको लागि राम्रो हुन्छ । भिटामिनयुक्त र दाँतलाई बलियो बनाउने भिटामिन बी र सी युक्त खाने कुरा खानु राम्रो हुन्छ । गुलियो खाएपछि कुल्ला गर्नुपर्छ । बालबालिकालाई धेरै गुलियो खान नदिने । गुलियो खाएपछि कुल्ला गर्न लगाउनुपर्छ नियमित ब्रस गर्नु उपयुत्त हुन्छ ।
दाँतको उपचार सस्तो छ कि महँगो ?
दाँतको उपचार महँगोमा पर्छ । यति नै खर्च भन्ने छैन । तर, महँगो छ । उपचार गर्नेभन्दा पनि दाँतको हेरचाह र सुरक्षालाई ध्यान दिएर उपचार हुने अवस्था आउन नदिनु नै उपयुक्त हुन्छ । सस्तो महँगोमा उपचार गर्नुभन्दा पनि पहिला खानपानमा सरसफाइमा ध्यान दिनुपर्छ । जसले दातलाई त्यती सताउँदैन ।

दन्त रोगबाट कर्णालीलाई मुक्त बनाउन सकिएला ?
सबैभन्दा पहिला कुरा यहाँका नागरिहरु ज्ञानमा पछाडी छन् । दाँत रोगको बारेमा जनचेतना फैलाउन आवश्यक छ । समस्या समाधानको लागि तीन पक्षको समन्वय आवश्यक हुन्छ । सरकार, स्वास्थ्यकर्मी र समुदायसंग सहकार्य हुन आवश्यक छ । यदि शिक्षा, नियमित जाँच, र जीवनशैलीमा सुधार ल्याइयो भने केही वर्षमा नै राम्रै नतिजा देख्न सकिनछ । हामी चिकित्सकहरूले उपचार त गरौंला, तर रोकथामतर्फको प्रयास अझ आवश्यक छ ।

अबको योजना के छ ?
दन्त रोगबाट कसरी मुक्त गराउन सकिन्छ त्यसको लागि एकदम ग्रामिण समुदायका नागरिकहरुलाई सिविर मार्फत जनचेतना वा ज्ञान दिन चाहान्छु । एक जना मैंले मात्र गरेर हुन्न मैंले यो भन्दा अगाडी भनिसकें । अर्को योजना कर्णालीकै नागरिकलाई सेवा गर्ने योजना छ । म यता हुन्जेलसम्म एकदम कमजोर र दन्त रोगले थलिएका नागरिकहरुका लागि सकेज्तिको सहयोग गर्ने योजना छ ।
अन्त्यमा, केही भन्नु छ ?
दाँत दुख्न थालेपछि होइन, दाँत बिग्रिनुअघि नै अस्पताल जानुस् । बिहान बेलुकी ब्रस गर्नुहोस्, बच्चाबच्चीलाई सानैदेखि मुखको सरसफाइ सिकाउनुहोस् । मिठा खानेकुरा खाएर ब्रस नगर्ने बानी त्याग्नुस् । मुख स्वास्थ्य भनेको सम्पूर्ण शरीर स्वास्थ्यसँग जोडिएको विषय हो । अर्को कुरा सपना जुनसुकै होस् तर समर्पण र निरन्तरताले मात्र त्यसलाई सार्थक बनाउन सकिन्छ । कर्णालीमा दन्त स्वास्थ्य सेवालाई नयाँ उचाईमा पुर्याउनका लागि राम्रो गर्नेछु ।